+
+

‘भ्वाइस’का विजेता करण राई भन्छन्- संगीतमार्फत नेपाली मनलाई जोड्छु

करणलाई लाग्छ, भोगाइ संगीत सिर्जनाको खास आयाम हो । शासकको उन्माद र जातीय राजनीतिको जाँतोमा थिचिएको परिवारको दुःखद् इतिहासलाई करण संगीतको महत्वपूर्ण पाटो ठान्छन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०७९ पुष १० गते १३:०५

काठमाडौं । डेडलक कपाल र खिरिलो ज्यान, संगीतको माधुर्यबाट मन्त्रमुग्ध पार्ने क्षमता । आवरण हेर्दा यस्तो लाग्छ, करण राई एउटा यस्तो ‘रकस्टार’ हुन् जो समकालीन संगीतमा हस्तक्षेप गर्ने सामर्थ्य राख्छन् ।

उनै करणले ४२ हजार ट्यालेन्टलाई पछि पार्दै ‘भ्वाइस अफ नेपाल’ चौथो सिजनको उपाधि जिते । भ्वाइसमा भाग लिन अमेरिकाको केन्टुकीदेखि काठमाडौंसम्मको यात्रा नापेका करणको संगीत संघर्ष प्रेरणादायी छ । विजेता बनेको भोलिपल्ट अनलाइनखबरसँग गफिएका उनले राजनीतिले विभाजन गरेको मनलाई जोड्न कसरी संगीत महत्वपूर्ण छ भन्ने सुनाए ।

तपाईंले काँचको पर्दा वा सामाजिक सञ्जालको टाइमलाइनबाट मात्र करणलाई मूल्यांकन गर्नुभएको छ भने सही नहुन सक्छ । उनलाई बुझ्न हामीले चार दशकअघिको त्यो ‘राजनीतिक मुभमेन्ट’लाई सिंहावलोकन गर्नुपर्छ जुन भोगाइलाई करण संगीत करिअरको खास उत्प्रेरक मान्छन् ।

भुटानी राजा जिग्मे सिंगे वाङ्चुकले जब सन् १९८९ देखि १९९३ सम्म ‘वान नेसन-वान पिपुल’अन्तर्गत नेपालीभाषी (ल्होत्साम्पा)माथि जुन जातीय दमन गरे, त्यसबाट प्रताडित दक्षिण भुटानका एक लाखभन्दा बढी नेपालीभाषी लखेटिए । उनीहरु भारत हुँदै पूर्वी नेपालमा आएर शरणार्थीको रुपमा आश्रय लिए । यसरी लखेटिनेमध्ये करणको परिवार पनि एक थियो ।

करण मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरमा जन्मिए । उनी त्यहाँ हुर्किए र संगीतको कखरा सिक्न थाले । शिविरमै उनले संगीतमा करिअर देखिसकेका थिए । १३ वर्षको हुँदा करणको परिवार तेस्रो देश पुनर्वास सिलसिलामा अमेरिका पुग्यो । भुटानी डायस्पोरामा उनले नेपाली संगीतलाई मलजल गरिरहे ।

राष्ट्रियताले भुटानी, जन्मले नेपाली र बसोबास अमेरिकामा । करणलाई लाग्छ, बसाइले नेपाली मन र नेपाली तनलाई फरक पार्दैन । ‘म नेपालमा जन्मिएको मान्छे । मेरो पूर्खा नेपालबाट भुटान गएको हो । भुटान गएपछि मेरो बाबाहरु फेरि नेपाल आउनुभयो । म यहाँ जन्मिएँ । मेरो बाल्यकाल नेपालमै बितेको छ,’ उनी नोस्टाल्जिक सुनिए ।

करणलाई लाग्छ, भोगाइ संगीत सिर्जनाको खास आयाम हो । शासकको उन्माद र जातीय राजनीतिको जाँतोमा थिचिएको परिवारको दुःखद् इतिहासलाई करण संगीतको महत्वपूर्ण पाटो ठान्छन् । ‘संगीतमा भोगाइ महत्वपूर्ण हो । म शरणार्थी क्याम्पमा जन्मिएँ । पानी परेको बेला ओत लागेर अर्को ठाउँमा ओछ्यान लगाएर सुत्नुपर्ने अवस्था थियो । यो कुराले मलाई संगीततर्फ प्रेरणा दिएको छ,’ करण भन्छन् ।

उनलाई लाग्छ, गीतसंगीतमा दरार हुँदैन । राजनीतिले अलग तुल्याएका मनलाई जोड्ने दम संगीतमा हुन्छ । संसारभर छरिएर रहेका नेपालीभाषीलाई एउटै संवेदनामा जोड्ने काम संगीतले गर्नसक्ने उनको ठम्याइ छ । ‘भ्वाइसमा मेरो सहभागिताको उद्देश्य नै यही हो,’ करण भन्छन्, ‘करिअरमा अघि बढ्न मलाई वर्षौं लाग्थ्यो होला तर भ्वाइसले छोटो समयमै मलाई मौका दिएको छ ।’

मानवीय स्वभाव नै हो, मूलथलोबाट टाढा भएपछि संस्कृति प्यारो हुन्छ । संस्कृति बग्ने चीज पनि हो । नेपालबाट बगेको संस्कृति आज विश्वभर फैलिएको छ । करणलाई यस्तै लाग्छ । भन्छन्, ‘नेपाली संगीतको मोह विदेशमा अझ धेरै हुन्छ । अमेरिकाजस्तो ठाउँमा गएर, उतै हराउँछु कि भन्ने डर थियो । तर त्यसपछि पछि हटिनँ । आज दर्शकले माया गर्नुभएको छ । त्यसैले यहाँ छु ।’

करणको संगीत यात्रामा दुई उत्पे्रेरक देखिन्छन् । पहिलो, परिवारिक पृष्ठभूमि भइहाल्यो । दोस्रो, गाउन र नाच्न भनेपछि आमा हुरुक्कै । संगीतप्रति आमाको अनुरागले करणमा सांगीतिक पालुवा पलाउन थाल्यो । उनी पनि आमालाई पछ्याउँदै संगीतमा हामफाले ।

‘सानैदेखि म गाउने, नाच्ने । आमा गीत गाउन रुचाउनुहुन्छ । आमाको खुनले पनि मलाई संगीततर्फ आउन प्रेरणा दियो,’ उनी भन्छन्, ‘घर, स्कुल हुँदै मेलामा पनि संगीतप्रतिको मेरो प्रतिभा फक्रिन थाल्यो । अनि मैले संगीतमा भविष्य खोजें । जहाँ पुगेको छु, नेपाली संगीत र संस्कृतिलाई जोगाउन हरदम प्रयास गरेको छु ।’

कोच राजुसँगको केमेस्ट्री

महावीर नै किन नहुन्, प्रतिस्पर्धामा पराजयको डर त हुन्छ नै । दबाब, अन्योल र शंकाको क्षण फिनालेमा हुने अनुभव धेरैको छ । करणलाई पनि यस्तै ‘डाउटफुल मोमेन्ट’ लागेको थियो । ‘सबैजना योग्य थिए । सविना, साहिल र योगेश सबै योग्य । डिजर्भ हुँदाहुँदै भोट तलमाथि भएर नै मैले जितेको हो । सुरु भएपछि अन्त्य त हुनैपर्छ,’ उनी भन्छन् ।

फिनालेमा दबाब महसुस गरेका करण जितपछि जिम्मेवारी महसुस भएको बताउँछन् । अनि तपाईंको लागि मुख्य प्रतिस्पर्धी चाहिं को नि ? प्रतिस्पर्धीको रुपमा अरुलाई नलिएको केही आदर्श सुनिने तर्क उनले पेस गरे । ‘सबैलाई प्रिय साथी र बहिनीको रुपमा लिएँ । कम्पिटिटरको रुपमा मैले कहिल्यै लिइनँ र लिनेछैन,’ उनी भन्छन् ।

अनि के भएपछि विजेता भइँदो रहेछ ? आफ्नो जितमा उनी दुईटा कारण देख्छन्– भाग्य र जनताको माया ।

कोच राजु लामाको प्रशंसामा उत्रिए करण । ‘कोच राजुबाट मैले धैर्यता सिकें । जतिसुकै दुःख होस्, कोच राजु हाँसिरहनुहुन्छ । धैर्यता, शालीनता र कामप्रतिको विश्वास । उहाँले मलाई सिकाउनुभएको पाठ भनेकै जीवनमा जस्तोसुकै अप्ठ्यारो किन नहोस्, हामी झुक्नुपर्छ । शालीन हुनुपर्छ र धरातलमा टेक्नुपर्छ भन्ने हो,’ उनी भन्छन् ।

वास्तवमा भ्वाइस अफ नेपालको संरचना कोचबीचको प्रतिस्पर्धा हो । जसले गर्दा प्रतिस्पर्धीलाई भन्दा पनि कोचलाई दबाब हुन्छ । जितपछि यही दबाबबारे कोच राजुले भनेका थिए, ‘मैले सगरमाथा चढें, टुप्पोमा पुग्दा दुई–तीन मिनेट त सपना हो भन्ने लागेको थिएँ । भ्वाइस जित्दा पनि त्यस्तै लागेको छ । हिमाल चढेजस्तै कठिन रह्यो यो क्षण ।’

भुटानको ‘अस्ट्रिच डेमोक्रेसी’लाई जवाफ

भ्वाइसको स्टेजमा करणको गायकीको चर्चा जति भयो, उति नै चर्चा उनको डेडलक कपालको भयो । हेयर स्टाइलको शैलीलाई लुक्समा नयाँपन दिन खोजेको उनी बताउँछन् । उनको पहिरन लगाउने तरिका पनि फेसन कन्सस नै छ । सामान्य पाइन्ट र सर्टलाई पनि स्टाइलिस शैलीमा लगाउनु र विशेष मोमेन्टमा चस्मा लगाउनु पनि उनको फेसन मन्त्र हो ।

ब्याटल राउण्डमा भ्वाइसकी प्रतिस्पर्धी नीतु पुनसँग औंठी साटेको कुराले चर्चा पायो । उनीहरु रिलेसनसिपमा छन् भन्ने गसिप चले । भ्वाइसबाट बाहिरिए पनि नीतुले सम्बन्धको अनुमानलाई खण्डन गरे पनि अनलाइनखबरसँग कुरा गर्दै करणले नीतु र आफूबीच केही सहमति भएको र त्यसलाई पछि सँगै सार्वजनिक गर्ने बताए । उनले सम्भावित रिलेसनसिपको अनुमानलाई अस्वीकार गरेनन् ।

‘हामीले सल्लाह गरेका छौं केही कुरा, पछि नीतु र म बसेर इन्टरभ्यु दिउँला नि,’ उनी भन्छन्, ‘त्यो खुसीको कुरा पनि हुन सक्छ ।’ तर अहिले आफू सिंगल नै रहेको करण बताउँछन् । विवाह जरुरी नभएको र अहिलेलाई करिअरमा फोकस हुने उनको योजना छ ।

‘अब निरन्तर काम गर्छु । उता गएर पनि संगीत नै गर्ने हो । यहाँ बसेर पनि नेपाली संगीत नै गर्ने हो । चाँडै अमेरिका पुगेर परिवार भेटेर फर्किन्छु र संगीतको कामलाई अघि बढाउँछु,’ करणको तत्कालीन योजना छ ।

करण अमेरिकी गायक चार्ली पुथका फ्यान हुन् । नेपालमा भने राजु लामा, राजेशपायल राईदेखि नारायणगोपालसम्मका फ्यान हुन् उनी । उनलाई मनपर्ने जनरा लोकपप हो ।

भ्वाइसको चौथो सिजनमा थिम्पुका रिहान गिरी पनि थपिएका थिए । उनको उपस्थितिले मात्रै भुटानी दर्शकले भ्वाइस अफ नेपाल हेर्न सके र संगीतमार्फत आफूहरु जोडिन सकेको महसुस गरे ।

अस्ट्रिचले मान्छे देख्यो भने टाउको जिउमा लुकाउँछ, मान्छेले आफूलाई नदेखोस् भनेर । तर उसलाई थाहा हुँदैन कि टाउको लुकाए पनि वा नलुकाए पनि उसलाई मान्छेले देखिरहेको हुन्छ । करण राई र किरण गजमेरको भ्वाइस अफ नेपालको जित भुटानको ‘अस्ट्रिच डेमोक्रेसी’लाई जवाफ पनि हो ।

करण, किरण र रिहान संगीतको माध्यमबाट राजनीतिले अलग तुल्याएका मनहरुलाई जोड्ने माध्यम हुन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : नवराज महरा

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?