+
+

प्रदेश-१ मा कांग्रेस संसदीय दलको नेता छान्न चुनावको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १९:३५

५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो ।

संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय भीम पराजुली संसदीय दलको नेताको आकांक्षी छन् । डा. शेखर कोइराला प्यानलबाट केदार कार्की दलको नेताको दाबेदार छन् ।

प्रदेश सभापति थापाका अनुसार प्रदेश १ को संसदीय दलको बैठक ११ गते भित्र बस्नेछ । दलको बैठकले निर्वाचन समिति बनाएपछि प्रक्रिया अघि बढ्ने उनले बताए । उनले निर्वाचनको सम्भावना रहेको बताए ।

प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सिट जितेको प्रदेश १ मा देउवापक्ष ठूलो छ । मुख्यमन्त्रीका दाबेदार अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना देउवा प्यानलमा छन् ।

केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बू, गयानन्द मण्डलसहित ९ जना डा. शेखर कोइराला पक्षका छन् । भीम पराजुली, उद्धव थापा, भूमिप्रसाद राजवंशीसहित ९ जना सिटौला समूहमा छन् ।

धार्मिक छवि बनाएका पराजुली सिटौला समूहबाट आफू दाबेदार भएको बताउँछन् । उनी सहमति नभए निर्वाचनबाट दलको नेता छनोट हुने बताउँछन् । ‘सहमति नभए दलका लागि निर्वाचन हुन्छ’, उनले भने, ‘निर्वाचन हुँदा मेरो उम्मेदवारी रहन्छ ।’

संसदीय दलको नेताका आकांक्षी उद्धव थापा पनि दलको नेतामा सहमति नभए प्रजातान्त्रिक अभ्यासबाट नेता छनोट हुने बताउँछन् ।

कोइराला पक्षका नेता केदार कार्की पनि दलको नेतामा मतदानको सम्भावना रहेको बताउँछन् । आफू पनि दलको नेताको आकांक्षी भएको बताउँदै उनले भने, ‘अहिले छलफल भएको छैन,निर्वाचन हुनसक्छ ।’

प्रदेशसभाको अघिल्लो कार्यकालमा कोइराला पक्षका राजीव कोइराला दलको नेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?