+
+

प्रदेशमा थ्रेस होल्ड कटाएका चार दलले किन पाएनन् सिट ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १६:१३
४ मंसिरको चुनावपछि भएको मतगणनाको तस्वीर ।

२२ मंसिर, काठमाडौं । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुन्छन् । तर गण्डकी र कर्णाली प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि चार दलहरुले कुनै सिट पाएनन् ।

गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् ।

गण्डकीमा समानुपातिकतर्फ २४ सिट छ । र, ९ लाख ४२ हजार ७९८ मत सदर भएको छ । आयोगका अनुसार ७ दलले थ्रेसहोल्ड कटाएका थिए । तर सेन्टलग विधिबाट सिट निर्धारण गर्दा तीन दलले सिट पाएनन् ।

हाम्रो नेपाली पार्टीले त झण्डै २ प्रतिशत मत पाएको थियो । एकीकृत समाजवादीले १.६० र राष्ट्रिय जनमोर्चाले १.५८ प्रतिशत मत पाएको थियो । तर तीन वटै दलले सिट पाएनन् ।

कर्णाली प्रदेशमा पनि त्यस्तै भएको देखिन्छ । कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पािन समानूपातिक सिट पाउन सकेन । ४० सदस्यीय प्रदेशसभामा १६ सिट समानूपातिकतर्फ छ र ५ लाख ६२ हजार ३४० मत सदर भएको थियो ।

नेपाल मजदुर किसान पार्टीले करिव ९ हजार मत पायो, जुन कुल सदर मतको करिव १.६ प्रतिशत हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सेन्ट लग विधिबाट समानूपातिकको सिट निर्धारण गर्दा थ्रेसहोल्ड कटेपनि कतिपय दलहरुले सिट नपाएका हुन् ।

‘संघीय तहमा ११० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३/४ सिट पाउने अवस्था रहन्छ’ उनले भने, ‘कतिपय प्रदेशमा सिट थोरै छ । १.५ प्रतिशत थ्रेसहोल्ड कटेपछि एक सिट पनि पाउन नसक्ने अवस्था हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?