+
+

हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन 

रासस रासस
२०७९ पुष ८ गते १२:३४

८ पुस, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । गत मंसिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ ।

विद्युतीय उपकरणको पाटपूर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दैआएको थियो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ ।

हेटौंडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौँडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो । धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।

सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौंडालगायत काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?