+
+

बुटवलमा जग्गाकाे कित्ताकाट खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १४:५३

१९ मंसिर, बुटवल । बुटवल उपमहानगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । जसअनुसार शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिस भएअनुसार वडा नम्बर १ देखि १३ र वडा नम्बर १९ का जग्गालाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ ।

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनःविचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नम्बर १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको हो । यस्तै वडा नम्बर १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार ४ वटा वडा कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ । यस्तै वडा नम्बर १४, १६ र १८ का ९५ वटा सडकहरुका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम भएका छन् ।

जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेसँगै उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएका बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । उनका अनुसार भू–उपयोग परिषद्को जग्गाको वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । २०७९ साउन १८ मा सरोकारवाला र नगरवासीको राय, प्रतिक्रिया र सुझाव लिन सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्थित नापी र मालपोत कार्यालयलाई प्रतिवेदनमाथि राय, प्रतिक्रिया लिएर भू-उपयोग परिषदबाट निर्णय गरी कार्यपालिकामार्फत निर्णय गरिएको पन्थीले बताए ।

हाल स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् पठाइने उनले बताए । स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने भूउपयोग नियमावली २०७९ मा उल्लेख छ ।

जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि उपमहानगरले उक्त प्रक्रिया अघि बढाएको थियो । सरकारले गत जेठमा जारी गरेको भू-उपयोग नियमावलीमा वर्गीकरणपछि मात्रै जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?