+
+
अन्तर्राष्ट्रिय पर्वतीय दिवस :

‘हिमाल हाँक्न सक्छन् महिला’

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर २५ गते २०:११

२५ मंसिर, पोखरा । विश्व पर्यटन संघले केही समयअघि गरेको अध्ययनअनुसार अन्य क्षेत्रमा महिलाको संलग्नता कम भए पनि पर्यटन क्षेत्रमा बढी छ । पर्यटन व्यवसायमा लागेका उनीहरुले संख्यामात्रै होइन, आम्दानी पनि अन्य क्षेत्रको तुलनामा बढी छ ।

उक्त अध्ययन प्रतिवेदनअनुसार विश्वका पर्यटनमा संलग्न व्यवसायी, कर्मचारीमध्ये ५४ प्रतिशत महिला छन् । त्यसमा संलग्न महिलाले अन्य क्षेत्रको तुलनामा ३९ प्रतिशत बढी आम्दानी गर्छन् ।

नेपालमा महिलाहरु सन् १९२० अगाडिदेखि नै पर्वतीय पर्यटनमा संलग्न थिए । त्यतिबेला हिमाली क्षेत्रका शेर्पा महिलाहरु पोर्टर र कुकका रुपमा संलग्न थिए । तर, सन् २००० सम्म आइपुग्दा भने महिलाले नै पदयात्रा तथा आरोहण सुरु गरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यो संख्या सन् ०२० पछि बढेनमात्रै, महिलाले नै विभिन्न संघसंस्थामा आबद्ध भएर नेतृत्व पनि लिन थाले ।

महिलालाई नै लक्षित गरेर संयुक्त राष्ट्र संघले यस वर्षको अन्र्तराष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन्स’ अर्थात् महिला पनि पर्वत हाँक्न सक्छन् दिएको छ । संघले २००३ देखि बर्सेनि डिसेम्बर ११ गतेका दिन दिवस मनाउँदै आएको छ ।

संयुक्त राष्ट्र संघको उक्त नारालाई नै मियोमा राखेर नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले शनिबार र आइतबार पोखरामा सातौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मनाए । उक्त नारा विशेष गरी नेपालजस्तो पहाडी भूभाग र हिमाल केन्द्रित देशलाई उपयुक्त हुने संघको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी पनि नेपाली पर्यटनको आधाभन्दा बढी हिस्सा महिलाले नै ओगटेको बताउँछन् । ‘त्यसमा पनि अझ ग्रामीण र पर्वतीय पर्यटनमा महिलाहरुको अझ धेरै संलग्नता छ । बरु पुरुषहरु यो पेशाबाट छिट्टै पलायन भएको देखियो,’ उनी भन्छन्, ‘तर, महिलाहरुमा त्यो छैन । हिमाली भेगमा प्रायः महिलाहरु नै अगुवा छन् ।’

अन्य क्षेत्रमा भन्दा पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र आम्दानी भए पनि ज्याला पुरुषभन्दा थोरै नै पाउने गरेको अध्ययनहरुले देखाएको रेग्मी सुनाउँछन् । ‘तर, अन्य सेक्टरमा जस्तो त्यति ठूलो विभेद भने यसमा देखिएन । तुलनात्मक रुपमा बराबरी नै देखिन्छ,’ उनले भने ।

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भएको पर्वतीय महोत्सवमा आइतबार रेग्मीले नेपालमा पर्वतीय पर्यटन र महिलाको अवस्थाबारे प्रस्तुति दिएका थिए । पर्वतीय पर्यटनको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेपनि अझै विश्वास गर्न नसकिरहेको उनको भनाइ छ ।

‘जसरी पर्वतीय पर्यटनमा महिलाको अहम् भूमिका छ । त्यसरी अवसर भने दिन सकेका छैनौं,’ रेग्मीले भने, ‘यदि त्यो दिने हो भने उनीहरु सक्छन् । दे क्यान मुभ द माउन्टेन ।’ अहिले महिलालाई पर्यटनमा अवसर दिन अहिले विश्व पर्यटन संघ लगायत विभन्न संघसंस्थाले पनि योजना तथा अभियान चलाइरहेको सुनाए ।

आरोही तथा पर्वतीय पथ प्रदर्शक फुन्जो लामाले सुरुमा महिलाहरुलाई अविश्वास गर्ने भए पनि विस्तारै परिवर्तन हुँदै गएको सुनाइन् । ‘सुरुमा हामीलाई घरबाटै विश्वास गरिँदैन । घरले अनुमति दियो सोसाइटीसँग लड्नुपर्छ । तर, त्यसो हुँदा पनि अहिले धेरै सजिलो भएको छ,’ उनले भनिन्, ‘समाज आजको स्थितिमा नआउँदा पनि महिलाहरु हिमाल चढेका थिए । हामीले केवल बाटो पछ्याएको मात्रै हो ।’

आरोही लाक्पा फुटी शेर्पा हिमाललाई बचाउन नीतिगत तहबाटै राम्रो निर्णय हुनुपर्ने बताउँछिन् । उनले सबैले आफ्नो अधिकारमात्रै नभएर जिम्मेवारी पनि छोड्न नहुने सुनाउँछिन् ।

‘हिमाल जोगाउन ८० प्रतिशत महिलाकै हात छ । तर, उनीहरुलाई नीतिगत निर्णय लिँदा कतै पनि सामेल बनाइँदैन । महिलाको पहिचानै राज्यले गर्न सकेको छैन’, फुटी भन्छिन्, ‘हिमाल बचाउने इस्युका नीतिगत निर्णय लिँदा महिला र त्यसमा पनि हिमालसँगै जोडिएकाहरु समेटिनुपर्छ ।’

महोत्सवको अन्तिम दिन आइतबार संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा राखेको नारा ‘वुमन मुभ माउन्टेन’ शीर्षकमा पनि अन्तर्क्रिया भएको थियो । विभिन्न कलेजमा पर्यटनसँग सम्बन्धित महिला विद्यार्थीलाई समावेश गरेर उक्त छलफल चलाइएको थियो ।

अन्तर्क्रियामा वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले विचार राखेका थिए । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताइन् ।

‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ र फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्’, सुरुनाले भनिन्, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?