+
+

हितराजको नाममा जुट्यो सहमति, दोस्रो पुरुष सांसदबारे माओवादी अनिर्णित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १८:५२

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा समानुपातिकबाट पुरुषतर्फ हितराज पाण्डेलाई प्रतिनिधि सभामा पठाउन सहमति जुटे पनि अर्को पुरुषका बारेमा सहमति जुट्न सकेन ।

प्रत्यक्षतर्फ १८ सिट पाएको माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ । माओवादीले त्यसमध्येमा १२ जना महिला पठाउनै पर्छ भने बाँकी २ जनामा पुरुष पनि पठाउन सक्छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भोलि आयोगमा सूची बुझाउने तयारी भइरहेको बताए ।

माओवादीले आदिवासी जनजातितर्फ ४, खस आर्यतर्फ ४, दलित २, मधेशी २, थारु १ र मुस्लिमतर्फबाट १ जना पठाउनुपर्छ ।

माओवादीका एक पदाधिकारीका अनुसार पदाधिकारीको अनौपचारिक बैठकमा २ पुरुषमध्ये खसआर्यबाट हितराज पाण्डेलाई पठाउनेबारे सहमति जुटेको छ । पाण्डे अघिल्लो पटक पनि सानुपातिक सूचीमा थिए, अन्तिममा उनलाई नपठाएर अपाङ्गता भएका क्षेत्रबाट चुडामणि खड्कालाई पठाइएको थियो ।

पाण्डे यसपाली गोरखाबाट प्रत्यक्ष चुनाव लड्ने आकांक्षामा थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएपछि उनलाई समानुपातिक सूचीमा राखिएको थियो ।

दोस्रो पुरुषका नाममा भने माओवादीमा सहमति बन्न सकेको छैन । माओवादीले आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ आदिवासी जनजातिमा अजम्बर राई, खस आर्यमा हितराज पाण्डे, थारूमा सुनिलकुमार भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वर राय यादव र मुस्लिममा हकिकुल्लाह खाँ पहिलो नम्बरमा छन् ।

पाण्डेका नामा सहमति जुट्दा थप एकजना पुरुष माथिका कुन कलस्टरबाट पठाउने भन्नेमा सहमति जुट्न सकेको छैन । पदाधिकारी बैठकमा सहमति नभएपछि यसबारे निर्णय गर्ने जिम्मेवारी प्रचण्डले पाएका छन् ।

यी हुन माओवादीबाट जाने १२ महिला :

आदीवासी जनजाति : दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल

खसआर्य : ज्ञानु बस्नेत, बिमला सुवेदी, नारायणी शर्मा

थारु : रुपासोसी चौधरी

दलित : सुशीला श्रीपाली ठकुरी, पार्वती बिक

मधेशी : मिना यादव, उमरावतीदेवी यादव

मुस्लिम : कल्पना मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?