+
+

बुटवल र मौलाकालिकामा एकैसाथ दुई केबलकार सञ्चालनमा आउँदै

अच्युत पुरी अच्युत पुरी
२०७९ मंसिर २० गते १९:५२
बुटवलमा निर्माणाधीन केबलकार ।

२० मंसिर, काठमाडौं । रुपन्देहीको बुटवल र नवलपुरको मौलाकालिकामा एकै पटक दुई वटा केबलकार परियोजना सञ्चालनमा आउने भएको छ । यी दुवै परियोजना आईएमई समूहले लगानी तथा व्यवस्थापन गर्दैछ ।

बुटवलमा लुम्बिनी केबलकार र नवलपुरमा मौलाकालिका केबलकार सञ्चालन हुनेछन् । बुटवलमा सञ्चालनमा आउने केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हुनेछ । आयोजनाका इन्जिनियर गोकुल साउदका अनुसार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरलाई जोड्ने गरी केबलकार निर्माण भइरहेको छ । यस परियोजनामा कुल ९ वटा टावर रहने छन् ।

जसमध्ये ७ वटा टावरको जडानको काम सम्पन्न भइसकेको छ । पुससम्म टावर र रोप जडानको काम सक्ने र माघमा परीक्षण सञ्चालन गर्ने योजना अनुसार काम भइरहेको इन्जिनियर साउदले जानकारी दिए ।

उनका अनुसार बुटवलमा निर्माणाधीन केबलकारमा कुल २५ वटा गोण्डुला रहनेछन् । जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओसार्न सक्ने क्षमता रहेको छ । एक गोण्डुलामा एक पटकमा ८ जनाले यात्रा गर्न सक्छन् । माघ अन्तिमसम्म परीक्षणको काम सम्पन्न गरी फागुनदेखि आयोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । बुटवलमा केबलकार निर्माणको काम एक वर्ष अगाडि सुरु भएको हो ।

बसन्तपुरमा पाँच तारे होटल समेत बन्ने

केबलकार परियोजनासँगै पाल्पाको बसन्तपुरमा रहेको टप स्टेशनमा पाँचतारे होटल समेत बनाउने तयारी छ । यसबाहेक रेष्टुरेन्टसहितका संरचना समेत माथिल्लो स्टेशनमा सञ्चालनमा आउने भएको छ । यात्रुलाई आकर्षित गर्न परम्परागत रुपमा पूजा भइरहेको स्थानमा मन्दिर समेत निर्माणको तयारी छ । बुटवलमा सो समूहले कुल ५ अर्ब रुपैयाँ लगानी गर्दैछ । यो लगानी होटल र केबलकार समेतको हो । यहाँ १५० कोठाको पाँचतारे स्तरको होटेल बनाउने तयारी छ ।

बुटवलबाट बसन्तपुर केबलकारमा १० मिनेटमा पुगिने छ । यो बुटवल बासीका लागि परम्परागत हाइकिङ रुट समेत हो । यहाँबाट बुटवल बजारको पुरै अवलोकन गर्न सकिन्छ । साथै, अन्नपूर्ण हिमऋङ्खलाको समेत अवलोकन गर्न सकिने इन्जिनियर साउदले जानकारी गराए । बुटवलबाट २.५ किलोमिटर लामो रोपमा केबलकार सञ्चालन हुनेछ ।

मौलाकालिकामा २ अर्ब लगानी

नवलपरासीको मौलाकालिकामा समेत केबलकार निर्माण अन्तिम चरणमा पुगेको छ । यहाँ समूहले २ अर्ब रुपैयाँ लगानी गर्दैछ । मौलाकालिकामा ५० कोठाको होटेल समेत सँगै निर्माण भइरहेको छ ।

मौलाकालिका केबलकारमा कुल ६ वटा टावर रहने छन् । जसको जडानको काम अन्तिम चरणमा पुगेको इन्जिनियर साउदले जानकारी दिए । १.२ किलोमिटर लामो केवरकारमा १२ वटा गोण्डुला रहने छन् । यी दुवै केबलकार सञ्चालनमा आएसँगै नेपाली र भारतीय पर्यटक आकर्षित हुने कम्पनीको विश्वास छ । आईएमई समूहको यो तेस्रो केबलकार परियोजना हो । पहिलो केवलबार काठमाडौंको चन्द्रागिरिमा सञ्चालनमा आएको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?