+
+

संसदीय दलको नेतामा हिक्मतसँगै तिलकुमारको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते २०:०१

२३ मंसिर, विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५ सहित ४० सिट जितेको छ । बहुमतका लागि आवश्यक संख्या भन्दा सात सिटले पछाडि रहेको एमाले राप्रपा र जनता समाजवादी पार्टीको समर्थन जुटाएर सरकार बनाउन प्रयासरत छ ।

तालमेल गरेर चुनाव लडेको जसपाले साथ दिएको अवस्थामा सरकार बन्ने भएपछि संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीसँगै तिलकुमार मेन्याङ्बोले दाबी गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य कार्की झापा क्षेत्र नम्बर ५ को २ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । उनी २०७४ सालमा पहिलो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

पोलिटव्यूरो सदस्य मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । २०५६ सालमै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यो पटक पनि प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए । पार्टी सचिव योगेश भट्टराईले संघको टिकट पाएपछि उनी प्रदेशमा उठेका थिए ।

संसदीय दलको नेता बन्नका लागि कार्कीले छलफल र भेटघाट तिव्र बनाएका छन् । बहुमत जुटाउनका लागि उनले अन्य दलसँग पनि छलफल गरिरहेका छन् ।

दलको नेताको आकाक्षी मेन्याङ्बो पार्टी केन्द्रको निर्देशन अनुसार चल्ने बताउँछन् । पार्टीको जिम्मेवारीमा कार्की सिनियर भएपनि आफू पनि आकांक्षी रहेको उनले बताए । ‘सबै नतिजा सार्वजनिक भइसकेपछि सहमतिको आधारमा अघि बढ्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीमा छलफल हुन्छ ।’

कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक छन् । एमालेभित्र कार्कीलाई मन नपराउने नेताहरुले मेन्याङ्बोलाई अघि सारेका हुन् । मेन्याङ्बो आफैंले भने आफूलाई सशक्त रुपमा उभ्याएका छैनन् । कार्की सिनियर नेता भएका कारण आफ्नो सम्भावना कम भएको उनी आफैं बताउँछन् ।

नेताहरुले पनि २०७४ सालको जस्तो पार्टीमा दुई धार नभएका कारण संसदीय दलको नेता छनोटका चुनाव नै हुने सम्भावना कम रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?