+
+

चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा

डा. शरदसिंह यादव डा. शरदसिंह यादव
२०७९ पुष १२ गते १४:४३

हाम्रा बालबालिकालाई चकलेट मनपर्छ । उनीहरुले मीठो मान्ने चकलेट पशुपंक्षीलाई पनि मीठो लाग्न सक्छ भन्ने लाग्छ । तर चकलेट उनीहरुका लागि विषसमान हुन्छ । खासगरी कुकुरका लागि ।

अहिले घरघरमा कुकुर पाल्ने चलन बढेको छ । कुकुर पाले पनि त्यसलाई कसरी स्याहारसुसार गर्ने, कस्तो खानपान गराउने भन्ने कुरामा धेरैजसो अनभिज्ञ छन् । त्यसैले उनीहरु आफूलाई जे स्वाद लाग्छ, त्यही कुरा आफ्ना कुकुरलाई खुवाउने गर्छन् ।

तर मान्छेलाई मीठो लाग्ने धेरैजसो खानेकुरा कुकुरका लागि विषालु हुन्छ । घरपालुवाको मात्र कुरा होइन, सडकका कुकुरलाई पनि त्यस्ता खानेकुरा सम्भव भएसम्म दिनुहुँदैन । हुन त सडक कुकुरको कुरा गर्दा खानै नपाएका स्थिति धेरै छ । फोहोरमा उँधिनेर खानेकुरा खोज्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तो स्थितिमा सडक कुकुरलाई यो दिनुहुन्छ, यो दिनुहुन्न भन्ने कुरा कतिका लागि हास्यास्पद पनि लाग्न सक्छ ।

तर यस्ता मनकारी पनि यहाँ धेरै छन् जो सडक कुकुरका पनि खानेकुरा बचाएर राख्ने गर्छन् । उनीहरुले के कुरामा चाहिं ध्यान दिनुपर्छ भने हामीले खाइरहेका कतिपय खानेकुरा कुकुरले पचाउन सक्दैनन् । त्यस्ता खानपानले उनीहरु रोगी हुन्छ ।

जस्तो हामीलाई मसालेदार खानेकुरा स्वाद लाग्छ । मासु, तरकारी तारेको वा मसला मिसाएको मनपर्छ । यस्तो खानेकुरा कुकुरलाई विष बराबर हुन्छ ।

पाकेको हड्डी

कतिपयले हेयभावले कुकुरलाई गाली गर्दा ‘हड्डीमा लुछाचुँडी गर्ने जात’ पनि भन्ने गर्छन् । त्यसैले मान्छेलाई के लाग्छ भने कुकुरका लागि हड्डी उपयुक्त खुराक हो ।

मान्छेले मासु खाँदा बाँकी रहेको हड्डी, छाला आदि कुकुरलाई दिने गर्छन् । यस्तो खानेकुरा कुकुरका लागि निकै हानिकारक हुन्छ ।

चिल्लो तथा घिउ

घिउ पोषिलो र स्वादिलो खानेकुरा हो । खानामा थोरै घिउ मिसाएपछि स्वाद दोब्बर हुन्छ । तर यस्तो स्वाद मान्छेका लागि हो कुकुरका लागि भने घिउ राम्रो मानिंदैन । बोसो, तारेको वा भुटेको, घिउ मिसाएको खानेकुरा कुकुरका लागि एकदमै हानिकारक हुन्छ ।

अंगुरसुन्तला

फलफूल मान्छेका लागि स्वस्थ्यवद्र्धक मानिन्छ । स्वस्थ जीवनका लागि फलफूल खानु अनिवार्य नै हो भनिन्छ । तर कुकुरलाई धेरैजसो फलफूल विषसमान हुन्छ । अंगुर त कुकुरलाई दिनै हुन्न । यसैगरी मौसमी सुन्तला, एभोकार्डो पनि कुकुरलाई हानि गर्ने फलफूल हुन् । कुकुरलाई स्याउ, खर्बुजा मात्र उचित हुन्छ ।

चकलेट

मान्छेले माया गरेर कुकुरलाई चकलेट दिने गर्छन् । चकलेट हामीलाई मीठो लाग्छ तर कुकुरलाई होइन । कुकुरका लागि चकलेट विषालु खाना हो ।

जुठो भात

अक्सर मान्छेले कुकुरलाई जुठो भात दिने गर्छन् । तर मान्छेले आफ्नो स्वादअनुसार मसालेदार, चिल्लो, पीरो खानेकुरा खाएका हुन्छन् । यस्तो खानेकुरा बाँकी रहेपछि कुकुरलाई दिइने गरिन्छ, जो कुकुरका लागि हानिकारक हुन्छ ।

कस्तो खानेकुरा दिने ?

कुकुरको लागि मासु नै राम्रो खुराक हो । ताजा मासु उसिनेर दिनु राम्रो हुन्छ । त्यसैगरी उसिनेको अण्डा, सिमी, फर्सी, साग लगायत उपयुक्त हुन्छ । कुकुरलाई नुन, तेल दिनु हुन्न । यद्यपि स्वादका लागि एक चिम्टी नुन दिएमा त्यस्तो हानि गर्दैन ।

कुकुरलाई दिइने खानेकुरा उसिनेको हुनुपर्छ । तारेको, पोलेको खानेकुरा राम्रो मानिंदैन । मान्छेलाई जस्तो कुकुरलाई पनि सन्तुलन मिलाएर खुवाउनुपर्छ । सम्भव भएसम्म बिहान र साँझको छाक फरक-फरक खाना दिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?