+
+

५ दृश्य, जसले प्रचण्डको शपथग्रहणलाई रोचक बनाए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १९:०७

११ पुस, काठमाडौं । शपथ ग्रहण औपचारिकताको कार्यक्रम हो । तर आज ११ पुसमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा देखिएका दृश्यहरुले औपचारिकतामात्रै दर्शाउँदैनथे । नेताहरुबीचको उल्लास, तिक्तता सबै प्रकट भइरहेको थियो, शपथ ग्रहण समारोहमा । हामीले देख्यौं :

१) ब्राण्ड दौरा सुरुवाल : यसअघि दुईपल्ट प्रधानमन्त्री बनिसक्दा पनि पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएका थिएनन् । प्रधानमन्त्री बन्ने पक्का भएसँगै उनले हतार हतार सेतो रंगको दौरा सुरुवाल सिलाउन दिए ।

जीउमा टिमिक्क मिले पनि नयाँ पहिरनले उनलाई कताकति असजिलो भइराख्यो क्यारे । आज ११ पुसमा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहभरी उनी घरि आफ्नो लुगातिर हेर्दै, घरि यताउता हेर्दै आफ्नो अप्ठेरो प्रकट गरिरहे ।

खैरो दौरा सुरुवालमा शीतल निवास पुगेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सायद प्रचण्ड प्रधानमन्त्री बनिहाल्लान् भन्ने कल्पना पनि गरेका थिएनन् । उनी पनि घरिघरि प्रचण्डको सेतो दौरा सुरुवालमा हेरिरहेका थिए ।

२) देउवाले दोहोर्‍याए पुरानो शैली : शपथ ग्रहण चलिराख्दा बीचैमा देउवा हिँडे । प्रचण्डको शपथग्रहण सकिएलगत्तै उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी हुँदैमा उनी हिँडेका हुन् । शपथग्रहणको सामान्य शिष्टाचारभन्दा बाहिर गएर देउवा हिँडेको देखियो ।

यसअघि ५ वर्षअघि केपी ओलीले वाम गठबन्धनका प्रधानमन्त्रीका रुपमा शपथ लिँदा उनै देउवाले तिक्तता प्रष्टै झल्किने गरी ओलीको हात कसिलो गरी पक्रेका थिए । हातभरि सुई घोप्दा घोप्दा ठूला बनेका हत्केलामा ओलीले देउवाको कर्‍याप्प हात मिलाइसँग असहज महसुस गरेको प्रष्टै अनुभूति हुन्थ्यो । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले यो दृश्यलाई निकै प्रभावकारी ढंगले आफ्नो क्यामरामा कैद गरेका थिए ।

३) ओली–माधव र उपेन्द्र–सीके सँगै, तर मौन : एमाले अध्यक्ष केपी ओली नयाँ गठबन्धनका केन्द्रीय नेता हुन् । विगतका एमाले महासचिव तथा आफ्ना नेता माधव नेपालसँग उनको सम्बन्ध केही वर्षयता तिक्त छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै बिहान अनलाइनखबरसँग कुरा गर्दै आफू सुरुमा एमालेबाट, त्यसपछि कांग्रेस र माओवादीबाट एक्लै परेको दुखेसो सुनाएका थिए ।

तिनै अध्यक्ष नेपालसँग ओलीको सिट निर्माण भयो, सँगसँगै । उनीहरु हुप्प फुलेर बसिरहेका जस्ता देखिन्थे । हात चाहिँ मिलाए कि मिलाएनन्, दृश्यमा देखिएन । तर उनीहरुबीच सायदै हाइहेलो भयो ।

 त्यस्तै अवस्था देखियो सीके राउत र उपेन्द्र यादवको । सप्तरी २ मा जसपा अध्यक्ष यादवलाई भारी मतान्तरले हराएर संसद प्रवेश गरेका जनमत पार्टी अध्यक्ष राउत र उनको सिट शपथ ग्रहण समारोहमा सँगै परेको थियो ।

पराजित भए पनि यादवले आफ्नो हार स्वीकार गरेका छैनन् । उनले आफूमाथि धाँधली र धोका, षड्यन्त्रपूर्वक हराइएको टिप्पणी गरेका छन् । तिनै राउत र यादव सँगसँगै बस्दा पनि औपचारिकता साटासाट भएको देख्न पाइएन ।

४) प्रचण्डले हटाएका रवि प्रचण्डसँगै : नेपाल टेलिभिजनमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउँथे रवि लामिछाने । एमाले अध्यक्ष केपी ओली पहिलोपल्ट प्रधानमन्त्री बनेका बेला यो सुरु भएको थियो । ०७३ मा प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बनेसँगै यो कार्यक्रमबाट रविलाई हटाएका थिए । त्यसपछि यो कार्यक्रम केही समय बबिन शर्माले चलाएका थिए ।

प्रचण्डले हटाएका तिनै रवि प्रचण्डकै तेस्रो प्रधानमन्त्री कालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पुगेका छन् ।

५) प्रचण्डसँग छुटेर एमाले गएकी ज्वालाकुमारी प्रचण्डकै मन्त्री : माओवादी केन्द्रकी नेतृ ज्वालाकुमारी साह नेकपाभित्रको विवादका क्रममा एमाले प्रवेश गरिन् । उनलाई माओवादीले फर्काउने कोशिस नगरेको होइन । तर उनी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत सँगै एमाले पसिन् ।

उनै ज्वालाकुमारी प्रचण्ड नेतृत्वको क्याबिनेटमा मन्त्री बनेकी छन् । हाललाई उनको मन्त्रालय तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?