+
+
ह्याप्पी एनिभर्सरी डियर :

यो समाजमा तिमी र म कसरी प्रेमिल जोडी बनिरहने होला ?

डा. सविता पौडेल डा. सविता पौडेल
२०७९ मंसिर २६ गते १४:३०

प्रिय, बाह्र वर्ष भएछ बिहे भएको । बिहे भनेको के हो भन्ने नै राम्रोसँग नबुझिकन सुरु भएको हाम्रो सम्बन्धले बाह्र वसन्त पार गरिसकेछ । प्रेम सम्बन्धमा रहँदा विवाह छिट्टै गर्न पाएँ हुन्थ्यो भन्ने हुँदो रहेछ । किनकि यो नै अन्तिम सत्य हो जस्तो लाग्दो रहेछ ।

तर बिहेले सँगै लिएर आउने धेरै आयाम र अवस्थाको बारेमा हामी नेपाली महिला र पुरुषलाई पनि खासै थाहा नहुँदो रहेछ वा भनौं हामीले सिकेका हुँदा रहेनछौं । हाम्रो वैवाहिक वर्षगाँठ नजिकिंदै गर्दा मलाई लाग्यो कि म खाली तिम्रो र मेरो प्रेम र सम्बन्धको मात्र चर्चा गर्नेछु । तर जति जति मैले तिमीलाई र मलाई मात्र सम्झिन खोजें, धेरैपटक हाम्रो सम्बन्ध घेरिएको पाएँ ।

समाज र आफन्तले गर्ने नानाथरीको विश्लेषण, नचाहिएको सल्लाह र नियन्त्रणले तिमी र मलाई ‘हामी’ बन्न नदिंदो रहेछ । बेलाबेला प्रश्न गर्छु आफैंलाई तिम्रो र मेरो जीवन त ‘हाम्रो’ मात्र हुनुपर्ने होइन र ? तिम्रा र मेरा निर्णय, चाहना किन ‘हाम्रो’ मात्र नबनी ‘सबैको’ बन्न जरुरी छ ?  हो, धेरैलाई साक्षी राखेर बिहे गरेको हो, तर बिहे त तिमीले र मैले मात्र गरेको होइन र ?  किन हाम्रा आकांक्षाहरु सबैले प्रमाणीकरण गर्न जरुरी छ ? तिमी मेरो निकै नजिकको मान्छे हो जसले मलाई धेरै बुझेका छौ । मेरो हाँसो, खुसी, रोदन, सफलता, विफलता सबैमा साथ दिएका छौं ।

साँच्चै भन्नुपर्दा जीवनको गोरेटोमा हरेक दिन म तिमीसँगै हिंड्न रुचाउँछु र तिमीसँगै हरेक पल हुर्किन चाहन्छु । तिमीजत्तिको जीवनसाथी कमै भेटिन्छन् र मलाई अर्को कल्पना पनि गर्नु छैन । मलाई तिमीसँगै हाम्रो जिन्दगीको निर्णय गर्न मन छ र हाम्रो आफ्नै इच्छामा जीवन चलाउनु छ । तिमी र मबीचको सम्बन्ध प्रगाढ र समुद्र झैं विशाल होस् जस्तो लाग्छ । समाजका विभिन्न कुसंस्कारले हामीलाई एकअर्काप्रति समर्पित हुनबाट नरोकोस् जस्तो लाग्छ ।

तिमीलाई समाजको अगाडि मैले जे भनेर सम्बोधन गर्न मन लाग्छ त्यही भन्न पाउँ जस्तो लाग्छ । मैले ‘तिमीलाई’ तिमी नै पो भन्न किन नपाउने ? तिमी त मेरो साथी हो अझ त्यसमा पनि जीवनसाथी, तर तिमी त मभन्दा सम्मानित रे, तिमीलाई त सधैं ठूलो ठान्नुपर्ने रे । हेर त, यो विचारले तिमीलाई र मलाई  हानि पुर्‍यायो कि फाइदा ? आफूले ठूलो मान्नुपर्ने  मानिससँग एउटै कोठामा र एउटै बिस्तारामा म कसरी आफैंलाई समर्पित गर्न सक्छु ? सम्मान त मनदेखि आउने हो, मन मिले सबै मिल्छ । प्रेम त नबोल्नेले, नदेख्नेले पनि गरेका छन् । तिमी  र म जत्तिबेला पनि ओठ जोडेर बस्न रुचाउने जोडी सँगै एउटै थालबाट खान नमिल्ने रे, किनकि तिमीले मेरो जुठो खान हुँदैन रे । अहँ, मान्दिन कि तिमीले मेरो जुठो खाँदैनौ भनेर । तिमीले त मेरो हरेक रुचि, इच्छा, भावभंगीमा, विगत, वर्तमान, भविष्य, हाँसो, आँसु चाखेका छौ र तिम्रो हरेक अंगले स्पर्श गरेका छौ ।

यो समाजले तिमीलाई र मलाई हाम्रो बिहेको साक्षी बनेर हाम्रो प्रेमभावलाई अनुमोदन गरेको जस्तो लाग्छ । तीन सय जन्तीमा कम्तीमा पनि सय जनाको भाव त यही थियो होला । तर श्रीमती-श्रीमान अंकमाल गरेर बाटोमा हिंड्दा यो समाज तर्सन्छ, हात समाए कुरा काट्छ, अझ चुम्बन नै गरे त ‘छाडा’ को उपमा पाइन्छ । छड्के आँखा डुलाउने बाटोभरि भेटिन्छन् । माया कसरी देखाउने त ? माया पनि गर भन्ने र माया गरेको देख्दा टाढा भाग्ने र कर्के नजर लगाउने चरित्र समाजको छ । बाटोमा जिस्केर हिंडेको भन्दा बरु झगडा गरेकोलाई ‘यस्तै हो सबैको’ भन्दै सदर गरिदिन्छन् । यस्तो समाजमा तिमी र म कसरी प्रेमिल जोडी बनेर रहिरहने होला ?

कहिल्यै एकअर्काप्रति मीठो नबोल्ने बाआमालाई छोरी-ज्वाइँ र छोरा-बुहारीको सम्बन्ध बिग्रन्छ कि भन्ने बडो चिन्ता हुन्छ । वर्षौंसम्म सँगै  एउटै कोठामा नसुतेका काका-काकीलाई छोरी माइतीमा धेरै बस्दा या बुहारी माइत जाँदा चिसो पस्छ । प्रेम त हामीले घरबाट नै सिक्ने हो, सिकाउने हो । हाम्रा अग्रजहरुको व्यवहार नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा बन्छ । तर यो समाज मायाको लागि खुल्ला र उदार छैन ।  बरु यहाँ झगडा, हिंसा, भनाभन, बोलचाल बन्द, अनैतिक सम्बन्धलाई सामान्य मानिन्छ र यस्तै त हो जताततै भनेर सामान्यीकरण गर्ने प्रवृत्ति छ ।

यो समाजलाई प्रेमिल बनाउने हो भने तिम्रो र मेरो जोडी भिन्नै हुनुपर्छ । तिमीले र मैले हाम्रो सम्बन्धलाई सबैभन्दा माथि राख्नुपर्छ । तिमी र ममा एकअर्काप्रति अगाध झुकाव, निष्ठा, समर्पण, प्रतिबद्धता, विश्वास र इमान्दारिता जरुरी हुन्छ । तिमी र म एकअर्काको आँखामा सधैं डुब्नुपर्छ, चाहे कसैले त्यो मन पराओस् या नपराओस् । तिमीले र मैले एकअर्काको विचारलाई सुन्ने, बुझ्ने र  प्रमाणीकरण गर्ने गर्नुपर्छ चाहे कसैले जोइटिङ्ग्रे भनोस् या पोइटिङ्ग्रे । मैले र तिमीले यति हिम्मत गर्ने पर्छ नत्र हाम्रो छोरा पनि मायासँग डराउँछ, उसलाई पनि माया भन्दा घृणा सामान्य लाग्न सक्नेछ ।

मलाई थाहा छ तिमीलाई आपत्ति थिएन तर तिमी एकपटक झस्किएका थियौ । जब छोराको नाममा मैले आफ्नो थर जोड्छु भनेको थिएँ । तिमीलाई यी सबै कुराको त्यति धेरै पर्वाह त छैन तर तिमीलाई यो समाजको आलोचनाको डर छ । तिमीलाई म दोष दिन चाहन्न किनकि तिमी हुर्किएको समाज यही हो र यसका अवयवहरुले तिमीलाई नछुने कुरा भएन । तिमीले यो समाजको चासोभन्दा मेरो भावनामा कस्तो चोट पुग्छ भनेर प्राथमिकताका साथ सोचेको दिन मेरो लागि साँच्चै वैवाहिक वर्षगाँठ अमूल्य उपहार हुनेछ ।

मलाई थाहा छ तिमी मलाई अथाह प्रेम गर्छौ । तिमी मलाई यो उपहार पक्कै दिनेछौ । ह्याप्पी एनिभर्सरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?