+
+

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १६:३१

९ पुस, पोखरा । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा ।’

फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंका अनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा भएको छ ।

‘के बिक्छ, के बिक्दैन निर्धारण गर्ने कुरा धेरै हुन्छन् । तर, त्यस्तो किन हुन्छ ? मान्छेको हातमा त्यस्ता चिज किन बढी हुन्छन् ? राम्रो चिज किन बन्दैनन् भन्ने प्रश्न संस्थासँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामीसँग राम्रो अनुवाद गर्न स्रोत दिने, गुणस्तर नियन्त्रण गर्ने, अनुवादकलाई प्रेरणा दिने संस्था छैनन् । एउटै व्यक्तिबारे ५० वटा अनुवाद निस्किए पनि यस्तो भए एउटा अनुवादले स्थान पाउँछ ।’

विनोदविक्रम केसी सहजकर्ता रहेको त्यही सेसनमा अरु दुई अनुवादक सगुना शाह र गनेस पौडल वक्ता थिए । प्रसाईं, शाह र पौडेलले भाषा, पारिश्रमिकसहित अनुवादका सुःख–दुःखका किस्सा सुनाए ।

अनुवादक पौडेलले नेपाली पुस्तकको अनुवाद विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताए । ‘अनुवादसँग के जोडिएको छ भने छापा उद्योग छ । र, त्यसको अन्तिम कारिन्दा लेखक हो । नेपाली किताब अंग्रेजीमा अनुवादित भएर विश्वमा जान दिँदैनन् । भएको अनुवाद अब त्यस्ता बजारको पनि हुन जरुरी छ,’ उनले भने ।

पुराना–पुराना विषयवस्तु समेटिएका पुस्तकका अनुवाद भइरहेको भेटिन्छन् । तर, पौडेल अनुवादलाई दुई समाजको संवादको रुपमा मान्ने हो भने त्यस्तो गर्नु ठिक मान्दैनन् । समकालीन लेखकका पुस्तक अनुवाद गर्दा नबुझेका विषय साक्षात्कार गर्न पाइने भएकाले त्यसमा जोड दिनुपर्ने पौडेल बताउँछन् ।

‘एउटा समाजले अर्को समाजसँग संवाद गर्नुपर्छ भन्ने अर्थबाट अनुवादको महत्व हो भने क्लासिक (पुरानो) तिर कुद्नु हुँदैन । समकालीन लेखकका कृति अनुवाद गरिनुपर्छ । समकालीन लेखक स–शरीर उपस्थित हुन्छ’, उनले भने ।

सगुना शाह अंग्रेजी र फ्रेन्च पढाउँछिन् । अन्य भाषामा अनुभवी भएकाले नेपालीमा बोल्दा, लेख्दा भाषिक त्रुटि नगर्न धेरै समय अनुवादमा खर्चने गरेको उनले सुनाइन् । ‘नेपाली पनि बोल्नु हुन्छ र भन्ने प्रश्न सुनेको छु । नेपालीमा लेख्ने भन्ने कुरा त मबाट सम्भवना नै छैन भन्ने हुन्थ्यो । त्यो बाहिरको मान्छेलाई लाग्ने कुरा हो । अंग्रेजी र फ्रेन्च पढाउने भएकाले म मिठो नेपाली बोल्दिन होला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘लेख्ने बेला भाषाकै कारण त्रुटि हुनसक्छ भन्ने थाहा थियो । त्यो हुँदा धेरै समय लगाएर अनुवाद गरेँ ।’

अनुवाद गर्दा मिहिनेत र समय लाग्छ । अनुवादकका अनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ । तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन् ।

‘राम्रो अनुवादकले मिहिनेत गरे धेरै परिश्रम लाग्छ । कहिले एउटै प्यारेग्राफले एक हप्ता रिंगाउँछ । न्याय कसरी गर्न सकिन्छ भन्ने सोचिन्छ,’ उनी पारिश्रमिकबारे भन्छन्, ‘पारिश्रमिकका हिसाबले अनुवाद गरौँ गरौँ कहिल्यै लागेन । पारिश्रमिक सम्झियो भने अलि मूल्य भएको किताबको अनुवाद गरौँ भन्ने जाँगर भरभराएर आउँदैन ।’

नेपाली र अंग्रेजी भाषा सुधार्ने प्रयास विद्यालय स्तरबाटै हुनुपर्ने प्रसाईंको मत छ । त्यो सँगै भूगोलअनुसार स्थानीय भाषा पनि अध्यापन गराउन सक्नुपर्ने उनको भनाइ छ । स्थानीय भाषा सिकाउँदा र त्यसमा अनुवाद गर्दा पाठक बढ्ने प्रसाईंको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?