+
+

वीरगञ्जमा संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारणको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते २०:२६

२६ मंसिर, वीरगञ्ज। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले वीरगञ्ज महानगरको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण नियम विपरीत रहेको भन्‍दै आपत्ति जनाएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्तर तथा शुल्क निर्धारणप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

एनप्याब्सन पर्साका अध्यक्ष राम कुमार श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै संस्थागत विद्यालयको स्तर तथा र शुल्क निर्धारण विधि नियम र प्रकृया पुरा नभई गरेको बताएका छन् ।

महानगरले संघीय शिक्षा नियमावली र वीरगञ्ज महानगरको शिक्षा नियमावली अनुसार आवेदन दिएका ५८ वटा संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको थियो ।
क वर्गमा परेका ६ वटा विद्यालय सहित सबै विद्यालयका स्तर तथा शुल्क सहितको विवरण उसले सार्वजनिक गरेको थियो ।

महानगरको शिक्षा नियमावली दफा नं. ९७ को (क) मा सस्थांगत विद्यालयले लिने शुल्कका लागि सघिंय तथा प्रदेश कानुनले तोकेको मापदण्ड बमेजिम सम्बन्धित बिधालयले शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना अगावै आफ्नो विद्यालयको शुल्क खुलाई आउने शैक्षिक सत्रको निम्ति शिक्षा शाखामा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । तसर्थ शुल्क निर्धारण आउने शैक्षिक सत्रका लागि गर्नुपर्ने एन प्याब्सनको तर्क छ ।

महानगरले गरेको स्तर तथा शुल्क निर्धारण चालु शैक्षिक सत्रको जेठ १ गतेबाट नै लागु हुने भनिएको छ । मंसिर २१ गते महानगरले सार्वजनिक गरेको सूचनामा विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समितिले कामय गरेको शुल्कको आधारमा शैक्षिक सत्र २०७९ को जेष्ठ १ गतेदेखि लागु हुने गरि शुल्क समायोजन गर्नुपर्ने उल्लेख छ ।

महानगरले स्तर तथा शुल्क निर्धारणबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले पनि संस्थागत विद्यालयले चालु शैक्षिक सत्रको जेठदेखिकै शुल्क समायोजन गर्नुपर्ने बताएका थिए । उनले आगामी शैक्षिक सत्रका लागि फागुनदेखि नै स्तर तथा शुल्क निर्धारणको प्रक्रिया थाल्ने जानकारी गराएका थिए ।

चालु शैक्षिकसत्रदेखि नयाँ शुल्क लागु गराउँदा विद्यालय र अभिभावकबीच द्वन्द उत्पन्न हुने एनप्याब्सनको ठहर छ । ‘ विद्यालयले शुल्क उठाएर तिर्नुपर्ने शिर्षकमा तिरेर आयब्यय बनाएर कर समेत तिरिसकेको अवस्थामा यो लागू गर्ने कुरा व्यवहारिक देखिदैंन । यसले विद्यालयमा द्वन्द निम्त्याउने अवस्था रहेको छ ।’ एनप्याब्सन पर्साका अध्यक्ष रामराजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शिक्षा नियमावलीमा संस्थागत विद्यालयले पालना गर्नुपर्ने मापदण्ड, गुणस्तर, शुल्क प्रावधान जस्ता विषयमा निर्णय गर्दा सस्थांगत विद्यालयको सहभागिता एवं राय परामर्श लिई निर्णय गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई वेवास्ता गरिएको एनप्याब्सनको गुनासो छ ।

नियमावलीको दफा ९७ को ‘ग’ मा संस्थागत विद्यालयको प्रतिनीधिमूलक संस्था मध्येबाट एक जना राख्ने व्यवस्था भएपनि विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समितिमा त्यस्तो प्रतिनीधित्व नरहेको विज्ञप्तीमा उल्लेख छ ।

‘ समितिमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्यब्सन) र नीजि तथा आवासीय विद्यालय एशोसियसन प्याब्सनको प्रतिनीधित्व गराईएको छैन । जो आफैंमा विधि र नियमसँगत छैन ।’

विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सनको सहभागिता बिना, परामर्श समेत नलिई गरिएको विद्यालय वर्गीकरण र शुल्क निर्धारण कार्यान्वयन गर्न अव्यवहारिक रहेको भन्दै विज्ञप्तीमा विधि, नियम र पक्रियासँगत तरिकाले स्तर तथा शुल्क निर्धारण गर्न माग गरिएको छ ।

यस्तै महानगरले गरेको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण प्रति अभिभावक संघले पनि विरोध जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अभिभावक संघले मापदण्ड विपरित संस्थागत विद्यालयको वर्गीकरण गरि शुल्क तोकेको दावी गरेको छ । संघले उठाएको १४ बुँदे मागलाई वेवास्ता गर्दै विद्यालयको स्तर तथा शुल्क निर्धारण गरिएको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?