+
+

स्रोतमै फोहोरको वर्गीकरण गर्न महानगर असफल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:०२
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्न असफल भएको छ । स्रोतमै फोहोरको वर्गीकरण गर्ने भन्दै महानगरले गत १ साउनमा सूचना निकालेको थियो । तर सूचना निकालेको ५ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेन ।

महानगरका मेयर बालेन्द्र साह(बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल ठाउँ अभावका कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको दावी गर्छन् । खुला स्थान अभावका कारण केन्द्र सरकारसँग एकै स्थानमा कम्तिमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको उनले बताए ।

‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ । जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहरको स्रोतमै वर्गीकरणको काम पुनः सुरु हुन्छ, आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पूर्णता पाउने छ,’ लम्सालले भने, ‘महानगरलाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अधिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो ।’

स्थान पहिचान भएसँगै महानगरले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा बिसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् ।

काठमाडौं उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न थालिएको हो । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो । आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचान गरी कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?