+
+

गोरखाको ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक राखिने, दैनिक सलामी दिइने

विकास मरहट्टा विकास मरहट्टा
२०७९ मंसिर २६ गते १३:३०
ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक राखेको स्केच ।

२६ मंसिर, गोरखा । गोरखा नगरपालिकाले सदरमुकामको पुरानो बजार ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको शालिक राखिने भएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइ र अवधारणा अनुसार ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक बनाउने तयारी छ । शालिकसँगै नेपालको नक्सा अंकित मोनोग्राम र नेपालको झण्डा पनि राख्न २१ लाख रुपैयाँ लाग्ने नगरपालिकाको अनुमान छ ।

शालिक निर्माणपछि प्रत्येक दिन पृथ्वीनारायण शाहकालीन पोशाक तथा हतियारमा नेपाली सेनाको शार्दुलजंग गुल्मको ११ जनाको टोलीले ‘राष्ट्र निर्माता सलामी’ अर्पण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए ।

‘हरेक दिन बिहान सूर्याेदय र सर्यास्तको समयमा राष्ट्र निर्मातालाई सलामी अर्पण हुन्छ’, उनले भने, ‘रानीपोखरी नजिक रहेको हाम्रो व्यारेकबाट मार्चपाससहित टोली ठूलोआँगन आउँछ, सलामी अर्पण गर्छ अनि त्यही बाटो मार्चपास गर्दै फर्कन्छ ।’

सलामी अर्पणको समयमा बिगुलमार्फत बिजयी ध्वनि बजाइने र माइक जडान गरेर ठूलोआँगनमा सुनिने व्यवस्था मिलाउने सेनाले बताएको छ ।

शालिक निर्माण र नेपाली सेनाको मार्चपाससहितको राष्ट्र निर्माता सलामीले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर बताउँछन् ।

‘इतिहासको जगेर्ना पनि हुन्छ र पर्यटकको गोरखा बसाइ लम्ब्याउन पनि सकिन्छ भन्ने अपेक्षा छ, यसले समग्र जिल्लाबासीलाई नै फाइदा पुग्छ’, उनले भने ।

तर ठूलोआँगन क्षेत्रका वासिन्दाले भने यो निर्णयको विरोध गरेका छन् । पृथ्वीनारायण शाहको शालिक राख्ने विषय स्वागतयोग्य भए पनि ठाउँ छनोट गलत भएको ठूलोआँगन क्षेत्रकै बासिन्दा नारायणभक्त अर्याल बताउँछन् । ‘राजाको शालिक राख्ने कुरामा कुनै विरोध होइन,’ ८७ वर्षका अर्याल भन्छन्, ‘तर ठुलोआँगनको बीच भागमा राख्नु उचित हुदैन ।’

सो ठाउँमा शालिक निर्माण गर्दा ठूलोआँगन थप साँघुरो हुने र गोरखाको पुरानो बजारको इतिहास समेत मेटिने भन्दै उनले चिन्ता व्यक्त गरे । ठूलोआँगनसँगै रहेको गोरखा संग्रहालय परिसरमै शालिक राख्नु उचित हुने उनको भनाइ छ ।

स्थानीय विश्वदेव श्रेष्ठले शालिक राख्ने ठाउँ छनोटमा असन्तुष्टि जनाए । ‘आँगनको बीच भागमा भन्दा संग्रहालय गेट नजिकको पोलमा बनाएको भए ठीक हुन्थ्यो ।’
जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ भने ठूलोआँगनको बीच भागमै शालिक राख्नु उपयुक्त हुने बताउँछन् । ‘बीच भागमा राख्दा जति बजारको शो आउँछ, अन्यत्र राखेर आउदैन’, उनले भने, ‘भित्तामा टाँसेर राख्ने हो भने शालिक राख्नुको के अर्थ !’

काठमाडौंको सिंहदरबार अगाडिको पृथ्वी शालिक, महाराजगञ्जमा रहेको नारायणगोपालको शालिक र दरबारमार्गमा रहेको महेन्द्र शालिक पनि सडकको बीचमा रहेको उनले उदाहरण दिए ।

नगरपालिकाले ठूलोआँगनको बीचमा शालिक राख्ने र सो क्षेत्रमा सवारी साधन निषेध गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएपछि स्थानीय वासिन्दाले आफूहरुसँग छलफल नगरी निर्णय गरेको भन्दै विरोध जनाएका थिए ।

चर्काे आलोचना र विरोधपछि अन्ततः वैकल्पिक बाटो हुँदासम्म सो क्षेत्रमा सवारी आवागमन नरोक्ने निर्णय भएको छ । बरु ठूलोआँगन क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने निर्णय समेत भएको छ ।

शुक्रबार गोरखा नगरपालिकामा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले ठूलोआँगनकै बीच भागमै शालिक बनाउने निर्णय भएपछि सोमबारदेखि शालिक राख्ने काम पनि सुरु भएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?