+
+

पौवा, मर्दानी र कटौती लगाएर संसद आएका गंगाराम

दिपेश शाही दिपेश शाही
२०७९ पुष ७ गते २०:०७

७ पुस, काठमाडौं । शिरमा रंगीचंगी टोपी, जीउमा कमिज, स्वेटर, कोट र सेतो धोती अनि खुट्टामा खराऊ । हातमा डायरी र कलमसँगै मोबाइल बोकेका गंगाराम चौधरी पृथक र आकर्षक देखिएका थिए ।

कैलाली–३ बाट निर्वाचित सांसद चौधरी बिहीबार पद तथा गोपनीयताको शपथ लिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गर्दा उनको पहिरनले धेरैको ध्यान तान्यो ।

शीर्ष नेता र प्रभावशाली सांसदको संसद भवन प्रवेशलाई पर्खिरहेका फोटो पत्रकारका लेन्स गंगारामको प्रवेशसँगै उनको पहिरनतर्फ सोझियो । थरीथरीका पहिरनमा सजिएर आएका नवनिर्वाचित सांसदहरूका पहिरन साँच्चिकै आकर्षक र विविधतायुक्त थिए । त्यसमा पनि पृथक थियो गंगारामको पहिरन ।

अनलाइनखबरले उनको पहिरनबारे सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै गंगारामले छोटो जवाफ दिए, ‘हामी थारुहरूको पहिचान ।’

शपथ लिएर संसद भवनबाट बाहिरिएपछि उनले आफ्नो पहिरनबारे धेरैलाई बुझाउनुपर्‍यो । सांसददेखि सञ्चारकर्मीसम्म, सुरक्षाकर्मीदेखि कर्मचारीसम्म उनलाई घेरिरहेका हुन्थे ।

उनी सबैलाई त्यसबारे भन्थे, ‘यो थारुहरूको पहिचान हो । मैले माथि लगाएको टोपीलाई कटौती भनिन्छ । कोट, स्वेटर र सर्ट (कमिज) भइहाल्यो । यो सेतो धोतीलाई मर्दानी भनिन्छ । खुट्टामा लगाएको काठको पौवा हो । यो राम बनवास जाँदा पनि पहिरिएका थिए । नेपालीमा यसलाई खराऊ भनिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’

उनले कटौती (टोपी), मर्दानी (सेतो धोती) र पौवा (खराऊ) का बारेमा थप व्याख्या गरिदिए । ‘यसलाई नेपालीमा टोपी भनेरै बुझ्दा हुन्छ । तर थारु भाषामा यसलाई कटौती भनिन्छ । यो महिलाहरूले लगाउने चोली र गुनियाँ (लेहेंगा) बनाउँदा काटेर बनेको हुन्छ । त्यसैले कटौती भनिन्छ । महिलाहरूले पनि लगाउँछन् । सेतो धोतीलाई हाम्रो भाषामा मर्दानी भनिन्छ । ठाउँ हेरी अरू नाम पनि हुन्छ’ उनी भन्दै गए, ‘पौवालाई नेपालीमा खराऊ भनिन्छ, जुन काठबाट बन्छ । लगाउँदा सहज पनि हुन्छ । स्वास्थ्यलाई पनि फाइदा हुन्छ । बलियो पनि हुन्छ ।’

विभिन्न समुदायका सांसदहरूको जस्तै गंगारामको पनि यो पहिरन लगाएर शपथ लिन आउनुमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने चाहना नै थियो । उनको दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र अर्का सांसद अरुण चौधरीले पनि थारु समुदायकै पोशाक लगाएका थिए । तर सबैले सल्लाह गरेर भने लगाएका थिएनन् । ‘आ–आफै लगाएर आयौं । हेर्दा सल्लाह गरेजस्तो देखियो । तर संयोग मात्रै हो,’ उनले भने ।

‘मेरो उद्देश्य आफ्नो पहिचान झल्काउनु पर्छ भन्ने हो । हाम्रो पार्टीको गठन नै पहिचानको मुद्दालाई संस्थागत गराउने उद्देश्यले भएको हो । संसदमा शपथ लिन आउँदा यसले आफ्नो पहिचानप्रति इमान्दार रहन प्रेरित गर्छ भन्ने लागेर पहिरिएर आएको हुँ,’ उनले अगाडि भने, ‘हाम्रा अन्य साथीहरूले पनि थारु पहिचान झल्काउने विभिन्न पहिरन लगाउनु भएको छ । अन्य पार्टीका सांसदले पनि लगाउनु भएको छ । यसले हाम्रो देश विविधतालाई देखाउँछ । राज्यले यसलाई स्वीकार गर्नुपर्छ ।’

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित सांसदहरूको शपथ लिन देशका विभिन्न क्षेत्रबाट काठमाडौं आइपुगेका सांसदहरूले आ-आफ्नो कला र संस्कृति झल्काउने पहिरन लगाएका थिए ।

आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू प्रायः यस्ता खालका सांस्कृतिक पहिरनमा सजिएर आएका थिए । सबैले पहिरिएका त्यस्ता पहिरनले मुलुकको सांस्कृतिक विविधता झल्काउँथ्यो नै आफ्नो पहिचानप्रतिको प्रेमलाई पनि प्रतिबिम्बित गरिरहेको थियो ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?