+
+

मधेश प्रदेश सरकारमा एमाले, जसपा र जनमतको दाबी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ पुष ११ गते १३:११

११ पुस, जनकपुरधाम । केन्द्रमा भएको सत्ता समीकरण हेरफेरको प्रत्यक्ष असर मधेश प्रदेशमा पनि परेको छ ।

संघमा सुरु भएको राजनीति समीकरण अनुसार मधेश प्रदेशमा राजनीतिक कोर्ष अघि बढ्ने छ । मधेश प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न कसरत गर्दै थियो ।

मुख्यमन्त्रीको दौडमा कांग्रेस सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव प्रवल दाबेदार थिए ।

समीकरण फेरबदलले उनीहरुको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

अब यो प्रदेशमा संघमा हुने भागवण्डाको सहमति अनुसार नै कुन दल नेतृत्वको सरकार बन्ने तय हुने नेताहरु बताउँछन् ।

यहाँ नेकपा एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सरकारमा दाबी गरेका छन् । संघीय सरकारलाई समर्थन गरेका जसपा र जनमत पार्टी दुबै मधेशका निर्णायक दल हुन् । त्यसैले यी दुईमध्ये एक दलको नेतृत्वमा सरकार बन्ने संभावना बलियो छ ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट छ । प्रदेशसभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ । सरकार निर्माणको लागि आवश्यक बहुमतको लागि ५४ सिट आवश्यक पर्छ ।

प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल हो । दोश्रो २२ सिटसहित कांग्रेस, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल छ ।

६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ ।

केन्द्रमा भएको तालमेलबीच अनुसार मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा सदस्यको संख्या जोड्छ ६२ पुग्छ ।

मधेश प्रदेशमा चारवटा दलले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमाले, जसपा, जनमत र माओवादी केन्द्र नेतृत्वको लागि लविङ् थालेका छन् ।

एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले ठूलो दलको हैसियतले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताए । ‘मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमाले छ । स्वभाविक रुपमा अब एमालेले सरकारको नेतृत्व गर्छ’, उनले भने । यद्यपी केन्द्रमा दलहरुबीच हुने सहमति अनुसार कोर्ष अगाडि बढ्ने उनको भनाइ छ ।

मण्डल एमालेबाट दलको नेताका दाबेदार छन् । उनका अलावा सरोज यादव, हरिनारायण महतो र राजकुमार लेखी पनि एमालेको दलको नेताका आकांक्षी हुन् ।

मधेशमा सरकार नेतृत्वको दोश्रो सम्भावित दल जसपा हो । सत्ता समीकरण फेरिएपछि यो प्रदेशमा जसपा निर्णायक दल बनेको छ । अन्य प्रदेशहरुमा पनि जसपाको उपस्थिति छ । तर कमजोर छ । बलियो उपस्थिति मधेश प्रदेशमा भएकाले सरकारको नेतृत्व आफूहरुले नै गर्न पाउनु पर्ने प्रदेश सांसद रामअशिष यादवको तर्क छ ।

‘जसपा मधेश प्रदेशमा निर्णायक दल हो । अन्य प्रदेशमा हाम्रो उपस्थिति कम छ । बढी यो प्रदेशमै भएकाले अन्य ठाउँमा सहयोग गरेर यहाँ हामीले नेतृत्व गर्ने हाम्रो दावी रहन्छ’, जसपाका निवर्तमान संसदीय दलका उपनेतासमेत रहेका यादवले भने । उनीसहित जसपमा यसपटक मुख्यमन्त्री लालबाबु राउत पुनः दलका नेताका आकांक्षी छन् ।

मधेश प्रदशसभामा जसपापछिको दोश्रो निर्णायक दल हो जनमत । देउवा नेतृत्वकै गठबन्धनदेखि जनमतले मधेश प्रदेशमा मुख्यमन्त्रीको लागि बार्गेनिङ गर्दै आएको छ । कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर डा. सिके राउतसहित जनमतका नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने शर्त राख्दै आएका छन् । एक पद मात्रै भए पनि मधेश प्रदेशमा जनमतलाई मुख्यमन्त्री जसरी पनि चाहिने प्रदेश सांसद बसन्त कुशवाहा बताउँछन् ।

‘एमाले अध्यक्ष ओलीसँग पनि हाम्रो कुराकानी भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री हामीलाई चाहिन्छ । यसमा हाम्रो कुनै कम्परमाइज हुँदैन’ प्रदेश सांसद बसन्त कुशवाहाले भने, ‘अरु जसलाई जे लिनु छ लियोस् । तर मुख्यमन्त्री देओस् ।’

जनमतमा कुशवाहा पनि दलका नेताका दाबेदार हुन् । उनका अलावा प्रदेश सांसद शतिस सिंह, चन्दन सिंह, त्रिभुवन साह, सञ्जय यादव पनि दलका नेताका दाबेदार छन् ।

माओवादीले यो प्रदेशमा नेतृत्वको दाबेदार छ । माओवादीका निवर्तमान संसदीय दलका नेता समेत रहेका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आफ्नो पार्टीको पनि नेतृत्वको दाबी रहेको बताए ।

यद्यपी संघमा हुने भागवण्डा अनुसार नै यहाँ सरकारको नेतृत्व कुन दलले गर्ने तय हुने उनको भनाइ छ । यो प्रदेशमा चार दलले नेतृत्वको दावी गरे पनि जसपा र जनमत पार्टीको नेतृत्वको बढी सम्भावना रहेको देखिन्छ । अन्य प्रदेशमा यी दुई दलको न्युन र यो प्रदेशमा बढी रहेकाले आलैपालो भए पनि दुबै दलले सरकारको नेतृत्व गर्ने गरी संघमा सहमति हुने प्रवल सम्भावना रहेको माओवादीका एक प्रदेश सांसदको तर्क छ ।

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ हुन बाँकी नै छ । कहिले सपथ ग्रहण समारोह राख्ने भन्ने विषयमा टुंगो लगाउन सोमबार प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै छ ।

सम्भवत: शुक्रबार सपथ ग्रहणको समय तय हुने सम्भावना रहेको नेताहरु बताउँछन् । सपथ समारोह एकदिन अघि प्रदेशसभा मध्येका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोविन्दबहादुर न्यौपानेलाई सपथ ग्रहण गराइने प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसपछि उनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने तयारी छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?