+
+

ग्लोबल आईएमई बैंकको साधारणसभाले गर्‍यो बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने प्रस्ताव स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १५:३२

काठमाडौं । ग्लोबल आईएमई बैंकको १६औं वार्षिक साधारणसभाले बैंक अफ काठमण्डूसँग गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गरेको छ । २३ मंसिरमा बसेको साधारणसभाले बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।

बैंकको साधारणसभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) स्वीकृत गरेको छ ।

बैंकको साधारणसभाले बैकको अधिकृत पूँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

यस्तै साधारणसभाले बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

बैंकका अध्यक्ष ढकालले साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकको घोषित नीति अनुरुप सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आव २०७७/७८ को भन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको जनाएको छ । बैंकको खुद मुनाफा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको थियो । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?