+
+

भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन गर्न खोज्दा विवाद

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर १९ गते १२:०२

१९ मंसिर, धनगढी । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ ।

पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो ।

सोही विषयलाई लिएर सोमबार बिहान पनि भारतीय पक्षले महाकाली पुलमाथि आवतजावतमा रोक लगाएको थियो तर अहिले दुवै पक्षबीच छलफल गर्ने समझदारीपछि आवागमन खुलेको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले भारतीय पक्षले पुलको उत्तरतर्फको भागमा तटबन्धन निर्माण गर्दा पानीको धार नेपालतर्फ फर्काउन खोज्दा विवाद भएको बताइन् ।

‘भारतीय पक्षले नेपालतर्फ पानीको निकास गरेर तटबन्ध निर्माणको काम गछौँ भन्नुभएको थियो । हामीले दुवै पक्षका प्राविधिक समेतको संयुक्त बैठक बसेर के–कसरी अघि बढ्न सकिन्छ छलफल गरौँला भनेका थियौँ,’ साउदले अनलाइनखबरसँग भनिन्, ‘तर उहाँहरुले काम नरोकेपछि विवाद भएको हो । फेरि बैठक बसेर छलफल गर्ने समझदारी भएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी साउदका अनुसार अहिले नदीको उत्तरतर्फ तटबन्ध गर्ने काम रोकिएको छ । सकभर आजै नभए भोलिसम्म दुवै पक्षको बैठक बसेर विवाद निरुपण गर्ने समझदारी भएको उनले बताइन् । दक्षिणतर्फ भने खासै समस्या नपर्ने भएकाले तटबन्ध गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?