+
+

पाँच चिनियाँ जहाज बेच्न मूल्य तोक्दै नेपाल एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:३८

२० मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने उनले बताइन् । ‘हामीले सुरुमा भाडामा दिने तयारी गरेका थियौं,’ उनले भनिन्, ‘यसमा कोही पनि इच्छुक नभएपछि जहाज बिक्री गर्ने विकल्पमा तयारी थालेका हौं ।’

निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको छ । ती जहाज जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा मूल्यांकन गर्न निगमले मंगलबार टेन्डर निकालेको हो । निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज भने तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाजको मूल्य तोक्ने तयारी निगमले गरेको हो ।

निगमले यी जहाज आफुले चलाउन नसक्ने भन्दै व्यवस्थापन गर्न सरकारलाई जिम्मा दिएको थियो । तर, सरकारले समेत वेवास्ता गरेपछि निगमले जहाज भाडामा दिने तयारी गरी टेन्डर निकालेको थियो । त्यसमा पनि कुनै पनि पार्टी इच्छुक भएनन् ।

त्यसपछि भने निगमले मंगलबार यी जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर निकालेको हो । यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको हो । निमगले १५ दिनको समय राखेर यस्तो प्रस्ताव आहृवान गरेको हो ।

जहाजको पूर्ण मूल्यांकनपछि भने निगमलाई यी जहाजको मूल्य तोक्न सहज हुने छ । त्यसपछि निगमले जहाज बिक्रीका लागि बाटो खुल्छ । चीनबाट २०७१ सालपछि भित्र्याउन शुरु भएको यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरेका छन् । आन्तरिक उडानको प्रयोजनका लागि भित्राइएका यी जहाज नहुँदा निगम झण्डै जहाजविहीन अवस्थामा छ ।

साना जहाज ल्याएर पहाडी र हिमाली दुर्गम भेगका जनतालाई सेवा दिने उद्देश्यले भित्र्याइएका चिनियाँ जहाजका कारण मात्र मुलुकलाई ८ अर्ब रुपैयाँ बढी भन्दा घाटा पुगिसकेको छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरदि गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज संचालनबाट निगमले २०७१ सालयता वाषिर्क औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेकोसँगै सो वर्षबाट निगमले नउडाउने निर्णय लिएको थियो ।

यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाति निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो दिएन ।

जहाज कलसाइन प्राप्त मिति
एमए६० अनुदान ९एन-एकेक्यू १४ वैशाख २०७१
वाई १२ ई अनुदान ९एन-एकेएस १८ कात्तिक २०७१
एमए६० ऋण ९एन-एकेआर ४ माघ २०७३
वाई१२ ई ऋण ९एन-एकेटी १९ माघ २०७३
वाई १२ ई ऋण ९एन-एकेयू १ फागुन २०७४
वाई १२ ई ऋण ९एन-एकेभी १ फागुन २०७४

यस्ता कारण देखाउँदै निगमले लिएको थियो यी जहाज नउडाउने निर्णय

· चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको तुलनामा ३५ प्रतिशत बढी रहेको ।

· चिनियाँ जहाज चलाउने पाइलट नहुने हुनाले आफैले उत्पादन गर्नु परेको, जुन एयर अन्तराष्ट्रिय उडानमा रहेको ए३२० जहाजका पाइलट उत्पादनभन्दा महंगो पर्ने ।

· यी जहाजको स्पेयर्स पार्ट्ससमेत समान क्षमताका अन्य जहाजको तुलनामा ७५ प्रतिशत मंहगो पर्ने ।

· कतिपय अवस्थामा स्पेयर्स पाट्स अर्डर गरेको २ महिनासम्म पनि सामान नआएर जहाज ग्राउन्डेड भएको ।

· दुबै मोडलका जहाजमा प्रशिक्षक पाइलटको अभाव रहेको, चिनियाँ जहाजमा प्रशिक्षक पाइलट उत्पादन गर्न सोही क्षमताका अन्य जहाजको तुलनामा ४ गुणा मंहगो पर्ने ।

· एमए ६० जहाजको सिमुलेटर तालीम खर्च अन्य जहाजको तुलनामा ७८ प्रतिशत महंगो र टाइप रेटिङ तालिम ३० प्रतिशत महंगो परेको ।

· एमए६० को इन्धन खर्च सोही क्षमताको अन्य जहाजको तुलनामा दोब्बर र वाई१२ को इन्धन खर्च ५० प्रतिशतभन्दा बढी रहेको ।

· तोकिएको रुटमा यी जहाज चलाउँदा २५ देखि ६७ प्रतिशतसम्म पेलोड प्रतिवन्ध पर्दा कुनै बेला तोकिएको क्षमताभन्दा निकै कम यात्रु मात्र बोकेर उडाउनु पर्ने बाध्यता रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?