+
+

प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै गरेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १२:४६

४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम कहिल्यै नगरको बताएका छन् ।

प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गर्नका लागि माओवादी केन्द्र संवादमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ सरकार गठनका लागि शीर्ष नेताहरुबीच छलफल चलिरहेका प्रचण्ड चितवन पुगेका छन् । चितवनमा पत्रकाहरुसँग कुरा गर्दै प्रचण्डले सत्ता गठबन्धनकै बीचमा छलफल चलिरहेको र सत्ता गठबन्धनबाटै सरकार बन्ने विश्वास व्यक्त गरे ।

एमाले नेताहरुसँग संवाद भइरहेको स्वीकारेका प्रचण्डले एमालेसहितका दलहरुसँग चुनावी परिणामपछि भएको भेट र संवादलाई स्वभाविक रुपमा लिन आग्रह गरे ।

चर्चा गरिए जस्तो एमालेसँग गठबन्धन गर्ने विषयमा छलफल केन्द्रित नभएको उनको दाबी छ । चितवनमा पत्रकारहरुसँग प्रचण्डले गरेको कुराकानीको सम्पादित अंश :

सत्ता गठबन्धनबाट प्रधानमन्त्री को हो ?

यो विषयमा राजनीतिक दलहरुका बीचमा छलफल चलिराखेको छ । ७ दिनको समय राष्ट्रपतिबाट प्राप्त भएको छ । हामी गठबन्धन बस्छौं रगठबन्धनबाट सजिलै निर्णय हुन्छ । अहिले टुंगो लागेको छैन् ।

प्रधानमन्त्रीका लागि तपाईंले दाबी गर्नु भएको कुरा आएको सुनिएको छ नि ?

मैले देशको नेतृत्व गर्ने अवसर पाएँ भने जिम्मेवारी लिने कुरा त गरेको छु । तर, तपाईंहरुले सुने जस्तो गठबन्धनभित्र औपचारिक दाबी भएको छैन ।

मिलेसम्म गठबन्धन, नभए एमालेसँग मिलेर भए पनि तपाईं प्रधानमन्त्री बन्ने भन्ने हो ?

यो कुरा जसरी जसरी बाहिर प्रचार भएको छ । त्यस्तो स्थिति होइन । स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलहरुको बीचमा, नेताहरुको बीचमा छलफल चलेको छ । नयाँ आएका पार्टीहरुसँग पनि छलफल चलेको छ ।

तर, मैले सँधै भन्ने गरेको छु – प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम मैले कहिल्यै पनि गरेको छैन् ।

गठबन्धनको निम्ति, संविधानको निम्ति वा निर्वाचनको निम्ति मैले धेरै नेताहरुलाई प्रधानमन्त्री प्रस्ताव चाहीँ गरेको छु । आफैँ प्रधानमन्त्री भनेको होइन । जिम्मेवारी आयो भने जिम्मेवारी लिने हो ।

एमालेसँग सहकार्यबारे…

एमालेसँग कुराकानी सबैको भइराखेको छ । गठबन्धनका सबै दलहरुको कुराकानी भइराखेको छ । कांग्रेस र एमालेको पनि कुरा भएको छ । अरु पार्टीहरुसँग पनि कुरा भइराखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुरा भइराखेको छ ।

यहाँलाई पाँच वर्ष प्रधानमन्त्री दिएर पार्टी एकतासम्मको कुरा बाहिर आएको छ नि ?

बाहिर जसरी आएको छ, त्यसरी हाम्रो औपचारिक र आधिकारिक रुपमा कुरा भएको छैन् ।
सरकार गठन हुनु अगाडि नै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको छ ।

यो कुरा कसरी आयो ?

यो कुरा बास्तवमा कतिपय व्यक्तिहरुले, खासगरि बुद्धिजिवीहरुबाट त्यस्तो कुनै व्यक्तित्व भयो भने राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने सुझाव आएको हो । हामीले गठबन्ध्ानभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो बिषयमा चर्चा भएको पनि होइन । र, त्यो अहिले सम्भव पनि छैन ।

‘पावर सेयरिङ’ कसरी गर्दै हुनुहुन्छ ?

पावर सेयरिङ मिलाउने कुरामा चाहिँ खासगरि राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामु र उपसभामुख तत्काल टुंग्याउनुपर्ने यसमा छ। हामीले गठबन्धनभित्र यी सबैलाई ‘प्याकेज’मै टुंगो लगाउने समझदारी बनाएका छौं ।

राष्ट्रपतिले सात दिनको समय दिनु भएको छ, त्यो समयभित्रै यी सबै टुंगिन्छ ?

त्यो ७ दिनभित्र नै यो कुरा हुन्छ ।

७ दिनमा तपाईंको बटमलाइन म प्रधानमन्त्री बन्छु भन्ने हो ?

माओवादी केन्द्रले बटमलाइन भनेर केही पनि कुरा भनेको छैन । सहमति र सझदारीबाट गर्ने कुरा गरेको छ । समझदारीबाट जिम्मेवारी आयो भने लने हुन्छ । अरु नै भयो भने अरु नै हुन सक्छ ।

निर्वाचनमा जानुअघि यो प्रधानमन्त्री बन्ने भनेर केही सहमति भएको थियो ?

त्यो पनि लिखित, औपचारिक केही पनि भएको थिएन । छलफल पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।

त्यो सहमति भएको हो ?

त्यो करिब करिब भएको समझदारी हो । अहिले पनि छ ।

नागरिक उन्मुक्ति पार्टीहरु खोज्दै हिड्ने तर, राष्ट्रिय स्वतन्त्र पार्टीलाई वास्तै गर्नु भएको छैन् भन्ने छ नि ?

यो कुरा गलत हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग यो बीचमा मेरो दुई/तीन पटक कुराकानी भैसक्या छ । छलफल चलिराख्या छ । सिके राउतको पार्टीसँग पनि कुरा भइराखया छ । रवि लामिछानेसँग पनि कुरा भइराखेकै छ । अझ मैले त अझ डिलीबजार कारागारमै गएर रेशम चौधरीलाई पनि भेटेको हो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पनि आफैंले राख्न खोज्यो भन्ने आइरहेको छ । यसबारे तपाईंको भनाइ के छ ?

बाहिर आएको कुरा सत्य होइन । राष्ट्रपति र प्रधानमन्त्री दुवै भनेर कांग्रेसले भनेको पनि मलाई थाहा छैन । प्रधानमन्त्रीजीसँग पनि लगातार भेट भइरहेको छ ।

यदि त्यो परिस्थिति आयो भने के हुन्छ ?

त्यस्तो हुँदैन मेरो विचारमा । गठबन्धनभित्र सहमति हुन्छ । हिजो नेपाली कांग्रेसको तर्फबाट तपाईंहरुले थाहा पाउनु भएकै छ, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भनेर उहाँहरुले निर्णय गर्नु भएको छ। औपचारिकरुपमा भनेको त्यति मात्रै छ । तर, उहाँहरुले त्यसरी भन्दै गर्दा गठबन्धनभित्र सहमति गर्नुपर्छ पनि भन्नु भएको छ।

अध्यादेशको कुरामा तपाईंको पनि सहमति हो ?

त्यसको बारेमा कुरा के हो भने नेपाल सरकारले विगतमा मधेश केन्द्रित दलहरुसँग पनि, विप्लव नेतृत्वको पार्टीसँग पनि, अरु दलहरुसँग पनि, थारु कल्याणकारिणीसँग पनि सहमति गरेको छ । ती सबै सहमतिलाई सम्बोधन गर्ने गरि सरकारले अध्यादेश ल्याएको हो । त्यो सामान्य प्रक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?