+
+

पोखरा विमानस्थलमा यसरी गरियो आपत्कालीन उद्धार अभ्यास

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर २३ गते १८:३५

२३ मंसिर, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरमा शुक्रबार दिउँसो एउटा ‘इमर्जेन्सी सन्देश’ आउँछ, ‘अनामपुरबाट आउँदै गरेको एबीसी एअरलाइन्सको एम १२३ नम्बरको जहाजको एउटा इन्जिन फेल भयो । ‘प्रायोरिटी’ दिनुपर्‍यो ।’

टावरलाई सम्पर्क २५ माइलबाट आएको हुन्छ । तर, जब विमानस्थलको १० माइल नजिक जहाज आउँछ । दुइटै इन्जिन फेल हुन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उक्त विमानलाई अवतरणमा प्राथमिकता दिन्छ । तर, रनवे ०३ बाट जहाज अवतरण गर्ने बेला धावनमार्गको दायाँतर्फ चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ ।
जहाजमा १८० जना सवार हुन्छन् । दनदनी बलिरहेको जहाजलाई विमानस्थलमा तयारी अवस्थामा रहेका ३ वटा दमकलले आगो निभाउँछन् । लगत्तै एम्बुलेन्स तथा सुरक्षा निकाय उद्धारमा खटिन्छन् । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर पनि आउँछ ।

यो सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गरिएको आपत्कालीन उद्धारको अभ्यास कार्यक्रममा देखिएको दृश्य हो । नागरिक उड्डयन प्राधिकरणको अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ ।
सोही योजनाका लागि शुक्रबार विमानस्थलमा ‘अलर्ट वान’ अर्थात एयरपोर्ट क्षेत्रमै घट्न सक्ने दुर्घटनाको उद्धारको अभ्यास गरिएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

विमानस्थल नियमित सञ्चालनमा आएपछि आपत्कालीन दुर्घटना उद्धारका ३ वटा फायर फाइटिङ भेहिकल, २ वटा एम्बुलेन्स हुने प्रवक्ता जोशीले जानकारी दिए । उनले भने, ‘त्यसका लागि हामीसँग चाहिने सबै कर्मचारी, जनशक्ति तयार नै हुनुहुन्छ ।’

प्रवक्ता जोशीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न आफूहरु तयार रहेको दावी गरे । ‘तोकिएको समयमै विमानस्थल सञ्चालनमा ल्याउन हामी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसका लागि हामी १२० दिनदेखि नै समिति गठन, सरोकारवाला निकायसँग पनि निरन्तर छलफल, अन्तरक्रियामै छौं ।’

विमानस्थल नियमित सञ्चालनका लागि मंसिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको छ । एरो थाई कम्पनीले क्यालिब्रेसन फ्लाइट गरेको थियो । जसको प्रतिवेदन ३ सातापछि दिने कम्पनीले जनाएको छ ।

मुख्य बाधकका रुपमा देखिएका समस्याहरुको समाधानको अन्तिम चरणमा पुगेको बताए । उनले क्यालिब्रेसन फ्लाइटका लागि रिठ्ठेपानी डाँडा १४ मिटर काट्नुपर्नेमा १६ मिटरभन्दा बढी डाँडा कटान भइसकेको जानकारी दिए । ‘सबै गरेर ४० मिटर काटिसक्नुपर्ने हो । त्यो पनि समयमै सक्छौं,’ उनले भने, ‘अबको डाँडाको इस्यू छैन ।’

मुख्य बाधककै रुपमा रहेको पोखरा ल्यान्डफिल साइट स्थानान्तरण गर्न भने महानगरले असहयोग गरेको जोशीको गुनासो छ । १८ मंसिरदेखि नै फोहोर नफाल्ने गरी लिखित सहमति गरे पनि कार्यान्वयन नगरेको उनको भनाइ छ । ‘जिम्मेवार निकायबारे धेरै बोलिरहनुपरेन । अब फेरि एकपटक बस्छौं,’ उनले भने, ‘ल्यान्डफिल साइट सञ्चालनमै भएको बुझेको छु ।’

विमानस्थलदेखि करिब २ किलोमिटर दूरीमा ल्यान्डफिल साइट छ । तर, नियमित उडानका लागि ल्यान्डफिल साइटभन्दा पनि चराको गतिविधि मुख्य बाधक बन्ने जोशीले सुनाए । उनले चरा भगाउने मेसिन खरिदका लागि टेन्डर प्रक्रियामा गइसकेको सुनाए ।

‘ल्यान्डफिलभन्दा पनि त्यहाँ बासस्थान बनाएका चराका कारण हामीलाई समस्या हुने हो,’ जोशीले भने, ‘अहिले बर्ड प्याट्रोलिङका लागि डेडिकेटेड मेसिन राखेर, झाडीहरु फाल्ने, गुँडहरु हटाउने काम गरिहेका छौं । बर्ड स्क्यानिङ मेसिन पनि टेन्डरमा गइसकेको छ ।’

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबाट ३ थान बाँदर धपाउने मेसिनसमेत ल्याएको विमानस्थलले जनाएको छ । ‘त्यसलाई हामीले प्राक्टिकल्ली नै हेर्‍यौं । धेरै राम्रो काम गरेको छ । पहिलेजस्तो चरा पनि अहिले आएका छैनन्,’ प्रवक्ता जोशीले भने ।

नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीबीच ०७१ जेठ ८मा विमानस्थल बनाउन ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको २ वर्षपछि ०७३ बैशाखमा शिलान्यस भएको थियो ।

०७८ असोजमै सकिनुपर्ने भएपनि कोरोना महामारीका कारण थप एक वर्ष म्याद थपिएको थियो । विमानस्थललाई चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा ठेकेदार कम्पनीले ०७८ चैत १२ गते चैत २०७८ मै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?