+
+
यात्रा संस्मरण :

जनावर नै देख्न नपाइएको शिकार-आरक्ष ढोरपाटन

डा. बद्री पोख्रेल डा. बद्री पोख्रेल
२०७९ पुष ९ गते १८:२७

स्वदेश र विदेशका यात्रा गर्ने सन्दर्भमा नेपालका ७७ जिल्ला र विश्वका ४० वटा जति देशमा पुग्ने अवसर मिलेपनि ढोरपाटन शिकार आरक्षमा पुग्न पाइएको थिएन ।

कुनै पनि नाम चलेका सम्भाव्य ठाँउमा नपुगुञ्जेल मनमा चैन नहुने र  कहिले पुगौंला भन्ने हुटहुटी भैरहने अवस्थामा हामी ५ जना (श्रीमती उर्मिला, छोरा उमेश, छोरी गीता, नाती सुुगत र आफैं) २०७९ मार्ग ६ गते ढोरपाटन शिकार आरक्ष पुगेका थियौं । तर त्यहाँ पुग्दाको कठिनाई र असुविधाको अनुभव गर्दा भने अरु ठाँउको यात्रालाई विर्सिएँ पनि ढोरपाटन यात्राको स्मृति रहिरहने जस्तो अनुभव भएको छ ।

यसअघि स्वदेशका यात्रामा सगरमाथा र अन्नपूर्ण हिमालका वेस क्याम्पहरुमा पुग्दा भन्दा वाजुराका दुर्गम गाँउमा पुग्दाका अनुभव स्मरणिय थिए । अझ त्यो भन्दा जटिल र सधै संझनामा आइरहने यात्रा जाजरकोटबाट डोल्पा पुग्दाको थियो ।

झण्डै त्यसै कोटीको रहेछ, बुर्तिवाङबाट ढोरपाटनको यात्रा-अनुभव । विदेशतर्फ भने सवैभन्दा पछि पत्ता लागेको मनवविहीन महादेश अन्टार्टिका, स्विट्जरल्यान्डकोे इन्टरलाकेन, पेरिसको लुभ्र म्युजियम, ताञ्जानियाको सवैभन्दा गरिव वस्ती हेर्दाका अनुभवहरु उत्कृष्ट र स्मरणिय छन् ।

डा. बद्री पोख्रेल

यात्राबाट प्रसिद्ध लेखक र यात्रा विशेषज्ञहरु पाँच प्रकारको उपलब्धि हुने वताउँछन् ।  १. आनन्द, ज्ञान, स्मृति र दूरदृष्टि २. चिनारी, मित्रता र अनुभव, ३ दिग्दारी र एक्लोपनबाट मुक्ति, ४. शारीरिक, मानसिक र आत्मिक शुद्धता, ५. तेज फूर्ति र उत्साहमा वृद्धि । भनिन्छ, १० वटा किताव पढ्नु भन्दा एउटा यात्रा गर्नु उपलब्धिमूलक हुन्छ ।

‘मूढाको आगो ताप्नु बुढाको कुरा सुन्नु’, ‘हजार पटक सुनेको भन्दा एक पटक देखेको मनमा वस्छ’ (एशियन भनाई) आदिले पनि यात्राको महत्वलाई उजागर गरेका छन् । स्मृति संगाल, पदचिन्ह छोड (चीफ सेटल), जीवन भनेको साहसपूर्ण आनन्द मात्र हो (हेलेन केलर), वसुधैव कुटुम्बकम् (पूर्वीय चिन्तन) जस्ता उद्गार, उक्ति, र अनुभव मिश्रित उल्लेखहरुले पनि यात्राको महत्व र गरिमालाई स्पष्ट गरेका छन् । त्यसमाथि कविहरु भन्छन् –

यात्रा जीवन भन्नुमा फरक के झर्ना कुनै रुक्छ र ?

यात्रा हर्दम साधना गरिवसे के लक्ष्य भेटिन्न र ?

कविता संग्रह ‘म भित्र अर्कै छ’ २०५५,यात्रा कविता (बद्री पोख्रेल) ।

ढोरपाटन र मुक्तिनाथ यात्राको उद्देश्य राखेर काठमाडौंबाट २०७९ मार्ग ४ गते प्रस्थान गरेको हाम्रो टोली करिव ३ बजे वाग्लुङ पुग्दछ । वाग्लुङमा ढोरपाटनविषयकथप सूचना र जानकारी लिएर अघिबढेपछिरातको ९ बजे टोली बुर्तिवाङ उत्रन्छ ।

हल्का गाँउले अतिथि गृहहरु भएको बुर्तिवाङको एउटा होटलमा वसेर टोली भोलिपल्ट विहान ७ वजेतिर ढोरपाटन तिर अघि बढ्छ । ढोरपाटनसम्म पुग्दाको सडक विस्तार योजनाले दिएको थकाईले ‘साविकमा भन्दा ३ गुना बढी भारी वोकेको खच्चरलाई सजिलो वनाइदिन एउटा ढुंगा झिकिदिएको’ जस्तो बनायो ।

२-३ ठाँउमा उत्रिएर बाटोका ढुंगा पन्छाउदै गाडी घचेट्नु पर्यो भने २-३ ठाँउमा राम राम भन्दै छाती बलियो बनाउनु प¥यो । नेपाल एकपटक घुमेर पुग्दैन भनेर पर्यटन प्रवद्र्धन गर्न खोजेपनि न्यूनतम आवश्यकता (बाटो, होटल, सूचना सञ्जाल, विश्राम स्थल आदि)को कमीले ‘आफ्नो देश यस्तै छ, के गर्नु त’भन्दै यात्रा गर्ने आन्तरिक पर्यटकवाहेक सुविधा र एड्भेञ्चरका वीच तुलना गर्ने वाह्य पर्यटकको संख्यामा अपेक्षित बढोत्तरी हुन सकेको देख्न पाइएन ।

जे भएपनि हाम्रो टोलीका सदस्यमा देश विदेशका धेरै यात्रा अनुभव भएकाले आ-आफ्ना अनुभव साटासाट गर्दै बुर्तिवाङबाट ५ घण्टा जतिमा करिव १२ बजेतिर ढोरपाटन आरक्षको सीमाना पाटनको द्वारमा पुग्न सक्यौंं ।

ढोरपाटन प्रवेश गर्नु अघि आर्मीको क्याम्प रहेछ, भ्रमणको उद्देश्य, फर्कने मिति आदिवारे आर्मीले सोधेको जवाफ दिएर त्यहाँबाट धार्मिक नदी उत्तरगंगा तरी ढोरपाटनको मैदानमा पुग्यौं । ढोरपाटन पुगेपछि त्यहाँ घुम्ने ठाँउ, त्यहाँको विशेषता, होटल आदिवारे जानकारी दिने कुनै संयन्त्र होला भन्ने हाम्रो अपेक्षा थियो । तर केही देखिएन । ठाँउ चिसो चिसो थियो । गाउँ घर पनि अलि टाढै रहेछन् । थाकेका र भोकाएका हामी रनभुल्लमा प¥यौं ।

आरक्ष घुम्न आएकाले होला हाम्रा आँखा आरक्षकै साइनबोर्डमा गएर ठोक्किए । आरक्षका स्टाफहरु घाम तापेर वसेका रहेछन् । वर्दिया, चित्तौन, पर्सा, वाँके, शुक्लाफाँटा, कोशीटप्पु आदि वन्यजन्तु आरक्ष क्षेत्रहरु घुम्ने अवसर पाइसकेकाले  आरक्षका कामबारे हामीलाई सामान्य जानकारी थियो । त्यसैका आधारमा ढोरपाटका वारेमा पनि जिज्ञासा राख्यौं ।

शिकार आरक्षका वार्डेन निर्वाचनमा खटिएकाले सहायक वार्डेन मन्दिप पंगेनीले हाम्रा जिज्ञासाका जवाफ दिएका थिए । उनले हामीलाई त्यहाँको सूचना केन्द्रमा लगे र ढोरपाटनमा पाइने जनावर, शिकारको समय, विधि, शिकार खेल्न आउने पर्यटक र तिनका आकांक्षावारे जानकारी गराए । जम्मा १३२५ वर्ग किलोमिटर क्षेत्रफल भएको ढोरपाटन शिकार आरक्ष पश्चिम नेपालको रुकुम, वाग्लुङ र म्याग्दी जिल्ला क्षेत्रमा पर्ने रहेछ ।

जिल्लागत रुपमा यो आरक्ष रुकुममा ६० प्रतिशत, वाग्लुङमा २६ प्रतिशत र म्याग्दीमा १४ प्रतिशत भूभागमा फैलिएको छ । आरक्षको उत्तरी सीमाना तिर धौलागिरी हिमशृंखला अन्तर्गतका पुथा, चुरेन र गुर्जा हिमाल पर्दछ । यो आरक्ष समुद्र सतहदेखि कम्तीमा २००० मीटर र बढीमा ७२४६ मीटरसम्ममा अवस्थित छ ।

ढोरपाटन शिकार आरक्षको स्थापना वि.सं. २०३९ मा भैसकेको भएपनि २०४४ मा मात्र राजपत्रमा प्रकाशित भएको थियो । यो आरक्षलाई संसारभरका संरक्षित क्षेत्रको वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था विश्व संरक्षण संघले छैटौं श्रेणीको संरक्षण क्षेत्रमा वर्गिकरण गरेको रहेछ । । ढोरपाटन शिकार आरक्षलाई ७ वटा ब्लक (सुन्दह, सेङ्ग, घुस्तुङ, दोगाडी, वासे, फागुने र सुर्तिवाङ्ग)मा विभाजन गरेको जानकारी पनि हामीले सूचना केन्द्रबाट पायौं ।

ढोरपाटन आरक्षमा वन, खर्क, सिमसार, भीर पहरा र हिउँले ढाक्ने समेत रहेछ । त्यहाँ हावापानी पनि शीतोष्ण, लेकाली, हिमाली सवै किसिमको हुनेरहेछ । गर्मीमा करिव १५ डिग्री फरेनहाइटको तापक्रम हुनेदेखि जाडोमा सून्य डिग्री र त्यो भन्दा कमको पनि तापक्रम हुने बुझियो । जाडो बढेपछि मध्यवर्ती क्षेत्रका वासिन्दाहरु घरपालुवा वस्तु लिएर तल्लो भेगको न्यानोतिर वस्न जादा रहेछन् ।

ढोरपाटनमा पाइने जनावरहरुमा नाउर, रतुवा, मृग, झारल, वदेल प्रमुख रहेछन् ।

ढोरपाटनमा शिकार खेलाउने पहिलो पेशेवार कम्पनी नेपाल वाइल्डलाइफ एड्भेन्चर रहेछ । यो कम्पनीले वि.सं. २०३० देखि नै शिकार खेलाउँदै आएको र पछि हिमालयन सफारिज् प्रालि, ट्राक्स एण्ड ट्रेल्स्, नेपाल वाइल्डलाइफ सफारी प्रालि, ग्लोवल सफारिज नेपाल प्रालि, ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालि आदि संस्थाहरुले पनि त्यहाँ शिकार गराउँदा रहेछन् ।

सन् २०१३-१४ देखि सन् २०१६-१७ सम्मका ४ वर्षमा शिकारी पर्यटकहरु क्रमशः २२, ३०, २३, २९ गएका र तिनीहरु अमेरिका, स्पेन, रुस, जर्मनी, नर्वे, मेक्सिको, क्यानाडा, फ्रान्स, द.अफ्रिका, स्विट्जरल्यान्ड, अर्जेन्टिना, डेनमार्क, वेल्जियम, काजकिस्तान, इटाली, अष्ट्रेलिया, लात्भियसमेतका रहेको तथ्यांक पनि सूचना केन्द्रमा पाइएको थियो ।

शिकार पर्यटन र उच्च पहाडी क्षेत्रका पारिस्थितिक प्रणालीको संरक्षण गर्नु नै प्रमुख उद्देश्य भएको ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष भए पनि यसले त्यहाँ शिकार गर्न जानेहरुलाई पर्याप्त सुविधा र सुगम पहुँच पु¥याउन नसक्दा लक्ष्यअनुसारको उपलब्धि लिन सके जस्तो लागेन ।

मध्यवर्ती क्षेत्र बनाउने सोच र योजना भएपनि कार्यान्वय नहुन सकेको रहेनछ । यद्यपि आरक्षको उद्देश्य नेपालको संविधान २०७२ का ेधारा ५१ अनुसार राज्यले अवलम्वन गर्ने वातावरणिय स्वच्छता सम्बन्धी चेतना वृद्धि गर्ने, भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने, वनवन्यजन्तु र जैविक विधताको संरक्षण गर्ने, तिनीहरुको दिगो उपयोग गर्ने नीति अनुरुप राष्ट्रिय निकुञ्ज, आरक्ष आदिको स्थापना गर्ने र त्यसै अनुसार ऐन नियम बनाएर कार्यान्वयन गर्ने रहेछ ।

शिकार आरक्षको स्थापना र सञ्चालन गर्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र त्यस अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ आदि बनेका रहेछन् । जम्मा ७ ० जना कर्मचारी दरबन्दी भएको ढोरपाटन शिकार आरक्ष अन्तर्गत निसेल ढोर, गुर्जाघाट, गुर्जाखानी, तक्सेरा, पेल्मा र देउराली समेतका ६ पोेष्टमा कर्मचारीलाई सेक्टर, रेञ्जर पोष्ट र गार्ड पोष्ट कायम गरी खटाएर शिकार व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भएको जानकारी पाइयो । तर हामीले शिकार गर्न स्वीकृति दिने गरेका जनावर भने देख्न पाएनौं । शिकार गर्ने क्षेत्र, शिकार खेल्ने विधि आदिवारे भने पर्याप्त जानकारी लियौं ।

वन्यजन्तु र वातावरणको संरक्षण गरी पारिस्थितिक सन्तुलन कायम गर्न भनी सञ्चालन हुँदै आएको एक मात्र शिकार आरक्ष ढोरपाटनले शिकार पर्यटन, वन क्षेत्रको काठ दाउरा, प्रवेश शूल्क समेतको राजस्व आव २०७१-७२ र ७२-७३ मा क्रमशः रु. १ करोड ७२ लाख ४८ हजार र रु. १ करोड २९ लाख १० हजार संकलन गरेको रहेछ ।

विश्वका ८ हजार मिटर भन्दा बढी उचाइ भएका १२ मध्ये ८ वटा हिमाल भएको नेपाल वन, वन्यजन्तु, पारिस्थितिक प्रणाली आदिका आधारमा विश्व पर्यटनका लागि आकर्षणको केन्द्र वन्दै आएको छ ।

नेपाली जनताको हार्दिकता, विश्वबन्धुत्व र मैत्रीभावको कारणले पनि पर्यटकहरुको आकर्षक क्षेत्रमध्ये नेपालले अग्रस्थान लिँदै आएको छ । त्यति हुँदा पनि हिमाल चढ्न, ट्रेकिङ गर्न र शिकार खेल्न आउँने प्रायः धनी पर्यटक र शिकारीलाई आकर्षण गर्ने भौतिक सुविधाको विस्तार र सूचना सञ्जालको कमीले गर्दा नेपालले आर्जन गर्न सक्ने सम्भाव्य लाभबाट वञ्चित हुनुपरेको देखियो । यसबारे सरकार र निजी क्षेत्रको ध्यान जानु दुवैको लागि लाभदायक हुने देखिन्छ ।

ढोरपाटन शिकार आरक्षका विषयक जानकारी लिएपछि सहायक वार्डेनले हामीलाई आरक्षको मचानमा लगी फाँट जंगल, उत्तरगंगाले वनाएको उपत्यका आदि देखाए । त्यसपछि उनैले आरक्षको कार्यालयदेखि करिव ४ किलोमिटर परको नेपालमा तिव्वती शरणार्थीहरु आएपछिको पुरानो गुम्वा (वानपो मोनाष्ट्री) देखाउन लगे । त्यहाँका धर्मगुरुसंग थोरै समय  कुराकानी गरेर हामी ढोपाटनको धार्मिक स्थल उत्तरगंगा र वराह मन्दिर हेर्न गयौं । स्थानीय जात्रा र मेला समेत हुने वराह मन्दिर अगाडिका धाराहरुमा मार्चन हेर्यौं। ।  त्यसपछि त्यसैदिन कतारमा भएको विश्वकप फूटबलको अर्जेन्टिना र साउदी अरेबियाको खेल पनि मन्दिपकै क्वाटरमा गएर हेर्यौं ।

वेलुकीपख घोडा चढईको रमाइलो समेतको अनुभव लिई रातको वासको लागि ढोरपाटन सामुदायिक होटलतिर लाग्यौं । रात परेपछि क्याम्प फायर समेत गरेर ढोरपाटन भ्रमणलाई सार्थक, ज्ञानवर्धक र सूचनामूलक बनायौं । भोलिपल्ट विहान ७ वजे हाम्रो टोली वाग्लुङ, म्याग्दी हुँदै मुक्तिनाथ-यात्राको उद्देश्य लिई फिर्ता प्रस्थान भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?