+
+
साहित्य :

द एड्भेन्चर्स अफ डन किहोक्ते : अनि उपन्यासको जन्म भयो

मनेश श्रेष्ठ मनेश श्रेष्ठ
२०७९ मंसिर १९ गते ७:००

केही महिना अगाडि बेलायती पत्रिका ‘द गार्डियन’को वेबसाइटमा सत्रौं शताब्दीको सुरुमा लेखिएको स्पेनी उपन्यास ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ को संस्कृत अनुवादको पाण्डुलिपि अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा फेला परेको समाचार प्रकाशित भएको थियो । एक अमेरिकी धनाढ्यले बीसौं शताब्दीको सुरुतिर दुई काश्मिरी पण्डितलाई संसारको एक प्राचीन भाषामा मिगेल द सेरभान्तेसको विश्व विख्यात कृति अनुवाद गर्न लगाए तर त्यो अनुवाद प्रकाशित भएन ।

उक्त लेख अनुसार यो किताब कुनै पनि दक्षिण एशियाली भाषामा अनुवाद भएको छैन । तर, विश्वका दर्जनौं भाषामा अनुवाद भएको भनिन्छ । डन किहोक्तेले बार्सिलोनाको एक छापाखानामा एउटा अनुवाद छापिरहेको देखेपछि, ‘कुनै पनि अनुवाद पढ्नु आखिर कपडामा गरिएको कलालाई गलततिरबाट हुनु हो, धागोले छेकिएको कला त देखिएला तर कपडाको चिल्लोपन र चमक चाहिं हराउँछ’ भने झैं अनुवादमा हेरौं ।

‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ चार सय वर्ष पहिले लेखिएको भएतापनि अहिलेसम्म विश्वमा लेखिएको उपन्यासमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ । अहिलेसम्म लेखिएको किताबमध्ये सबैभन्दा बढी बिक्री भएको सत्रौं शताब्दीको करीब ९०० पृष्ठ लामो उपन्यास पनि यही हो ।

आफ्नो अमर कृति प्रकाशित हुँदा मिगेल द सेरभान्तेस ५८ वर्षका थिए । एक गरीब चिकित्सकका छोरा, २१ वर्षको हुँदा उनी सिपाही भए, मुस्लिमहरूसँगको लडाईंमा धेरै वर्ष कैदी भए, छुटेपछि सरकारी कर अधिकृत बने । करको हिसाब-किताब नमिलेपछि उनी जेल परे ।

तर जीवनको विभिन्न कालखण्डमा कविता र नाटक लेखिरहे । नाटक त्यस बखतको साहित्यको सबैभन्दा लोकप्रिय विधा थियो र पैसा दिएर मञ्चन हुनसक्ने नाटक लेखाउने चलन थियो । उनले लेखेका कति नाटक त मञ्चन हुन लायक पनि थिएनन् । यस्तै नाटक लेखेर जसोकसो जीवन निर्वाह गरिरहेका, परिवार पालिरहेका सेरभान्तेसले बुढेसकालमा हातमुख जोड्न एउटा छोटो लोकप्रिय उपन्यास लेख्न जमर्को गरे । तर लेख्दालेख्दै त्यो छोटो उपन्यासले आफ्नै रूप लियो र सन् १६०५ मा करिब ४५० पृष्ठको ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ को पहिलो भाग प्रकाशित भयो । दोस्रो भाग सन् १६१५ मा प्रकाशित भयो र त्यसमा अर्कै कथा लेखेका छन्, उपन्यासकारले ।

उपन्यास भयंकर सफल बन्यो । केही वर्षमा नै युरोपका विभिन्न भाषाहरूमा अनुवादित भयो । पढेलेखेका स्पेनी राजादेखि रैतीसम्म, सबै जसोले डन किहोक्तेका उट्पट्याङ चर्तिकलाहरू बारे पढे र हाँसे । उनीहरूले असोन्सो किसानो नाम भएको, तल्लो तहको सम्भ्रान्त वर्गको, शिकारका सौखिन, पचास वर्ष पुग्न लागेका सानोतिनो जमिनदार आफ्नो समय फिरन्ते शूरवीरहरू बारे पढेर विताए ।

मिगेल द सेरभान्तेसको ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ले आधुनिक उपन्यास लेखनको बाटो तय गरेको भनिन्छ ।

यी शूरवीरहरू दुनियाँमा पसेर आफ्नो दुनियाँ पूरै बिर्सिन्थे । ग्रिसी दार्शनिक अरिस्टोटलले बुझ्न नसक्ने माया–पे्रमका जटिल वाक्यहरूबारे सोचेर उनीहरू रातभर जागा रहन्थे । ‘जुन अकारणले तिमी मेरो कारणलाई लिन्छौ त्यसको कारणले मेरो कारणलाई यति कमजोर बनाउँछ कि मलाई तिम्रो सुन्दरताको गुनासो गर्नु जायज कारण बन्छ’ जस्ता वाक्यहरूले उनीहरूलाई पागल बनाउँथे । फिरन्ते शूरवीरहरूको कथाका किताबहरू किन्न उनीहरू आफ्नो जग्गा-जमिन बेच्थे पनि ।

रात–दिन पढ्थे, ‘दिमाग सुकेर’ होश उडुन्जेलसम्म । ‘आफ्नो मन परेको सबै कुरा, टुनामुना, झगडा, लडाइँ, च्यालेन्ज, घाउचोट, पे्रमको फकाइ, पे्रम र सास्ती अरू असम्भव वाहियातले भर्थे, उनको कल्पनामा आफूले पढेका अचम्मका कुराहरू सत्य हुन् भन्ने यति बेस्सरी छाप बसेको थियो कि संसारको अरू कुनै इतिहास यीभन्दा बढी सत्य हुन सक्दैनथ्यो डन किहोक्तेको लागि ।’

आफूले पढेका नायकहरू जस्तै ख्याति कमाउन आफू पनि फिरन्ते शूरवीर हुने, न्यायको पक्षमा लड्ने र अप्ठ्यारोमा फसेका महिलाहरूको उद्धार गर्न संसारभर यात्रा गर्ने निर्णय गर्छन् उनी । मध्यकालीन युरोपमा लडाकुहरूले लगाउने जस्तो कवज लगाउँछन् अतः आफ्नो घोडालाई रोसिनान्ते नाम दिन्छन्, आफूलाई डन (स्पेनी भलाद्मीको मानार्थ) किहोक्ते डला मान्चाको नाम दिन्छन् ।

एउटा नजिकको गाउँको आफूले कुनै बेला मन पराएको किसान केटी अलडोन्जा लोरन्जोलाई काल्पनिक पे्रमी बनाउँछन्, उनलाई शूरवीरको पे्रमी हुने लायक राजकुमारी या सम्भ्रान्त महिलालाई सुहाउँदो नाम डुल्सिनिया डेल टोबोसो (टोबोसो भन्ने ठाउँको डुल्सिनिया) नाम दिन्छन् र आफूसँग बस्ने भतिजी र उनको घरव्यवहार चलाउने महिलालाई थाहा नदिई एकदिन मिर्मिरे उज्यालोमा एड्भेन्चरको खोजीमा घरबाट निस्कन्छन् ।

आफू न्यायको पक्षमा लड्ने फिरन्ते शूरवीर हुँ भन्ने हावादारी भ्रम लिएका डन किहोक्तेको कथा हो संसारको सबैभन्दा उत्कृष्ट यो उपन्यास ।

सन् १६०५ मा प्रकाशित पहिलो भागमा एड्भेन्चरमा निस्केको डन किहोक्तेले एकपछि अर्को हन्डर खान्छन् । मानिसहरूले उनलाई पागल भन्छन् तर उनी हरेश खाँदैनन् र आफूलाई बहादुर हुँ भन्दै अन्याय नभएको ठाउँमा पनि अन्याय देख्छन् र हस्तक्षेप गर्छन् । आफूले पढेको कथाहरूमा शूरवीरहरूले बोलेको तरिकाले मानिसहरूसँग बोल्छन् । बास बस्ने भट्टीलाई शूरवीरलाई बस्न लायक किल्ला देख्छन् । उनको पागलपनको वहकावलाई बेलाबेलामा अरूले साथ दिन्छन्, उनका भ्रमलाई सत्य मानिदिन्छन् र उनको मजाक उडाउँछन् ।

तर उनको यो पहिलो सफर केही दिनमै अचानक अन्त्य हुन्छ । बाटोमा केही व्यापारी र तिनका नोकरहरूको एक भीडसँग डन किहोक्तेको भेट हुन्छ र तिनीहरूलाई रोकेर संसारका सबैभन्दा सुन्दरी नारी डुल्सिनिया डेल टोबासो हुन् भनेर स्वीकार गर्न लगाउँछन् । उनीहरू मान्दैनन् र डन कोहोक्ते उनीहरूलाई झम्टन्छन्, गोदाइ खान्छन्, घाइते हुन्छन् । भुईंमा लम्पसार परेको बेला उनका गाउँका एक कामदार त्यहाँ आइपुग्छन् र डन किहोक्तेको पागल कुरा बाबजुद उनलाई घर लैजान सफल हुन्छन् ।

यता उनी हराएपछि उनकी भतिजी र हाउसकिपरले डन किहोक्तेका दुई साथीहरू गाउँको पादरी र हजाम बोलाएर गुहार माग्छन् । डन किहोक्तेले शूरवीरहरूको कथा पढेर आफूलाई पनि शूरवीर हुँ भन्ठानी अन्धाधुन्द तरवार चलाउँदै म राक्षसहरू मार्दैछु भन्ने गरेको भनी सुनाउँछन् । त्यति नै बेला डन किहोक्ते घर आइपुग्छन् र उनलाई प्रश्न गर्न खोज्दा उनी थकित छु भनी सुत्न जान्छन् ।

पादरी र हजामले डन किहोक्तेको अवस्थाको जिम्मेवार उनका किताबहरू हुन् भनी ठम्याएर उनी सुतेको बेला जलाइदिन्छन् । दुई दिनपछि डन किहोक्तेले किताबहरू खोज्दा उनकी भतिजीले एक जादुगर आएर किताब विलाइदिए भनी सुनाइदिन्छन् ।

डन किहोक्ते पन्ध्र दिन घर बस्छन् दुई साथीहरूसँग संसारमा शूरवीरहरूको आवश्यकता रहेको छ भनी वादविवाद गर्छन् । पादरीको उनीसँग कुरा गर्नुको एउटै उद्देश्य थियो, उनको दिमाग ठीक ठाउँमा ल्याउनु । तर असफल हुन्छन् । डन किहोक्ते फेरि घर छोडेर एड्भेन्चरहरूको खोजीमा जान कटिबद्ध हुन्छन् र सान्चो पान्जा नामक एक गाउँले कामदारलाई उनीसँग जान यो दिउँला भनी फकाउँछन् । सान्चो जान राजी हुन्छन्, आखिर राज्यमा राज गर्ने मौका चानचुने कुरा थिएन । डन किहोक्तेले आफूसँग भएको केही सामान बेच्छन्, केही बन्धकी राख्छन् र पैसाको चाँजो मिलाई कसैलाई थाहा नदिई, सान्चोले पनि आफ्नो परिवारलाई नभनी, डन किहोक्ते आफ्नो रोसिआन्ते नामक घोडामा र सान्चो डाफ्ने नामक गधामा एकाबिहानै गाउँबाट निस्कन्छन् ।

फिरन्ते शूरवीर डन किहोक्ते र सान्चो पान्जा जतिको प्रसिद्ध काल्पनिक जोडी विश्व साहित्यमा शायद छैनन् होला । यी दुईका एड्भेन्चरहरूको कथा हो, ‘द एड्भेन्चरर्स अफ डन किहोक्ते’ ।

मिगेल द सेरभान्तेसलाई यी दुई घरबाट निस्केको लगत्तै एउटा घटनाको वर्णन गर्छन् जुन विश्व साहित्यको सबैभन्दा स्मरणीय भागमध्ये पर्छन् । डन किहोक्तेले सान्चो पान्जालाई आफ्नो राज्य दिने वाचा पूरा गर्न केही समस्या पर्दैन भनिरहेको हुन्छन् ।

‘त्यही समय उनीहरूले करिब तीस-चालीस वटा विन्डमिल (लामा लामा पाल भएका हावाले चल्ने घट्टा) देख्छन् र देख्नासाथ डन किहोक्तेले आफ्नो जागिरदार सान्चोलाई भन्छन्, ‘भाग्यले हामीलाई सोचेको भन्दा बढी साथ दिइरहेको छ । उता हेर मेरो साथी सान्चो पान्जा, त्यहाँ तीस भन्दा बढी भीमकाय राक्षसहरू देखिन्छन् । म उनीहरूसँग लड्छु र सबैलाई मारिदिन्छु । लडाईंमा जितेको सम्पत्तिले हामी धनी हुन्छौं, आखिर यो उचित लडाईं हो । तर ईश्वरको सेवा पनि गर्छौं, लडाईंबाट यस्ता दुष्टहरूलाई संसारबाट सखाप पारेर ।’

‘के राक्षस ?’ सान्चो पान्जाले सोधे ।

‘त्यहाँ के त’ उनको मालिकले जवाफ दिए, ‘लामा लामा हात भएका । कसै कसैको त ६ माइल लामा छन् ।’

‘ख्याल गरिबक्स्योस्, सरकार’ सान्चोले भने, ‘ती राक्षस होइनन्, विन्डमिल हुन् र हात जस्ता देखिएका चाहिं पाल हुन् जुन हावाको गतिले घुम्दछन् र यसबाट विन्डमिलका घट्टा चल्छन् ।’

‘कुरा प्रष्ट भयो’ डन किहोक्तेले जवाफमा भने, ‘तिम्रो एड्भेन्चरको विषयमा अनुभव छैन भनेर । ती राक्षस हुन् र तिमीलाई डर लाग्यो भने जाऊ भगवानको प्रार्थना गर, म चाहिं अघि बढ्छु र तिनीहरूसँग डरलाग्दो र असमान लडाईंमा भिड्छु ।”

डन किहोक्ते र सान्चो पान्जोका बीचको यो संवाद नै मुख्य विषयवस्तु हो । सबै मानिसको संसार देख्ने दृष्टिकोण एउटै हुँदैन र आफ्नो चाहना अनुसार सबै कुरा देख्छन्, वास्तविक जेसुकै होस् । अवश्य पनि यो विचार प्रष्ट रूपमा किताबमा कतै लेखिएको छैन, न त यो विचारको प्रत्यक्ष रूपमा सम्बोधन भएको छ । आखिर उत्कृष्ट साहित्य भनेको नै विचारहरू यस्तो अप्रत्यक्ष रूपमा प्रस्तुत गर्नु हो ताकि ती विचार जब पाठकलाई छर्लङ्ग हुन्छ उनलाई आनन्द आउँछ, हो त नि भन्ने जस्तो लाग्छ ।

‘द एड्भेन्चर अफ डन किहोक्ते’ सेरभान्तेसले भर्खर साक्षर भएका जनमानसलाई लक्षित गरी लेखेका थिए ताकि बढीभन्दा बढी उनको कृति बिक्री होस् र उनको आफ्नो हात–मुख जोड्ने समस्या समाधान होस् । माथि प्रस्तुत संवाद जस्तै खासगरी डन किहोक्ते र सान्चो पान्जा बीचका संवादले भरिपूर्ण छ किताब । प्राकृतिक वर्णन या अरू वर्णन कमै छन्, पात्रहरूको अन्तर संवाद विल्कुल छैन । एउटा घटना पछि अर्को डन किहोक्तेको चर्तिकला र हाँसउठ्दा घटनाको वर्णन र घटना बारे यी दुई मुख्य पात्रको सरल र फरक दृष्टिकोण र विश्लेषण प्रस्तुत गरिएको छ । जस्तै विन्डमिललाई राक्षस देखेपछि हातमा तरबार लिएर लडाईं लड्न डन किहोक्ते आफ्नो घोडालाई दौडाउँछन्, अघि बढ्छन् । हावा लाग्छ विन्डमिलका पालहरू चल्छन् र उनको तरबार टुक्राटुक्रा हुन्छ । पाठकलाई डन किहोक्तेको बेवकुफी देखेर हाँस उठ्छ, रमाइलो लाग्छ ।

डन किहोक्तेको पागलपनलाई अरूले उकास्छन् र हाँस्छन् । सान्चो पान्जाले यथार्थ दुनियाँमा आफ्नो मालिकलाई ल्याउन खोज्छन् तर सफल हुँदैनन् । बास बस्ने भट्टीमा उनी शूरवीर भएकाले पैसा तिर्न मिल्दैन भन्छन् र तिर्न इन्कार गर्छन् । कतै कुटिन्छन्, कतैबाट पैसा नतिरी भाग्छन् । यी दुईले भेट्ने कोही दयालु हुन्छन्, कोही दुष्ट । डन किहोक्तेले धेरैजसो पागल कुरा गरे पनि गाँठी, विद्वत बोली पनि बोल्छन् र अरूलाई उनी सद्दे मान्छे बहुला भएको या बहुला मान्छे सद्दे भएको ठम्याउन गाह्रो पनि पर्छ । अनि किताबभरि उनीहरू भेट्ने विभिन्न पात्रहरूको आफ्नै कथा छन् । धेरैजसो यी कथाहरू पे्रमका छन्, कतै केटी त कतै केटा पे्रमको व्यथाले भौंतारिरहेका हुन्छन् र अन्त्यमा ती धेरै जसोको मिलन भए पनि कोहीमा हुँदैन । आखिर दुई पे्रमी बीचको पे्रम लघुकथा होस्, उपन्यास होस्, नाटक होस्, या कविता होस् संसार सबैभन्दा लोकप्रिय विषयवस्तु मध्ये हो । तर हरेक पे्रमको पात्रहरू फरक हुन्छन्, उनीहरूको चरित्र र परिस्थिति फरक हुन्छ र पाठकलाई तान्छन् ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’का पे्रम र कथाहरूले ।

पे्रम कथाका छोटा छोटा उपन्यासहरू यस बखतको स्पेनमा लोकप्रिय थिए यस्तै छोटो पे्रम कथा लेख्न खोजेका थिए, सेरभान्तेसले । एउटा प्रेम कथाले भने आजको नारी स्वतन्त्रताको चाहना प्रतिबिम्बित पनि गर्छ । आमाबाबु सानै उमेरमा गुमाएकी मार्सेला अति नै सुन्दर हुन्छिन् । केटाहरू उनको पछि लाग्छन् तर सबैलाई इन्कार गर्छिन् र धनी भए पनि एक गोठाली भएर अरू गोठालीहरूसँग गाउँ बाहिर बस्छिन् । उनको तिरस्कारको व्यथा सहन नसकेर एक युवकले आत्महत्या गर्छन् र उनको अन्तिम संस्कारको बेला मार्सेला त्यहाँ आएर उपस्थित सबैलाई लामो सम्बोधन गरेर भन्छिन्, ‘ईश्वरले मलाई सुन्दर बनायो, यति सुन्दर कि मैले नचाहँदा नचाहँदै पनि तिमीहरू मलाई पे्रम गर्छौ अनि मैले तिमीहरूलाई पे्रम गर्नु भन्छौ । मैले किन गर्नु म चाहन्न भने ? मैले आफ्नो स्वतन्त्रता कुनै लोग्नेमान्छेको आनन्दको लागि किन गुमाउनु, उसले आफ्नो सम्पूर्ण बल र बुद्धि मेरो सलिलता र नैतिक गुण मबाट खोस्न खोज्छ भने । म स्वतन्त्र जन्में र स्वतन्त्र बाँच्न चाहन्छु ।”

कुनै पनि उपन्यासले एक युगको चित्रण पनि गर्छ । सत्रौं शताब्दीको सुरुमा स्पेन विश्वको शक्तिशाली राज्यमध्ये पथ्र्यो । दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरू स्पेनको अधीनमा थिए । त्यसतर्फ जान लागेको एक न्यायाधीश पनि उपन्यासको एकदम सानो पात्रको रूपमा भेटिन्छन्, उत्तर अफ्रिकामा मुसलमानहरूको हिरासतबाट मुक्त भएका एक स्पेनी लडाकुले मुसलमान पे्रमी लिएर फर्केको कथामा ।

आठौंदेखि पन्ध्रौं शताब्दीसम्म स्पेनका केही भूभाग इस्लामी शक्तिहरूको अधीनमा रहेका हुन्छन् र सोह्रौं शताब्दीमा स्पेनका इशास राजाले मुसलमानहरूलाई देश निकाला गरेको कुरा पनि यो किताबमा अप्रत्यक्ष रूपमा प्रस्तुत गरिएको छ, एक अर्को पात्रको कथाद्वारा । धर्मले नै संसारको व्याख्या गरेको त्यस युगमा इसाई धर्मको सर्वोच्चता, त्यो पनि रोमन क्याथोलिक पनि प्रतिबिम्बित छ । मार्टिन लुथरलगायतले सोह्रौं शताब्दीमा रोमका धर्मगुरु पोपको परम्परागत बाइबलको व्याख्यालाई चुनौती दिने बौद्धिक आन्दोलन स्पेनमा आएन ।

उपन्यासको यो बृहत् पृष्ठभूमि अहिलेका पाठकलाई इतिहासको झल्को लिन रुचिको विषय बन्न सक्छ । तर त्यस बखतका पाठकलाई भने डन किहोक्तेको चर्तिकलाहरूले नै मुग्ध बनाइदिन्छ । तर उपन्यासको महत्व ती पे्रम कथाहरूमा मात्र सीमित छैन । यो लोकप्रिय हुन मात्र सफल भएन, पढेलेखेका पारखीहरूमाझ वैचारिक रूपमा पनि सफल भयो र अहिलेसम्म पनि छ । अंगे्रजी भाषामा मात्र करिब बीस अनुवादहरू भइसके विभिन्न युगको लागि, तात्कालीन भाषाको प्रयोग झल्किने । एक्काइसौं शताब्दीको मात्र तीन अनुवाद छन् ।

‘द ह्युमन कन्डिशन’ (मानवको भोगाइ) र उपन्यास लेखाइको विधाबारे ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ बारे कसरी बुझ्न सकिन्छ भन्ने चर्चा भन्दा पहिला यस उपन्यासको दोस्रो भागको प्रकाशनको पृष्ठभूमि र त्यसका घटनाहरूबारे कुरा गर्न सान्दर्भिक होला ।

सन् १६०५ मा पहिलो भाग प्रकाशित भएतापनि यसको दोस्रो भाग १६१५ मा मात्र प्रकाशित भयो । संसारको दुष्ट्याइँ विरुद्ध लड्ने, अन्यायमा परेकाको उद्धार गर्ने, संकटमा परेका स्त्रीहरूको सहयोग गर्ने र सान्चो पान्जालाई राज गर्न राज्य दिलाइदिने आफ्नो सबै उद्देश्य पूर्ण असफल भएपछि कुनै जादुगरले टुनामुना लगाएको भएर त्यो मन्त्रबाट मुक्त नहुन्जेल सफल हुन सकिन्न भन्ने मालिक र जागिरदारको ठम्याइपछि आफ्नो एड्भेन्चर्स ती टुनामुनाको प्रभाव अन्त्य भएपछि फेरि सुरु गर्ने योजना बनाई पहिलो भागको अन्त्यमा डन किहोक्ते र सान्चो पान्जा घर फर्कन्छन् । पहिला भागको अन्त्यमा पनि कथा सकेको छैन र दोस्रो भाग आउँदैछ भनी लेखकले संकेत गर्छन् ।

कालान्तरमा ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ को बिक्री बढ्दै जान्छ र लेखकको दोस्रो भाग लेख्ने उद्देश्य भएतापनि तुरुन्त लेख्दैनन्, अरू पुस्तक लेख्छन्, तर दोस्रो भागमा पनि काम गर्छन् । सन् १६१३ मा आयेलेनेडा नामक एक व्यक्तिले ‘डन किहोक्ते, द ला मान्चाका कारनामाहरूको दोस्रो भाग’ प्रकाशन गर्छन् र हतारहतार मिगेल द सेरभान्तेसको सन् १६१५ मा ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ प्रकाशनमा आउँछ ।

उपन्यासको पहिलो भाग डन किहोक्तेको कथा हो भने दोस्रो भाग सान्चो पान्जाको । पहिलो भागमा सान्चो पान्जा उनका मालिकलाई उपद्रो गर्नबाट रोक्न खोज्छन् र उनको कुराहरूलाई सुन्दै, काट्दै साथ दिन्छन् । डन किहोक्ते कहिले बहुला जस्तो कुरा गर्छन् र कहिले विद्वान् जस्तो । उनको ज्ञान गहिरो भएको महसुस हुन्छ पाठकलाई र उनको विचारबाट उनको विलक्षण बुद्धिको प्रत्याभूति हुन्छ । दोस्रो भागमा सान्चो पान्जाको गाउँले, व्यावहारिक दृष्टिकोणहरू फेरि–फेरि प्रष्ट रूपमा देखिन्छन् र उनले हरेक विचार उखानहरूसँग जोड्छन् जुन सुनेर डन किहोक्ते हैरान हुन्छन् । उखानहरूको प्रयोगको गुनासो गर्दा सान्चो पान्जाले जवाफ दिन्छ, ‘मेरो धन उखान मात्र हो अनि अझ धेरै उखान ।’ सान्चो पान्जाले बोलेको हरेक कुरामा दम

हुन्छ, निद्रादेखि धनी-गरिबको फरकबारेसम्म ।

दोस्रो भागको सुरुमा घर छोडेर डन किहोक्ते र सान्चो पान्जा कसरी निस्कन्छन् भन्ने देखाउन लेखकले बीसौं शताब्दीका उत्तरआधुनिकवादी लेखकहरूमा देखिने जुक्ति लगाउँछन् । पहिलो भागमा उनीहरूले भोगेका एड्भेन्चर्सहरूको इतिहासको किताब पढेका एक छिमेकीबाट पाठकहरूले उक्त किताब (जुन अब इतिहास भइसकेको थियो) रुचाएको सुन्छन् र अरू एड्भेन्चर्सहरूबारे पाठकहरूमा सुन्ने चाहना भएको सुन्छन् । यो ऊर्जासहित यी दुई घरबाट फेरि निस्कन्छन्, थप एड्भेन्चर्सको खोजीमा उनीहरूलाई रोक्न खोज्नेहरूको आग्रहको बावजुद ।

दोस्रो भागमा पहिलो भाग जस्तो धेरै एड्भेन्चर्स हुँदैनन् । उनीहरूको पहिलो भागमा वर्णन गरिएको एड्भेन्चर्सहरू १२ हजार प्रति प्रकाशित भएको किताब धेरैले पढेका हुन्छन् र उनीहरू प्रख्यात भइसकेका हुन्छन् । दोस्रो भागमा मुख्य गरी पहिलो भाग पढेका एक ड्युक र उनकी पत्नीले आफ्नो महलमा डन किहोक्ते र सान्चो पान्जालाई पाहुनास्वरुप भव्य आतिथ्यसहित राखेको र यी दुईमाथि नोकरहरूको सहयोगमा नाटकहरू गरेको घटनाहरू वर्णन गरिएको छ । यी दुईलाई फिरन्ते शूरवीरको कथाहरूमा जस्तै हावामा उडेको, कताकता गएको, आकाशबाट दूतहरू आएर भविष्यवाणी गरेको जस्तो भान दिलाउँछन् । डन किहोक्ते र सान्चो पान्जा पनि उनीहरूको खेलमा सामेल हुन्छन् । परिणाम अति हाँस उठ्ने अवश्य हुन्छ । तर यो मार्मिक पनि छ किनभने ड्युक र उनकी पत्नीले आफ्नो भ्रमका आकांक्षाहरू डन किहोक्ते र सान्चो पान्जामार्फत मात्र पूरा गर्न सक्छन्, सांसारिक वास्तविकता छोड्न सक्दैनन् । आफ्नो जीवन बाहेक अरू नै जीवन व्यतीत गर्ने मानव चाहना अमर हो ।

पहिलो भागमा डन किहोक्तेले सान्चो पान्जालाई राज्य दिन्छु भनी पु¥याउन नसकेको वाचा ती रजौटा र उनकी पत्नीले पु¥याइदिन्छन् । उनीहरूको अधीनमा रहेको एक गाउँमा राज्य गर्न सान्चो पान्जालाई पठाउँछन् जहाँ उनले आफ्नो सुझबुझ चलाएर आफूसामु आएका मुद्दाहरू सल्टाउँछन् । तर राज्य गर्नु आफ्नो वशमा नभएको निक्र्योलमा सान्चो पुग्छन् र केही दिनमै ड्युकको महलमा फर्किन्छन् । जानुभन्दा पहिला डन किहोक्तेलाई आफ्नो सान्चोलाई राज्य कसरी गर्ने भनी दिएको उर्दीले डन किहोक्तेको विद्वत्ता फेरि पनि देखिन्छ ।

यता सान्चो पान्जा नभएको बेला ती रजौटा र उनकी पत्नीले एक नोकर्नी पठाएर डन किहोक्तेलाई उक्त महिलाको मोहमा पार्न खोज्छन् । प्रयास असफल हुन्छ । डन किहोक्तेको डुल्सियाना डेल टोबासोप्रतिको माया, प्रतिबद्धता र वफादारी ढलमलाउन संसारको कुनै शक्तिले सक्दैन । आखिर उनले हरेक बहादुरीको क्रियाकलाप गर्नु भन्दा पहिला आफ्नो प्रियको नाम लिने गरेका हुन्छन् र आफ्नो सबै साहसी कार्यहरूलाई डुल्सियाना डेल टोबासोको सम्झनाले शक्ति प्रदान गरेको हो भन्छन् डन किहोक्ते ।

आफ्ना एड्भेन्चर्सहरूको अन्तिममा उनीहरू बार्सिलोना जान्छन्, उपन्यासका अरू पात्रहरूको कथा सुन्छन्, स्पेनको नौ सैनिक शक्तिको प्रतिबिम्ब हुने घटनाहरूको साँची हुन्छन् र घर फर्कने निधो गर्छन् । फर्केको लगत्तै डन किहोक्तेको निधन हुन्छ । मर्ने बेला उनले आफ्नो एड्भेन्चर्सहरू नकार्छन् र भन्छन्, ‘म बहुलाएको थिएँ र म अहिले सद्दे भएँ ।’ आफू अलोन्सो किसानो हो, डन किहोक्ते होइन भन्छन् । तर के हामी पाठक त्यो मान्न तयार छौं ? उपन्यासको वास्तविक नायक को हो- फिरन्ते शूरवीर डन किहोक्ते कि जमिनदार अलोन्सो किसानो ? ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ को प्रकाशनको करिब एक वर्षपछि मिगेल द सेरभान्तेसको पनि निधन हुन्छ ।

यो किताबको लोकप्रियता र संसारमा आजका उत्कृष्ट लेखकहरूको रोजाइमा नम्बर एक उपन्यास किन भयो बुझ्न गाह्रो छैन । सबैभन्दा पहिला त वास्तविकता के हो र भ्रम के हो, माथि नै प्रश्न यो उपन्यासले उठाउँछ । डन किहोक्ते भ्रमित अवश्य थिए तर के हामी सबै पनि भ्रमित छैनौं र-प्रेमबाटको आशाबाट होस्, सरकारबाटको आशाबाट होस्, आफन्तको सौहार्दपूर्ण व्यवहारको आशाबाट होस् । अझ हामीले देखेको वास्तविकता नै भ्रम होइन र, भ्रममा नै जीवन गुजार्दैनौं र ? अरू जो सुकैले जे भने पनि आफ्ना सपनाहरू पछ्याउँदै हिंड्न कसलाई चाहना हुँदैन, तर हामी कतिले यो आँट उठाउन सक्छौं ? डन किहोक्तेले आफ्नो सपना पछ्याएर (अरूले उनलाई पागल भने पनि) हिंडे । हन्डर खान्छन् तर ढलमलाउँदैनन् । डन किहोक्तेले आफ्नो ढङ्गबाट पाएको दुःखप्रति हामी हाँसौंला तर हामी उनको बहादुरी र आँटलाई सलाम पनि गर्छौं ।

दोस्रो, दुःख गरेर आफ्नो परिवार पालिरहेका सान्चो पान्जा व्यवहारको सांसारिक भोगाइबाट आम मानिसको जीवनको अनुभवबाट बनेको दृष्टिकोण प्रतिविम्बित गर्छ । आफ्नो परिवारलाई सुविधा दिने लोभले डन किहोक्तेको बहकावमा पछि लाग्छ । डन किहोक्तेको चर्तिकलाहरू बाबजुद उनीप्रति वफादार रहन्छन् । आफ्नो दोस्रो र डन किहोक्तेको तेस्रो एड्भेन्चर्समा राजी–खुशी जान्छन्, डन किहोक्तेले आफूले तलब माग्दा नसक्ने भन्दाभन्दै पनि । व्यक्तिगत फलिफाप हुने सम्भावना छैन भनी थाहा हुँदाहुँदै सान्चो पान्जा दोस्रो पटक किन डन किहोक्तेको पछि लागे ?

तेस्रो ती पे्रमका कथाहरू अधिकांशमा आफ्नै विशेषता छन् र प्रेम बाट आउने आफ्नोपन, सम्बन्ध, आत्मीयताको सबैलाई खाँचो भएको कुरा छ । ती रजौटाले दिएको उपहार सान्चो पान्जा आफ्नी पत्नीलाई पठाउँछन् । अविवाहित डन किहोक्तेलाई काल्पनिक पे्रमीको खाँचो हुन्छ र उपन्यासको प्रेम कथाको पात्रहरू प्रेम प्राप्ति नभएपछि बहुलाउँछन् । मार्कसेलालाई प्रेमको आत्मीयता अरू गोठालीहरूले दिन्छन्, प्रेम भ्रम किन नहोस् !

चौथो उपन्यास ४०० वर्ष पुरानो भए पनि आधुनिक युगमा त्यत्तिकै सान्दर्भिक छ, त्यसका कथा, व्यथा, विचार, उक्ति । तिनीहरूमा आधुनिक चासोहरू व्यक्त छन् । उदाहरणको लागि उपन्यासमा हुनुपर्ने विशेषता बारे एक पात्रले भन्छन्, ‘फिक्सनले जति सत्य दर्शाउँछ, त्यति राम्रो हुन्छ अनि जति सम्भव र हुनसक्ने दर्शाउँछ त्यति फिक्सनले आनन्द दिन्छ । फिक्सन आफ्नो पाठकलाई सुहाउँदो हुनुपर्छ र असम्भावना, ज्यादतीहरू सम्हालिएको हुनुपर्छ, विवेक सन्तुलित हुनुपर्छ ताकि फिक्सनले आश्चर्य, उत्तेजना, मनोरञ्जन दिन्छ र साथै जिज्ञासा उत्पन्न गराओस् र आनन्द देओस् । वास्तविकताबाट टाढा गएर प्रकृतिको अनुसरण तिरस्कार गरेर यो गर्न सकिन्न ।’

यो कुरा हुन पनि हो । तर फेरि, ‘द एड्भेन्चर्स अफ डन किहोक्ते’ ले यो भनाइको सफलतापूर्वक पूरै खिल्ली उडाएको छ ।

माथि उल्लिखित उपन्यासको सिद्धान्तको विरुद्ध भएकोले होला सेरभान्तेसले डन किहोक्तेको इतिहासका वास्तविक रचयिता को हुनमा नै प्रश्न उठाएका छन् । उनको इतिहास (कथा होइन इतिहास) का कति भाग हराएको थियो तर सैद हमिद बेनेनगली नामक एक मुसलमान इतिहासकारले फेला पारेको थियो लेख्छन्, प्राचीन ग्रीसका कृतिहरू इस्माली स्रोतबाट शताब्दीऔं पछि युरोपमा उपलब्ध भएको तथ्यलाई अंकित गर्दै । दोस्रो भाग त पूरै बेननगलीले लेखेको र सेरभान्तेसले अनुवाद मात्र गरेको भान दिइन्छ । प्रश्न उठ्छ इतिहासको लेखक को हुन्छ, के कुरा विश्वास गर्ने ? भ्रम के हो ? वास्तविकता के हो ? दार्शनिकहरूका सदाबहार प्रश्न हुन्, यी ।

दर्शन पढ्न र बुझ्न गाह्रो अवश्य होला, उराठलाग्दो होला । कलाको आनन्दको कुरा भने अर्कै हो, कला ‘गलत तरिकाबाट’ हेरिएको किन नहोस् !

लेखकको बारेमा
मनेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?