+
+

राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति बनाउने कुरा सोच्न सकिंदैन : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १५:५५

१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ थियो ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहींकतै पनि कुरा नउठेको पटकपटक दोहोर्‍याए ।

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ, आइराखेको छ’ उनले भने, ‘अब सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन । किनभने अहिलेसम्मको विकासको यात्राले के चाहिं आत्मसात् गर्दै आएको हो भने अब मुलुकको अगुवाइ दलहरुले गर्नुपर्छ । ‘

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गरे । महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दावी रहेको पनि बताए । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?