+
+

भ्रमण दशक : दश वर्षमा १० उत्सव 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १८:४२

८ पुस, काठमाडौं । नेपालले आगामी एक दशकलाई भ्रमण दशक (२०२३–२०३३) का रुपमा मनाउँदैछ । यस अभियानका दौरान १० वर्षमा १० वटा उत्सव मनाउने गरी विज्ञहरुले सुझाव दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको कार्यदलले बनाएको रणनीतिक कार्ययोजनाको रुपरेखा शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरियो । यस रणनीति अनुसार आगामी १० वर्षलाई १० छुट्टाछुट्टै उत्सवका रुपमा मनाउने गरी प्रस्ताव गरिएको छ ।

कुनै एक वर्षलाई मात्र केन्द्रित गरी कार्यक्रम गर्नु भन्दा क्रमिक रुपमा सबै प्रदेश र सिंगो देशले कार्यक्रम गर्दा पर्यटन क्षेत्र चलायमान हुने विज्ञ समूहको सुझाव छ । सोही अनुसार कार्यदलले १० वटा उत्सवको प्रस्ताव गरेको हो ।

सबैका लागि पर्यटन भन्ने अवधारणामा आधारित रहेर आगामी १० वर्ष भित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ । कार्ययोजना अनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्‍याउने लक्ष्य लिइएको छ ।

पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ ।

प्रस्तावित उत्सवहरुमा पहिलो वर्ष सन् २०२३ लाई कार्ययोजना निर्माण तथा योजना तर्जुमा लगायत तयारीका कामका रुपमा अभियान चलाउन सिफारिस गरिएको छ । सन् २०२४ लाई बागमती प्रदेशमा सांस्कृतिक सम्पदाका अभियान सञ्चालनको प्रस्ताव गरिएको छ । सन् २०२५ लाई गण्डकी प्रदेशका दुर्गम भेगलाई प्रबर्द्धन गर्ने गरी अभियान चलाउन प्रस्ताव गरिएको छ । सन् २०२६ मा भने राष्ट्रिय रुपमा साहसिक तथा आध्यात्मिक पर्यटन अभियान चलाउने प्रस्ताव कार्यदलले गरेको छ ।

सन् २०२७ लाई लुम्बिनी प्रदेशमा बुद्धिष्ट पर्यटनको प्रबर्द्धनका रुपमा उत्सव मनाउने प्रस्ताव गरिएको छ । सन् २०२८ मा मधेश प्रदेशमा रामायणमा आधारित पर्यटन अभियान चलाइने छ । सन् २०२९ मा सुदूरपश्चिम प्रदेशको प्रकृति र आध्यात्मिक पर्यटनमा आधारित रहेर अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

सन् २०३० मा प्रदेश नम्बर १ मा केचनाकवलदेखि सगरमाथासम्मको जैविक विविधतालाई उत्सवका रुपमा मनाउन प्रस्ताव गरिएको छ । सन् २०३१ मा ‘भर्जिन कर्णाली प्रदेश’ अभियान चलाइने छ । सन् २०३२ लाई ‘फेस्टिभ नेपाल’ नाममा राष्ट्रिय अभियान चलाइने भएको छ ।

भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबार १२५ पुर्‍याउने लक्ष्य छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्‍याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रबर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन उपजको विकास र विस्तार र देशभैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?