
२३ मंसिर, काठमाडौं । नेपाली कलाकारहरूसँगको सहकार्यमा चर्चित अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ ले बनाएका भित्तेचित्रहरू प्रदर्शन गरिएका छन् ।
काठमाडौंको बबरमहलस्थित सडक किनारामा म्यान वनले नेपाली कलाकारहरू सदीप बल्ल र मनिषा शाहसँगको सहकार्यमा तयार पारेका भित्तेचित्रहरू प्रदर्शन गरिएका हुन् ।
आर्टुडियो र काठमाडौँस्थित अमेरिकी राजदूतावासको सहकार्यमा आयोजना गरिएको उक्त प्रदर्शनीमा अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मानलाई चित्रित गरिएको छ ।
सोही कार्यक्रमअन्तर्गत शुक्रबार बबरमहलमा भित्तेचित्र प्रदर्शनी गरिएको हो । कार्यक्रममा अमेरिकी राजदूत डीन थम्प्सनसमेत सहभागी भएका थिए ।
नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा म्यान वनले काठमाडौं र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना भएको छ ।
यसअघि नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरूको समूहले १२ मंसिरमा प्रत्यक्ष कला कार्यशालामा भाग लिएका थिए । नेपाली कलाकारहरूले अल्पसङ्ख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रूपमा काम गरेका थिए ।
अन्तर्राष्ट्रिस्तरमा थुप्रै भित्तेचित्र सिर्जना गरेका म्यान वनले उत्तरी आयरल्याण्ड, जर्मनी, जापान र मेक्सिको लगायतका मुलुकमा यस सम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।
साथै, एमटीभी र एबीसी टीभीमा उनले केही चर्चित कार्यक्रम पनि होस्ट गरिसकेका छन् । जसमा पिम्प माइ राइड, अमेरिकाज् नेक्स्ट टप मोडल र द कन्टेन्डर कार्यक्रम छन् ।
प्रतिक्रिया 4