
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको वर्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई साधारणसभाले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक आपसमा गाभिएपछि संयुक्त कारोबार गर्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।
साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे ।
साधारण सभाले सेयरधनीहरुका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित भएको वितरणयोग्य रकम १ अर्ब २६ करोड ३० लाख ५९ हजार ५२० रुपैयाँ ८ं० पैसाबाट हाल कायम चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँ ३६ पैसाको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रुपैयाँ १३ पैसा बोनस सेयर लाभांश र ३.७९ (राउन्डिङमा) प्रतिशतले हुन आउने रकम ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैयाँ ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याई शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन् ।
आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको श्रेष्ठले बताइन् ।
श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताइन् । उनका अनुसार, चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसैगरी कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खूद मुनाफा आर्जन गरेको छ ।
यसैगरी कोभिड-१९ बाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैयाँ पुनर्कर्जाहरु प्रवाह गरेको छ ।
प्रतिक्रिया 4