+
+
पुस्तक समीक्षा :

सापटी लिएको पैसा फिर्ता नगर्दा राजाले ताकेता पठाए

पंचायतको दिनमा राजा सर्वोपरि नै थिए। राजाले कसैलाई मन्त्री बनाउँदा त्यतिबेला नै राजिनामा पत्रमा समेत हस्ताक्षर गराउँथे।

मन्दीप भट्टराई मन्दीप भट्टराई
२०७९ पुष ४ गते १३:३१

२ वैशाख २०७२ मा नेपालका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भइसकेको छ। भर्खरै उनको आवाज रेकर्ड गरी सम्पादन पश्चात छापिएको उनको जीवनी ‘मेरा नौ दशक, सूर्यबहादुर थापा, पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री’ प्रकाशित भएको छ। उक्त पुस्तकमार्फत अनेक गुमनाम वा बाहिर नआएका कुराहरू सूर्यबहादुर थापाले खोलेका छन्। त्यस बखतका चर्चित व्यक्तित्वको बारेमा खुलेका नखुलेका पाटाहरूको बारेमा पुस्तकमा पढ्न पाइन्छ।

प्रधानमन्त्री भइसकेका डा. केआई सिंहले अदालतको अपहेलना मुद्दामा रु.१५१ तिर्नु पर्दा टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय र बखान सिंह गुरुङले जम्मा गरिदिएको जस्तो रोमाञ्चक प्रसंगहरूले पुस्तकलाई आकर्षक बनाएको छ। पुस्तकले पञ्चायत शासनको पक्षमा धेरै कुरा खुलासा गरेको छ।

पञ्चायतले गरेका नराम्रा कुराहरूको बारे समेत उनले उल्लेख गरेका छन्। पंचायतमा राजाको सक्रियता, राजाले त्यसबेलाका नेताहरूसँग गर्ने व्यवहार आदिको बारेमा महत्वपूर्ण कुराहरू यस पुस्तकमा पढ्न पाइन्छ। त्यसैमध्येमा तत्कालीन राजा महेन्द्रसँग रु.५ हजार सापटी मागेको र सो पैसा नतिर्दा दरबारले ताकेता गरेको प्रसंगको बारेमा यहाँ चर्चा गर्न लागिएको छ।

                                              मन्दीप भट्टराई

सूर्यबहादुर थापाले आवश्यकता परेर रु.५ हजार खोजेको कुरा गरिरहँदा अहिलेका हाम्रा नेताहरूलाई केही हजार वा लाखको लागि सापटी नै माग्नुपर्ने अवस्था छ भन्दा पत्याउने अवस्था भने छैन। यद्यपि नेपालमा ५०/६० वर्ष अघिको अवस्था फरक थियो। पैसाको मूल्य धेरै थियो भने हाम्रा आवश्यकताहरू समेत कमै थिए। सूर्यबहादुर थापाको जीवनी पढिरहेका बेला त्यतिबेलाका नेताहरूसँग पैसाको अभाव भएको पनि देखिन्छ।

गएको भदौमा एक भव्य कार्यक्रम गरी विमोचन गरिएको यस पुस्तकको पेज नम्बर १५४ मा उनले तत्कालीन राजा महेन्द्रसँग पैसा सापटी मागेको र समयमा नतिर्दा दरबारबाट ताकेता आएको उल्लेख गरिएको छ।

सूर्यबहादुर थापाले उल्लेख गरेको प्रसंग यस्तो छ-थापा परिवारले खडेरीको कारण मालपोतको तिरो तिर्न सकेका रहेनछन्। त्यसपछि विराटनगर घरबाट जसरी नि पाँच हजार रुपैयाँ खोजेर पठाउनु भन्ने खबर आएपछि उनले तत्कालीन राजा महेन्द्रसँग पैसा सापटी मागेका थिए। आफ्नो जग्गा लिलामी हुन लागेपछि उनले तत्कालीन राजालाई ‘सरकार तिरोको समस्या परेकोले पाँच हजार सापटी दिनुपर्‍यो’ भनेर सापटी मागेको बताएका छन्।

आफू पनि सिरियस प्रकृतिको मानिस भएको कारणले उनी आफ्नो व्यक्तिगत र आत्मीय सम्बन्ध राजासँग राम्रो भएको बताउँछन्। कहिले कुन मितिमा पैसा मागेको र लिएको, कहिले कुन मितिमा पैसा तिरेको भन्ने उल्लेख नगरिएको यस पुस्तकमा राजाले त्यसपछि सचिवलाई बोलाएर पाँच हजार दिनू भन्ने आदेश दिएको उल्लेख छ।

पंचायतको दिनमा राजा सर्वोपरि नै थिए। राजाले कसैलाई मन्त्री बनाउँदा त्यतिबेला नै राजिनामा पत्रमा समेत हस्ताक्षर गराउँथे। त्यसो हुँदा राजालाई मन्त्री चित्त बुझेन भने सीधै दरबारबाट फलानो मन्त्रीको राजिनामा स्वीकृत गरिएको छ भन्दा भइहाल्थ्यो। यो प्रसंगमा पनि पुस्तकमा समेटिएको छ।

यस्तो अवस्थामा समेत दरबारले उक्त रकम तमसुक गराएर ल्याप्चे लगाएर दिएको प्रसंग रुचिपूर्ण छ। भोलिपल्ट दरबारका कर्मचारी तमसुक र पैसा लिएर आएको अनि प्राप्त गरेको पैसा विराटनगर पठाएको उनले उल्लेख गरेका छन्। राजाले चाहँदा सो रकम सूर्यबहादुर थापासँग जसरी नि लिन सक्दथे। यद्यपि तमसुक बनाएर दिंदा दरबारको त्यसबेलाको कामगराइको प्रकृति कति पक्का किसिमको थियो भन्ने बुझ्न सकिन्छ।

पैसा सापटी लिएको प्रसंग रुचिपूर्ण त छँदैछ, तिरेको प्रसंग समेत कम रुचिपूर्ण छैन। हामीले राजाहरूले आफ्ना आसेपासेहरूलाई विभिन्न उपहार, रकम दिएको आदि कुराहरू सुनेकै छौं। पुस्तकमै सूर्यबहादुर थापालाई घर बनाउनको निम्ति सहयोग गरेको उल्लेख छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उपचार गर्न अमेरिका जान राजाले आर्थिक सहयोग गरेको स्वयम् बीपीकै आत्मवृत्तान्‍तमा उल्लेख छ। यद्यपि सूर्यबहादुर थापालाई भने दरबारले ताकेता स्वरूप पत्र नै पठाएको जीवनीमा पढ्न पाइन्छ।

पुस्तकमा २०१७ साल पुस १ गते जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्त गर्ने र पंचायती शासन सुरु गराउने विज्ञप्ति नै आफैंले लेखेको भनेर सूर्यबहादुर थापाले दावी गरेका छन्।

सूर्यबहादुर थापासँग राजा महेन्द्रको नजिकको सम्बन्ध थियो भन्ने पुस्तकमा उल्लिखित विभिन्न प्रसंगहरूबाट स्पष्ट समेत हुन्छ। यस्तो अवस्थामा दरबारले मात्र पाँच हजार रुपैयाँको निम्ति ताकेता गरेको प्रसंग रोमाञ्चक छ। ‘फलानो मितिमा लिएको रकमको भुक्तानी नभएको हुँदा तुरन्त बुझाउनुहोला’ भनी पत्र आएपछि उक्त सापटी रकम बुझाएको सूर्यबहादुर थापाको जीवनीमा उल्लेख छ।

सूर्यबहादुर थापाको जीवन विभिन्न उतारचढावमय देखिन्छ। उनी राजनीतिको माथिल्लो पदमा पुगे। जेल भोगे। उनका समर्थकलाई भ्रष्टाचार मुद्दा लगाइयो। राजनीतिका विभिन्न आयाम देखेका सूर्यबहादुर थापाको जीवनी पुस्तक नेपाली राजनीति र नेपालको आधुनिक इतिहास बुझ्न चाहने जोसुकैको लागि एउटा संग्रहणीय पुस्तक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?