+
+

प्रचण्डको दौरा सुरुवाल अवतार

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष ११ गते २०:२५

११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा हमेसा टाइ–सुट र भादगाउँले टोपी लगाउँथे ।

शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २ असार २०६३ मा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र डा. बाबुराम भट्टराई दुवैले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए ।

भदौ २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले टाइ–सुटसँगै भादगाउँले टोपी लगाए । औपचारिक कार्यक्रमहरूमा उनले यो पोशाकलाई निरन्तरता दिँदै आएका थिए । राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको जोडकोण मिलाउन आफूले प्रायः टाइ–सुट र भादगाउँले टोपी लगाउने गरेको उनको तर्क थियो ।

‘कम्युनिस्ट भनेका अन्तर्राष्ट्रियवादी हुन्’, दुई वर्षअघि प्रचण्डले बीबीसी नेपाली सेवासँग भनेका थिए, ‘माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे, अहिले त्यसलाई सुट र टाइमा परिणत गरिएको छ ।’

सोमबार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदा भने उनले दौरा सुरुवाल रोजेका छन् । सेतो दौरा सुरुवालमाथि खैरो कोर्ट लगाएर राष्ट्रपति कार्यालय, शीतल निवास पुगेका उनी सपथ ग्रहण समारोहमा बारम्बार दौराको फेरो मिलाइरहेको देखिन्थे ।

दौरा सुरुवाल रोज्नुको अर्थ

२०६८ सालभन्दा पहिला दौरा सुरुवाल र गुन्युचोली नेपालको राष्ट्रिय पोसाक थियो । तर सशस्त्र विद्रोहताका माओवादीहरू दौरा सुरुवाललाई महेन्द्रीय राष्ट्रवादसँग जोड्थे । राजा–महाराजाले नेपालको विविधतापूर्ण समाजमा रहेको जातजाति र संस्कृतिमाथि एक भाषा एक भेषको नीति लादेको भन्दै माओवादी नेताहरूले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दौरा सुरुवाल लगाएनन् ।

प्रचण्डले झै डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन् । शीर्ष नेताहरूलाई पछ्याएर माओवादीबाट मन्त्री बनेकाहरूले पनि दौरा सुरुवात लगाएनन् ।

तर हिजो विरोध गर्ने माओवादी नेताहरू भने क्रमशः दौरा सुरुवालतिर आकर्षित भइरहेका छन् ।

१५ कात्तिक २०७२ मा उपराष्ट्रपति बनेका माओवादी लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङले शपथका बेला दौरा सुरुवाल लगाए । त्यसपछि पनि सार्वजनिक कार्यक्रममा टाइसुट लगाउने गर्थे । पछिल्लो समय दौरा सुरुवाल लगाउँछन् ।

मन्त्री हुँदा दौरा सुरुवाल लगाउनेमा तत्कालीन माओवादी नेतामा टोपबहादुर रायमाझी पर्छन् । २०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री हुँदा उनले दौरा सुरुवाल लगाएका थिए । हाल उनी नेकपा एमालेमा छन् ।

२६ फागुन २०७४ सभामुख बनेका माओवादीका नेता कृष्णबहादुर महराले पनि दौरा सुरुवाल लगाए ।

डा. बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गबाट पूर्वपश्चिम यात्रा गर्दा कर्णाली पुग्दा दौरासुरुवाल लगाए । ९ फागुन २०७५ मा ‘देश अनुसारको भेष’ भन्दै दौरा सुरुवाल लगाएको तस्वीर सार्वजनिक गरेका थिए । महरा पदमुक्त भएपछि १२ माघ २०७६ मा सभामुख बनेका माओवादीका नेता अग्निप्रसाद सापकोटाले पनि दौरा सुरुवाल लगाए ।

माओवादी सशस्त्र विद्रोहबाट आएका रामबहादु थापा बादलले समेत दौरा सुरुवाल लगाइसकेका छन् । ५ वैशाख २०७८ मा ओली नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्रीका रूपमा पुनर्नियुक्ति पाउँदा दौरा सुरुवाल लगाएका थिए ।

माओवादी वरिष्ठ उपाध्यक्ष नेता नारायणकाजी श्रेष्ठ, राम कार्की लगायतका नेताहरूले पनि मन्त्रीको सपथ लिने क्रममा दौरा सुरुवाल लगाएका थिए ।

सशस्त्र विद्रोहका ‘सुप्रिमो’ प्रचण्डले अहिलेसम्म दौरा सुरुवाल लगाएका थिएनन् । यसबारे दुई वर्षअघि सोधिएको प्रश्नमा प्रचण्डले सोच विचार गरेर नै दौरा सुरुवाल नलगाएको बताएका थिए ।

‘मैले एउटा पोशाकमा गएर केन्द्रित भइदिँदा अरू भेषभूषा, संस्कृति र परम्परा भएका जनताको मनमा के लाग्ला भन्ने कारणले मैले नलाएको हुँ,’ उनले भनेका थिए ।
त्यतिबेलै उनले सन्दर्भ मिलेका दिन आफूले दौरा सुरुवाल लगाउनुपर्छ भन्ने सोचेको बताएका थिए ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बन्दा दौरा सुरुवाल रोजेका छन् । यसलाई माओवादी नेताहरूले जुन परिस्थितिमा प्रधानमन्त्री बनेका छन्, त्यसलाई पोशाकमा प्रतिबिम्बित गर्न खोजेको अर्थ लगाएका छन् ।

माओवादी सचिव गणेश साह भने यसलाई प्रचण्ड र माओवादीमा आएको रूपान्तरणका रूपमा बुझ्नुपर्ने बताउँछन् । ‘प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा असली माओवादी प्रधानमन्त्री थिए,’ उनको टिप्पणी छ, ‘दोस्रो पटक हुँदा रङ खुइलिएका माओवादी र अहिले रङ उडेको माओवादीका रूपमा प्रधानमन्त्री भएका छन् ।’

 तस्वीरहरु : विकास श्रेष्ठ

 

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?