
२ पुस, काठमाडौं । राजनीतिक अगुवाहरूनेपालमा प्रगतिशील वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि छलफल गरेका छन् ।
काठमाडौंको रानीवनमा शुक्रबार सुरु भएको दुई दिने भेलाको उद्देश्य मूलधारका आम पार्टीभन्दा फरक ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने रहेको छ । ‘नेपालमा एउटा गम्भीर र फरक एजेन्डा भएको प्रगतिशील वैकल्पिक लोकतान्त्रिक दल जरुरी छ,’ उक्त समूहको केन्द्रीय संयोजन समितिका सदस्य डम्बर खतिवडाले भने, ‘यो आवश्यक राष्ट्रिय स्वतन्त्र पार्टीले पूरा गर्ने ग्यारेन्टी नभएको भेलाको निष्कर्ष रह्यो ।’
डा. बाबुराम भट्टराई लगायतका नेता पुरानै पार्टीमा फर्किएसँगै वैकल्पिक राजनीतिको स्पेस खाली भएको उक्त समूहले निष्कर्ष निकालेको छ ।
दुई दिने बैठकमा ७ वटै प्रदेशका ४२ जिल्लाबाट ११५ राजनीतिक अगुवा सहभागी भएको खतिवडाले जानकारी दिए । बैठकले डम्बर खतिवडा, प्रशान्त सिंह र अशोक श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय केन्द्रीय संयोजन समिति र मदन राई र वीरेन्द्र पोखरेल सदस्य रहेको केन्द्रीय पथप्रदर्शक समिति बनाएको छ ।
बैठकले चैत्रसम्मका लागि चार महिने कार्ययोजना बनाउँदै यसबीचमा १० हजार मानिसलाई ३ दिने प्रशिक्षण दिइसक्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । यसका लागि १६ वटा कार्यदल गठन गरिएको छ । जसमा ८ वटा भौगोलिक र ८ वटा नीतिगत खालका छन् ।
‘७ प्रदेश र प्रवासमा संगठन विस्तार गर्न ८ वटा कार्यदल र विभिन्न नीतिगत काम गर्न अन्य ८ कार्यदल गठन गरिएको छ,’ खतिवडाले भने, ‘नीतिगत कार्यदलहरूमा राजनीतिक घोषणापत्र, विधान, प्रचार तथा प्रकाशन, प्रशिक्षण विषय र सामग्री निर्धारण, आन्दोलनका सवालहरू पहिचान, आर्थिक, राजनीतिक संवाद र कार्यालय कार्यदल बनाइएको छ ।’
यी कार्यदलमा कोही पनि संयोजक नरहेको र सदस्यहरूले मिलेर काम गर्ने उनले जानकारी दिए ।
भेलामा साझा पार्टीको राजनीतिक अनुभव सुनाउन मुमाराम खनाल, मधेसी धारको अनुभव सुनाउन केशव झा र विवेकशील धारको अनुभव सुनाउन अजिता राईलाई समय दिइएको खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया 4