+
+

मानवअधिकार चलचित्र महोत्सव सुरु, हिमाल पग्लिएको कथाबारेको फिल्म प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १७:२३

काठमाडौं । सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औं संस्करण शुक्रबार सुरू भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको महोत्सव यही पुस ६ गतेसम्म चल्नेछ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले फेस्टिभल शुभारम्भ गरे ।

त्यस अवसरमा बोल्दै उनले पछाडि पारिएका, दूरदराजमा बस्ने र सीमान्तकृत मानिसलाई मानवअधिकारबारे बुझाउनु जरुरी रहेको बताए । मानवअधिकार सम्बन्धी सन्धिलाई तल्लो तहसम्म पुर्‍याउन जरुरी रहेको उनको भनाइ छ ।

फिल्मले मानवअधिकारबाट बञ्चित मानिसलाई अधिकारबारे जानकारी दिन भूमिका खेल्ने बताए । आयोगले पनि केही छोटो फिल्म बनाएर अधिकारबारेका सन्देश प्रवाह गर्न खोजेको उनले बताए ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना भएको महोत्सव शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ प्रिमियरसँगै सुरु हुनेछ । समापन समारोहमा भने दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ ।

नेपालसहित २५ देशका ६४ फिल्म र डकुमेन्ट्री देखाइने छ । नेपाली निर्देशक अविनाशविक्रम शाह, भारतीय लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, दक्षिण कोरियाका मानवअधिकार अभियन्ता सु–ली दिलबर र इजरायली निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।

उत्कृष्ट फिल्मलाई नगदसहित अवार्ड प्रदान गरिने छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ । महोत्सव निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी फिल्म निर्माण शैली, कथा छनोट, वाचन, पात्र चयन र अभिनयबारे सिकाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?