 
																			२ पुस, काठमाडौं । पत्रकारको एकाउन्ट बन्द गर्ने ट्वीटरको निर्णयको संयुक्त राष्ट्र संघले विरोध गरेको छ । ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका केही पत्रकारको एकाउन्ट बन्द गरेपछि यसअघि युरोपियन युनियनले विरोध गरेको थियो ।
संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना’ नभएको प्रतिक्रिया दिएको छ । युरोपेली संघले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।
ट्वीटरका प्रवक्ताले भने अमेरिकी समाचार वेबसाइटमा कार्यरत पत्रकारको लोकेशन डाटाको लाइभ आदानप्रदानका लागि ट्विटर खाता निलम्बन गरिएको बताएका छन् ।
संयुक्त राष्ट्र संघमा ग्लोबल कम्युनिकेसन उप-महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले गरिएको निलम्बनबाट गहिरो चिन्ता बढाएको बताएकी छिन् ।
‘मिडिया स्वतन्त्रता खेलौना होइन । स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र यसले हानिकारक विकृति विरुद्धको लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।
यसअघि शुक्रबार युरोपेली युनियन कमिसनरले ट्विटरलाई युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
उनले यस ऐनअन्तर्गत ‘मिडियाको स्वतन्त्रता र आधारभूत अधिकारको सम्मान आवश्यक’ रहेको बताए । उनले भने, ‘एलोन मस्कलाई यसको बारेमा थाहा हुनुपर्छ।’
मस्कले यसको घुमाउरो जवाफ दिँदै भनेका छन्, ‘दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक स्थानको बारेमा बताउन र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन।’
लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई मस्कले यस्तो काम नगर्न आग्रह गरेका छन् ।
सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको बारेमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रदान गर्ने कार्य ‘डक्सिङ’ हो र यसबाट भौतिक सुरक्षा उल्लङ्घन’ हुने मस्कको तर्क छ । उनले ‘माइक्रोब्लगिङ साइट’मा साइबर सुरक्षा बढाउनुपर्ने आफ्नो अडान स्पष्ट पार्दै प्रयोगकर्तासँग उक्त आग्रह गरेका छन् । ‘माइक्रोब्लग’ भनेको छोटो रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण हुने सन्देश हो । यसले प्रयोगकर्ताहरूलाई एकल वाक्यहरू, व्यक्तिगत छविहरू, वा भिडियो लिङ्कहरू जस्ता सामग्रीका साना अंशहरू आदानप्रदान गर्न अनुमति दिन्छ ।
मस्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा भनेका छन्, ‘डक्सिङमा संलग्न एकाउन्टहरू अर्थात् विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिनेछ ।’
‘कुनै पनि एकाउन्टले कसैको बारेमा वास्तविक–समय स्थानबारे जानकारी दिएमा उसको एकाउन्टलाई रोक्का गरिनेछ, किनकि यो भौतिक सुरक्षा उल्लङ्घन हो । यसमा वास्तविक समय र स्थानबारेमा आउने जानकारी भएका साइटहरूको पोस्ट लिङ्क गर्नु पनि समावेश रहनेछ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4