+
+

माओवादीमा निरन्तर प्रचण्डको अनुमोदन

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष ७ गते २१:१३

७ पुस, काठमाडौं । संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार हानिए । उनी बुधबार मात्र मतदान प्रक्रियाबाट कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासँग ‘पावर सेयरिङ’बारे वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुन आतुर छन्, जसका लागि उनले चुनावबाट पहिलो ठूलो दल बनेका कांग्रेस सभापति देउवालाई मनाउनु छ ।

देउवासँग वार्ता गर्नुअघि उनले पार्टी र संसदीय दलबाट आफूलाई अनुमोदन गराएका थिए ।

बिहीबार प्रतिनिभिसभा सदस्यको सपथलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक डाके र आफूलाई संसदीय दलको नेता प्रस्ताव गरे । एक पदाधिकारीका अनुसार प्रचण्डले दलको नेतामा आफ्नो र प्रमुख सचेतकमा हितराज पाण्डेको नाम प्रस्ताव गरेका थिए ।

राष्ट्रियसभा दल नेतामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरेका उनले प्रमुख सचेतकमा गोपी अछामी र सचेतकमा गंगा बेलबासेलाई निरन्तरता दिने बताए ।

पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सहमति जनायो । उपमहासचिव हरिबोल गजुरेलका अनुसार प्रचण्डले प्रस्तावमा कुनै पनि नेताले विरोध वा असहमति नजनाएपछि अनुमोदन भएको रुपमा बैठकमा ताली बजेको थियो ।

लगत्तै सिंहदरबारमासंसदीय दलको बैठक बस्यो र तीनै नाम अनुमोदन गरेको छ । नेताहरुका अनुसार धेरैको दाबी वा विरोध हुन सक्ने दलको उपनेता र सचेतकबारे भने प्रचण्ड निर्णयमा पुग्न इच्छुक देखिएनन् । ‘प्रतिनिधिसभाको दलको उपनेता, प्रतिनिधिसभा दलको सचेतक लगायतकाबारे क्रमशः गृहकार्य गर्दै अगाडि बढ्ने दलले निर्णय गरेको छ,’ प्रमुख सचेतक पाण्डेले भनेका छन् ।

दलको उपनेतामा उपमहासचिवद्वय वर्षमान पुन र जर्नादन शर्मा आकांक्षी छन् । उनीहरु महासचिवका समेत दाबेदार थिए । दुईमध्ये एक रोज्न सक्ने अवस्था नभएपछि आठौं महाधिवेशन (११–१५ पुस २०७८) भएको करिब एक बर्षपछि प्रचण्डले तेस्रो व्यक्तिका रुपमा देव गुरुङलाई महासचिव बनाएका थिए ।

निरन्तर ओरालो, तर अनुमोदन

प्रचण्ड यस्ता नेता हुन्, जो तीन दशकदेखि निरन्तर पार्टी प्रमुख छन् । तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य किरणले २०४५ चैतमा सुरु गरेको सशस्त्र विद्रोह असफल भएपछि प्रचण्डले नेतृत्व हात परेका थिए ।

‘सेक्डर काण्ड’का रुपमा चिनिएको उक्त घटनापछि किरणकै प्रस्तावमा प्रचण्ड ३५ वर्षमै मशालको महामन्त्री बन्न सफल भएका थिए । त्यसपछि बनेको एकता केन्द्र पनि महामन्त्री हुँदै नेकपा माओवादीको अध्यक्ष भएका प्रचण्ड ३४ बर्षदेखि निरन्तर नेतृत्वमै छन् ।

२०६३ मा शान्ति सम्झौता गरेर संसदीय राजनीतिमा प्रवेश गरेयता पनि प्रचण्ड निरन्तर प्रमुख छन् । त्यसयता संसदीय दलको नेता समेत निरन्तर प्रचण्ड नै छन् ।

शान्ति प्रक्रियता यतामा चार चुनावमा माओवादीले भाग लिइसकेको छ । २०६४ माओवादी पहिलो शक्ति बनेको थियो । त्यसयता भने हरेक चुनावमा धक्का खाएको छ । २०७० को चुनावमा माओवादी एकै पटक १५.२१ प्रतिशतमा खुम्चिन पुग्यो । त्यसपछि पनि माओवादीको ओरोलो यात्रा रोकिएको छैन ।

तेस्रो चुनावमा आइपुग्दा माओवादीले एक्लै लड्ने आँट गरेन । २०८७४ मा नेकपा एमालेसँग गठबन्धन गरेर माओवादी चुनाव लड्यो । तर, माओवादीको आकार घट्नबाट रोकिएन । माओवादी १३ प्रतिशतमा मात्रै सीमित भयो ।

नेपाली कांग्रेससँग गठबन्धन गरेर लडेको यसपालीको चुनावमा पनि माओवादीका आकार घट्यो । चौथो चुनावसम्म आइपुग्दा माओवादी ११.१७ प्रतिशतमा खुम्चिन आइपुगेको छ । पार्टी निरन्तर आरोलो लाग्दा पनि प्रचण्ड बिनाप्रश्न निरन्तर अनुमोदन भइरहेका छन् ।

गत बर्ष पुसमा भएको महाधिवेशनमा अध्यक्षमा अनुमोदन भए, बिहीबार दलको नेतामा । ‘प्रचण्ड जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणको समेत नेतृत्वकर्ता हुनुहुन्छ,’ माओवादी केन्द्रका सांसद सुदन किराती भन्छन्, ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पनि प्रचण्डको नेतृत्व आवश्यक छ ।’

जसले प्रश्न गरे, उनीहरु बाहिरिए

बिगतमा माओवादीमा प्रचण्डको आलोचना नभएको होइन । तत्कालीन नेताहरु मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, नेक्रविक्रम चन्द विप्लवजस्ता नेताले प्रचण्डको खुलेर आलोचना गर्थे । उनका नीतिमा असहमति पनि जाउनथेँ ।

शास्त्रीय कम्युनिष्टहरुको भाषामा पार्टीभित्र ‘दुई लाइन’ संघर्ष चलाउथेँ । बाबुराम शान्ति र संविधानको कार्यदिशा बनाउनुपर्ने भन्दै प्रचण्डसँग फरक मत राख्थे । वैद्य विद्रोहको लाइन समात्नुपर्ने भन्दै प्रचण्डसँग असहमति राख्थे ।

तर, समय क्रममा कुनै पनि नेता प्रचण्डसँगै रहन सकेनन् । वैद्य नेकपा क्रान्तिकारी माओवादी खोलेर बसेका छन् । बाबुराम नयाँ शक्ति, जसपा हुँदै नेपाल समाजवादीसम्म आइपुगेका छन् । यद्यपि पछिल्लो कालमा बाबुरामले प्रचण्डसँग नजिकको सहकार्य पनि गरिरहेका छन् ।

बिप्लव भने नेपाल कम्युनिष्ट पार्टीको महासचिव छन् । माओवादीमै बचेखुचेका मध्य तेस्रो पुस्ताबाट केहीले नेताले प्रचण्डको नेतृत्वमाथि प्रश्न गरेका छन् । त्यस्तो जोखिम लिनेमा पर्छन्, लेखनाथ न्यौपाने ।

प्रचण्डले गत महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई उनले ‘दक्षिणपन्थी संशाधेनवादी’को संज्ञा दिएका थिए । महाधिवेशनमा फरक प्रतिवेदन राख्दै न्यौपानेले प्रचण्डमा ‘आत्मकेन्द्रित व्यक्तिवाद’को समस्या देखिएको समेत आरोप लगाएका थिए ।

अधिकांशले भने प्रचण्डको आलोचना गर्दैनन् । ‘सबै अहिले पद, पैसा र अवसरका पछि कुदेका छन्,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘यस्तो बेलामा कसले प्रचण्डको आलोचना गर्ने ‘रिस्क’ लिन्छ ?’

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत कुनै डर, धाक देखाएर अनुमोदित हुने नगरेको बताउँछन् । ‘अध्यक्ष आज पनि सर्वसम्मत चयन हुनुभयो,’ उनले अनलाइनखबरसँग भने, ‘निर्विरोध हुनु पनि लोकतन्त्रको सुन्दर पक्ष हो ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?