+
+

प्रतिनिधिसभाको समानुपातिकमा दलले पठाएका नाम सच्याउनु नपर्ने, प्रदेशमा धेरै त्रुटि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १७:५८

२५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ ।

आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएका हुन् ।

दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरुले आआफूले पाएको सिटमा नाम पठाएका थिए ।

‘प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठीक छ’ उनले भने ।

प्रदेशसभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताए । अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।

त्यस्तै अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताए ।

यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको पनि सहप्रवक्ता वाग्लेले बताए । ‘सुधार सहितको विवरण प्राप्त भइसकेपछि त्यसरी बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्छ र त्यसपछि उहाँहरुलाई प्रमाणपत्र वितरण हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?