+
+

चिनियाँ दूतावासको स्पष्टीकरण : नेपालका नेताहरुलाई भेटेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १४:४५

९ पुस, काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले एक वक्तव्य जारी गर्दै बाहिर आएजस्तो आफ्नो नियोगका कार्यवहाक वाङ सिनले नेताहरूलाई नभटेको बताएका हुन् ।

‘चिनियाँ राजदूतावासका कार्यवाहक वाङ सीनले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवसँग भेट गरेको भन्ने खबर सार्वजनिक भइरहेको हाम्रो जानकारीमा आएका छन्,’ दूतावासले जारी गरेको छोटो इमेलमा उल्लेख छ, ‘ती सूचना गलत हुन् ।’

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच गृहकार्य चलिरहेका बेला विभिन्न शक्ति राष्ट्रहरू सक्रिय भइरहेका छन् । भारतीय राजदूत नविन श्रीवास्तव अमेरिकी राजदूत डीन थम्प्सनले नेताहरूसँग पछिल्लो समय बाक्लो भेटघाट गरिरहेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललगायत नेताहरूसँग भेट गरेर सरकार गठन र शक्ति बाँडफाँटका विषयमा उनीहरूले चासो राख्दै आएका छन् ।

निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री देउवाबाट भेटघाट सुरू गरेका भारतीय राजदूत श्रीवास्तवले एमाले अध्यक्ष शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी त्यहाँ बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिएका थिए भने नयाँ सरकार गठनका विषयमा समेत चासो राखेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । राजदूतसँग भेट भएको भोलिपल्ट प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि सोही दिन नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले त्यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकपटक भेट गरिसकेका छन् ।

सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मंसिरमा दोस्रोपटक भेट गरेका थिए । दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । तर त्यसअघि उनी निर्वाचनको मत परिणामसमेत सार्वजनिक नहुँदै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार र प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टु वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने अझै सार्वजनिक भएको छैन ।

साथै अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
नेपालको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले राजदूतहरूको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ ।

यही क्रममा शनिबार चिनियाँ दूतावासले आफ्नो नियोगका कार्यवाहकले ओली, प्रचण्ड र यादवसँग भेट नगरेको स्पष्टिकरण दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?