+
+

पारिवारिक एकताले दरिएको एम्बाप्पेको फुटबल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १८:०७

३ पुस, काठमाडौं ।  जारी विश्वकप २०२२ को फाइनल खेलमा फ्रान्सका २३ वर्षीय केलियन एम्बाप्पेले एक रेकर्ड बनाउन चाहन्छन् । लुसेल स्टेडियममा अर्जेन्टिनाविरुद्धको फाइनल जितेको खण्डमा उनी लगातार दुई पटक विश्वकप जित्ने युवा खेलाडी हुनेछन् । १९६२ मा पेलेले २१ वर्षको उमेरमा यो रेकर्ड बनाएका थिए ।

जारी प्रतियोगितामा पाँच गोल सहित एम्बाप्पेले मेस्सीसँग बराबरी गरिरहेका छन् । गत संस्करणमा ४ गोल गरेका एम्बाप्पेले विश्वकपमा नौ गोल गरिसकेका छन् । यसका साथै उनी विश्वकपमा सर्वाधिक गोलकर्ताको १५ औं स्थानमा छन् ।

फ्रान्सको इतिहासमा विश्वकपमा सर्वाधिक गोल गर्ने जस्ट फोन्टेन छन् । १९५८ को एउटै विश्वकपमा १३ गोल गरेका फोन्टेनको रेकर्डलाई तोड्नसक्ने खेलाडी भएर निस्किएका छन् केलियन एम्बाप्पे ।

केलियन एम्बाप्पेको फुटबल प्रेम बुझ्नको लागि भने केही पछाडि फर्किनुपर्ने हुन्छ ।

फ्रान्सका जर्सी नम्बर १०, केलियनको जन्म पेरिसको सानो शहर बोन्डीमा भएको थियो । उनका बुवा विल्फ्रेड, आमा फेजा, धर्मसन्तानका रुपमा उनका आमाबुवाले पालेका दाजु जाइर्स केम्बो एकोको बस्थे । केलियनका एक भाइ पनि छन् । केलियनको जन्मपश्चात भने एम्बाप्पे दम्पतीले अर्को सन्तानको रुपमा एथेन एम्बाप्पेलाई जन्माए । उनी हाल १५ वर्षका भए ।

केलियन सानैदेखि घण्टौंसम्म साथीहरुसँग फुटबल खेल्थे ।

उनका पिता विल्फ्रेड घरेलु क्लबमा फुटबल प्रशिक्षकको रुपमा काम गर्थे । उनले पेरिसका साना घरेलु क्लबहरुमा काम गर्दै राम्रो नाम कमाएका थिए ।

केलियनमा पनि फुटबल बाहेक अन्य कुनै कुराको लगाव नै भएन । उनी जसरी हुन्छ बल हान्ने र बुवाको टिमसँगै रहन चाहन्थे । परिवार नै फुटबलमय थियो । उनका धर्मदाजु पनि फुटबल खेल्थे । परिवारमा फुटबल एकदम नियमित विषय बन्न थाल्यो, चाहे त्यो टेलिभिजनमा हेर्न होस् वा प्रतिस्पर्धात्मक रुपमा साथीसँग खेल्न, स्कुलमा जसरी हुन्छ उनी फुटबलमै रमाउन थाले ।

एम्बाप्पेलाई फुटबलको लत बसिसकेको थियो । उनी फुटबलसँगै रमाउँथे, फुटबलसँगै बाँच्थे र सुत्थे । सानोमा उनको सुत्ने कोठाको भित्ताभरी क्रिस्टियानो रोनाल्डोको फोटो हुन्थ्यो । रोनाल्डो उनका फुटबल आइडल थिए । सामाजिक सञ्जालमा देखिएका केही फोटोमा पनि उनका भित्ताभरी रोनाल्डोको फोटो थियो ।

उनी सुरुवातदेखि नै फुटबल बाहेक अन्त लागेनन् । उनलाई भन्नुपर्दा ‘गड गिफ्टेड’ खेलाडी भन्न सकिन्छ । १० वर्षको उमेरमा पेरिसमा बोन्डीका यी उत्कृष्ट खेलाडीको चर्चा सुरु भइसकेको थियो ।

उनको चर्चा फ्रान्सको राजधानीसम्म मात्र होइन, लगभग हरेक लिग क्लबको साथसाथै सबै ठूलो युरोपियन टिमम उनको खेलको चर्चा पुगेको थियो ।

एम्बाप्पेको परिवार भने उनलाई केही वर्ष फ्रान्समा नै राख्न चाहन्थे । उनका परिवार उनलाई उत्कृष्ट प्रतिस्पर्धीको सामना गरेको हेर्न चाहन्थे ।

सन् २०१८ मा विश्वकप जितेपछि ट्रफीसँग एम्बाप्पे ।

उनले ११ वर्षको उमेरमा चेल्सीमा गई एकहप्ता प्रशिक्षण लिए । रियल मड्रिडमा १२ वर्षको उमेरमा प्रशिक्षण लिने मौका पाए । यी दुवै क्लबले उनको परिवारलाई पनि सुविधा दिने गरि लन्डन वा स्पेनमा सेटल हुन निकै मनाए तर उनको परिवार मानेन ।

उनको पिताले केलियनको परीक्षण गरेका थिए । जसमा उनी सफल सावित भए । उनी सानै उमेरमा पेरिसको युवा खेलाडीको रुपमा चर्चित हुन थाले ।

सयौं खेलाडीहरु मध्येबाट १३ वर्षीय समुहमा छनोट भई २ वर्ष एकेडेमीमा नै बसेर प्रशिक्षण लिए । सप्ताहको अन्त्यमा उनी घरेलु क्लबहरुमा खेल्थे ।

२ वर्ष क्लेयरफोन्टाइनमा प्रशिक्षण लागिरहे । उनका लागि क्लबहरु किन्नका लागि आतुर देखिए पनि त्यतिबेला उनी हतारिएनन् ।

१५ वर्षका एम्बाप्पे एक उत्कृष्ट खेलाडी भएर निस्किएका थिए । उनलाई फुटबलको लत लागेको थियो । फुटबलप्रतिको उनको लगाव असाधारण नै थियो ।

मोनाको एकेडेमीमा फुटबल विकास गरिरहेका एम्बाप्पेले आफ्नो आइडल रोनाल्डोले जस्तै च्याम्पियन्स लिग खेल्ने क्लबबाट डेब्यु गर्ने सोच बनाए ।

उनले आफ्नो सपना पछ्याउँदै गर्दा उनको सफलताका सुत्रधार रहेका उनका परिवारको महत्व पनि बुझ्न जरुरी थियो ।

एम्बाप्पेको लागि उनको परिवार मोनाकोमा रहन थाल्यो । एम्बाप्पे प्रशिक्षण उत्कृष्ट हुँदा पनि उनले मौका नपाउँदा उनको परिवारको त्यसको विरोध गरे ।

२०१५ डिसेम्बरमा उनले खेलमा मौका पाए । प्रशिक्षक लियोनार्दो जार्डिमले उनलाई मौका दिए । १६ वर्ष ३४७ दिनको उमेरमा उनले मोनाकोबाट खेल्ने युवा खेलाडीको रेकर्ड आफ्नो नाममा बनाए । उनले थिएरी हेनरीको रेकर्डलाई पछि पारेका थिए ।

२०१६ को फेब्रुवरीमा १७ वर्ष ६२ दिनमा उनले ट्रोयसविरुद्ध गोल गर्दै हेनरीको रेकर्ड पुन तोडे ।

त्यसपछि उनले २०१७ मार्च २५ मा स्पेनविरुद्ध पहिलो पटक फ्रान्सका लागि खेले । उनले १८ वर्ष ९५ दिनमा पहिलो पटक फ्रान्सको लागि अन्तर्राष्ट्रिय गोल गरे ।

स्पेनिस क्लब रियल मड्रिडले उनलाई आवद्ध गर्न सक्दो प्रयास गरे पनि सकेन । उनको प्रेरणापात्र रहेका रोनाल्डोले पनि उनलाई फकाए तर उनी मड्रिडमा जान मानेनन् ।

एम्बाप्पे २०१७ मा पीएसजीमा आवद्ध भए । उनी १३० मिलियन पाउण्डमा पीएसजीमा रहिरहेका छन् । उनको आवद्धतामा पीएसजीले एउटा लिग उपाधि पनि जित्यो ।

उनलाई विश्वकपको फाइनलमा फ्रान्सका मुख्य खेलाडीको रुपमा हेरिएको छ । उनी विश्वकप फाइनलको २ दिन पश्चात २४ वर्षको हुनेछन् ।

२०१८ मा विश्वकप जितिसकेका एम्बाप्पेको लागि सबैभन्दा महत्वपूर्ण उनको फुटबल मोह हो, जुन बच्चाबेलादेखि नै उनको खुटटाले छानेको खेल थियो ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?