+
+

चक्रपथ नाघ्न नसकेको ललितपुर महानगर

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष ६ गते ९:२३

६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये वडा नं १८, २१, २५, २६, २७, २८ र २९ चक्रपथ बाहिर पर्छन् । २०६८ को जनगणना अनुसार महानगरमा रहेका करिब ३ लाख जनसंख्या मध्ये ५० हजारभन्दा धेरै जनसंख्या चक्रपथ बाहिरका वडाहरुमा बस्ने गरेका छन् ।

ललितपुर महानगरपालिकाको चक्रपथको एकान्तकुना, नख्खुदोबाटोबाट भैंसीपाटी तर्फ लागेपछि भत्केको सडकले चक्रपथ भित्र र बाहिरको अवस्था थाहा हुन्छ ।

खोकना, बुङमती क्षेत्र जाने बाटोका अवस्था पनि उस्तै छ, जबकि चक्रपथभित्रका सहरी क्षेत्रमा त्यस्तो अवस्था कमै देखिन्छ । चक्रपथदेखि दक्षिणी क्षेत्रमा पछि थपिएका सहरहरुमा महानगले कम प्राथमिकता देखिएको देखिन्छ ।

लालितपुर महानगरपालिकाको नगरस्तरीय कार्यक्रम तथा बजेटमा धेरैजसो बजेटहरु चक्रपथ भित्र देखिन्छन् । स्मार्ट स्टि्रट लाइटको लागि महानगरले राखेको ३ करोड ५० लाखको योजना चक्रपथ भित्र र वरिपरी मात्रै छन् । ढल तथा सरसफाइमा पनि चक्रपथ र पाटन क्षेत्रकै वरिपरि बजेट राखिएको देखिन्छ ।

लगनखेलदेखि पाटन दरबार क्षेत्र हुँदै शंखमूलसम्म २ दशमलव ८ किलोमिटर ढल निर्माण कार्य सुरु भएको बजेटमा उल्लेख छ । उक्त ढल निर्माण कार्यसम्पन्न भए पश्चात वषर्ातको समयमा मंगा हिटी, महापाल, पाटन दरबार स्क्वायर क्षेत्रमा जलमग्न हुने समस्या समाधान हुने महानगरले दाबी गरेको छ । उक्त क्षेत्रमा टेलिफोन, बिजुली तथा इन्टरनेटका तारहरु जमिनमुनि बिछ्याइ सहरको सौन्दर्यतामा वृद्धि गरिने बजेटमा उल्लेख छ तर चक्रपथ बाहिर सहरी सौन्दर्यको विषय खासै उल्लेख छैन । चक्रपथ बाहिरका बुङमती, खोकना र हरिसिद्धी जस्ता पुराना बस्तीलाई जगाउने पनि काम हुन सकेको छैन ।

दोहोरिएर निर्वाचित भएपछि मेयर चिरीबाबु महर्जनले सहरकेन्द्रित कार्यक्रमहरु अगाडि बढाइरहँदा चक्रपथ बाहिरलाई खासै समेट्न नसकेको खोकनाका स्थानीयहरुले प्रतिनिधि सभाको निर्वाचनको समयमा आवाज उठाएका थिए ।

काठमाडौंबाट बिजनेस हबहरू ललितपुरतिर सर्ने सम्भावना भए पनि त्यसअनुरूप महानगरले नीति र कार्यक्रम नै ल्याउन सकेको देखिँदैन । काठमाडौंको ठमेलजस्तै ललितपुरको झम्सीखेल विकास हुँदा असनजस्तै मंगलबजार र न्युरोडजस्तै पुल्चोक-जाउलाखेल बिजनेस हब बन्न सक्छन् ।

महर्जनले २०७४ सालमा मेयर निर्वाचित भएपछि जाउलाखेल र लगनखेलको तरकारी बजारमा कोल्डस्टोर बनाउने, लगनखेलमा व्यापारिक भवन र सुन्दरीघाटमा कान्जीहाउस बनाउने योजना अघि सारेका थिए । तर अहिलेसम्म पूर्णता पाएको छैन । उनले पुल्चोक, मंगलबजार, हात्तीवन, हरिसिद्धी, ठैब, सन्तानेश्वर, नागदह, बज्रबाराही, ठेंचो, सुनाकोठी, बुङ्मती, खोकना, सैंबु हुँदै पुनः पुल्चोक जोडिने चक्रपथ बनाउने योजना सार्वजनिक गरेका थिए ।

चित्रकला, काष्ठकला, प्रस्तर मूर्तिकला र धातुकला एवम् अन्य हस्तकलाको हब भएकाले ललितपुरले यसबाट रोजगारी सिर्जना गर्ने मात्र होइन, गतिलो आर्थिक उपार्जन पनि गर्न सक्ने अवसर जीवितै छ । बुङमती क्षेत्रको सम्पदा बस्तीमा समेत महानगरले उपेक्षा गरेको स्थानीयहरु बताउँछन् ।

वडाध्यक्षहरूको गुनासो : हामी उपेक्षामा परेका छौं

ललितपुर महानगरपालिका वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर भन्छन् ‘सहरोन्मुख वडालाई भनेर महानगरले बजेटमा एक करोड सिलिङ बढाए पनि भौतिक पूर्वाधारमा रहेको बजेटले चक्रपथ भित्रकै धेरै योजनाहरु समेट्ने देखिएको छ ।’

उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित सहरीकरणको योजनामा पनि चक्रपथ बाहिरको वडाहरुलाई कम प्राथमिकता दिएको बताए । ‘एक करोडको बजेट सिलिङ र चक्रपथ बाहिरका वडाहरुले गर्नुपर्ने काममा धेरै नै फरक छ । भौतिक योजनाहरु, महानगरवासी भएपछि प्राप्त गर्ने सेवा पनि हामीलाई उपेक्षा गरेको महसुस हुने गरेको छ’ उनले भने ।

वडाध्यक्ष तुलाधर साविक गाविस रहेको वडाहरुमा विकासको काम धेरै गर्नुपर्ने, स्वास्थ्य र शिक्षामा धेरै लगानी गर्नुपर्ने स्थिति रहे पनि महानगर कोर सहर केन्द्रित भएको जनताले महसुस गरेको बताउँछन् ।

२९ नम्बर वडाध्यक्ष गणेश कुमार महर्जनले महानगरपालिकाको कुरा र व्यवहार फरक-फरक भएको बताए । ‘अहिलेबाट मात्रै होइन, महानगर हुनुभन्दा अगाडिदेखि नै हाम्रो वडा उपेक्षामा परेको छ । जनप्रतिनिधि आएको ६ वर्ष भएको छ, अहिले पनि उपेक्षा नै महसुस गरेका छौं’ उनले भने ।

महर्जनले बजेटमा एक करोड बढाएर खासै ठूलो फरक हुन नसकेको बताउँछन् ‘एक करोड बजेट बढाएर मात्रै हुँदैन, यसले कति काम गर्न सक्छ र ? महानगरबाट ठूला भौतिक योजनाहरु चक्रपथबाहिर पनि हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।’

वडा नं २९ मा सरकारी स्वास्थ्य चौकीसमेत छैन । ‘शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरा पनि महानगरको वडा भन्ने सुहाउने छैन । महानगरले गरेको पिच वडाभरिमा एक किलोमिटर पनि छैन । हरिसिद्धी जस्ता मन्दिर क्षेत्रमा महानगरले प्रचारात्मक कार्यक्रम धेरै गर्न सकेको छैन । अब आफैं भन्नुस् महानगरले चक्रपथ बाहिर कति प्राथमिकता दिएको छ ?’ महर्जनले प्रश्न गरे । महानगरको नेतृत्वसँग बारम्बार कुरा गरेपनि आश्वासन मात्र पाएको वडाध्यक्ष महर्जनले बताए ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जन ।

  भेदभाव गरेको होइन : महानगर

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने महानगरले चक्रपथ बाहिरको वडाहरुलाई भेदभाव नगरेको बताउँछन् । उनी बजेट र नीति दुवै कुराले चक्रपथ बाहिरको वडाहरुलाई प्राथमिकतामा राखेको तर्क गर्छन्, ‘महानगरले चक्रपथ बाहिरको वडाहरुलाई झन् धेरै प्राथमिकतामा राखेको छ । कृषि र भूक्षयको योजना त चक्रपथ बाहिर मात्रै छ । बजेटको सिलिङ पनि एक करोड भन्दा धेरै छ । भेदभाव गरेको भन्न त मिल्दैन नि ।’

उनले महानगरले गौरवको योजनाहरुमा पनि चक्रपथ बाहिरका वडाहरुलाई प्राथमिकता दिएको बताए । ‘सडकसहित केही भौतिक पूर्वाधारको योजना कार्यान्वयनमा चाहिँ ढिलाइ भएको हो तर त्यो ढिलाइ महानगरबाट नभइ स्थानीय विवादकै कारण हो,’ प्रवक्ता महर्जनले भने ।

वडा नं २९ मा भने यसै वर्ष स्वास्थ्य केन्द्र बन्ने प्रवक्ता महर्जनले बताए । ‘नगर स्वास्थ्य केन्द्र हाम्रा २९ वटा वडाहरु मध्ये २० वटामा बनिसकेका छन् । अब यो आर्थिक वर्षमा ५ वटा बन्दैछ, जसमा पहिलो प्राथमिकता २९ नम्बर वडालाई छ ।’

उनले चक्रपथ बाहिरका वडालाई पनि पुल्चोककै हैसियतमा पुर्‍याउने गरी काम भइरहेको बताए ।

ललितपुरमा पनि मेलम्ची खानेपानी चक्रपथभित्र मात्र वितरण हुन्छ । चक्रपथबाहिरका वडाले पानी माग गरे पनि पाएका छैनन् । ‘ललितपुर महानगर क्षेत्रको चक्रपथ बाहिर मेलम्ची आयोजनाले पाइप नै ओछ्याएको छैन । महानगरपालिकाले यसमा गर्न सक्ने भनेको पहल मात्रै हो । सकेको गरिरहेको छ’ उनी भन्छन् ।

व्यवस्थापनमा प्रयासरत

ललितपुर नगर प्रहरीले कुपण्डोलदेखि जाउलाखेलसम्मका सडक मेडियनमा विभिन्न सन्देश अंकित ढुंगाहरु राखेको छ । फुटपाथमा जथाभावी थुपारिएको निर्माण सामग्री हटाउने क्रममा भेटिएका चिल्ला ढुंगाहरुलाई सन्देशसहित सिंगारेर मेडियनमा राखिएको हो । नगर प्रहरीको अग्रसरतामा धुमपान निषेधित सार्वजनिक ठाउँ अनुगमन बढेको छ । नगर प्रहरीले जावलाखेल, लगनखेल, पुल्चोक र पाटन दरबार क्षेत्रमा धूमपान निरुत्साहन अभियान चलाएको छ ।

सहरभित्र हुने सवारी व्यवस्थापनको लागि महानगरले एकतर्फी, पार्किङ निषेधित क्षेत्रजस्ता काम गरिरहेको छ । यस्तै पाटन दरबार क्षेत्रभित्र सवारी साधन निषेध गरेको छ । महानगरले लगनखेल बसपार्क अब ‘बस स्टप’को रुपमा परिणत गर्न थालेको छ । लगनखेलमा अहिले रुट अनुसारका दुईवटासम्म मात्रै गाडी रोक्न पाइने नियम छ । लगनखेल क्षेत्रमा राति कुनै पनि सवारी पार्किङ गरेर राख्न नपाइने बनाएको छ ।

महानगरले भित्री सहर, पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय नियोग, कुटनीतिज्ञहरुको बसोबास भएको क्षेत्रलाई व्यवस्थापनको विषयमा केही समय अगाडि महानगरका मेयर चिरिबाबु महर्जन अनलाइनखबरसँग भनेका थिए । सहरलाई स्वच्छ, शान्त र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन र भित्री सहरीहरुलाई २४ सै घण्टा खुला बनाउन प्रयास गरिएको महर्जनले बताए ।

महर्जनले पाटन वरिपरि रातभरि रेष्टुरेन्ट, ‘स्ट्रिट फुड’ व्यवसाय हुनेगरी पर्यटक ल्याउन आवश्यक वातावरण बनाएको बताए । ‘पर्यटकीय क्षेत्रमा सवारी साधनहरुको कोलाहल नहुने वातावरण बनाउन लागिरहेका छौं’, उनले भने, ‘आवासीय क्षेत्र र कूटनीतिज्ञहरु बस्ने क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनको दृष्टिकोणले राम्रो गर्न खोजेका छौं, त्यसको ललितपुरको अन्तर्राष्ट्रिय छवि झन् राम्रो हुन्छ ।’ महानगरको व्यवस्थापनको विषयमा चक्रपथको धेरै कुरा महर्जनले सुनाए तापनि उनले चक्रपथ बाहिरका योजनाहरुबारे कम नै चर्चा गरेका थिए ।

नयाँ सहरको प्रबल सम्भावना : थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापा ललितपुर महानगरपालिकाको विकास गर्नुपर्ने क्षेत्र रहेको बताउँछन् ।

चक्रपथ बाहिरका पुराना ऐतिहासिक सम्पदा बस्तीहरुलाई सम्पदाको तरिकाले संरक्षण र विकास गर्नुपर्ने देखिएको उनी बताउँछन् । ‘ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा विकास गर्ने धेरै स्थानहरु छन् । सम्पदा संरक्षण र विकास, मठमन्दिर, ऐतिहासिक स्थानहरुको विकास विकास गनुपर्ने पाटोको रुपमा छ । बाँकी नयाँ स्थानमा सहरलाई आधुनिक रुपमा विकास गर्नुपर्छ,’ थापा भन्छन् ‘अहिले धेरै बस्ती विकास भइरहेको इमाडोल क्षेत्र उदाहरण लिन सकिन्छ । त्यो क्षेत्रमा व्यवस्थित रुपमा घर बनाउन महानगरले योजनाबद्ध काम गर्नपर्छ । नयाँ सहरहरु विकास गर्दा चक्रपथ बाहिर अझै योजनाबद्ध रुपमा महानगरले गर्न सक्ने प्रबल सम्भावना छ ।’

थापाले चक्रपथ सहरबासीलाई चाहिने न्युनतम सेवा सुविधा महानगरले पुर्‍याउन सक्नुपर्ने बताए । ‘महानगरको वडाहरुको आवश्यकता के हो ? कसरी विकास गर्न सकिन्छ चक्रपथ बाहिर पनि महानगरले त्यही अनुसार काम गर्नसक्नुपर्छ । यसको लागि योजना बनाएर काम गर्न सकिन्छ,’थापाले बताए ।

‘न्यूनतम सेवा दिनुपर्छ, विशेष योजना आवश्यक’

चक्रपथ बाहिर ठूलो भूगोल भएकाले ललितपुर महानगरपालिका धेरै विकासको काम गर्ने सम्भावाना थापाले देखेका छन् । ‘आधुनिक महानगरलाई चाहिने सेवासुविधा, पार्किङ, सार्वजनिक स्थानमा निर्माण गर्नुपर्ने कुराहरु धेरै छन् । यसको लागि वडास्तरको भए पनि, पालिकास्तरको भएपनि योजना बनाएर काम गर्ने स्थान छ ।’ थापाले काठमाडौं महानगपािलकामा सहर व्यवस्थापनका चुनौती जस्तै ललितपुर महानगरपालिकामा विकास गर्ने पनि उत्तिकै चुनौती रहेको बताउँछन् ।

ललितपुरका मेयर चिरिबाबुसँग लगातार दुई चोटी चुनाव लडेर प्रत्याशी बनेका एमालेका नेता हरिकृष्ण व्यञ्जनकारले चक्रपथ भित्र र बाहिर फरक परिसकेको बताउँछन् । ‘चक्रपथ भित्रको सहर र बाहिरको सहर फरक परिसकेको छ । सहरी क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने मात्रै देखिन्छ तर चक्रपथ बाहिर धेरै विकासहरु अझै बाँकी छन्,’ व्यन्जनकार भन्छन् ‘महानगरले चक्रपथ बाहिरको विकासको लागि नीतिमै विशेष व्यवस्था गर्नुपर्छ । चक्रपथ बाहिरको लागि सुधार गर्न आवश्यक छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?