+
+
सांसद सुशीला श्रेष्ठ :

‘पार्टीहरुले महिलाको अस्तित्व नै स्वीकार्दैनन्’

शपथका लागि निस्किनै लागेकी सुशीलाले जाँदाजाँदै भनिन्, ‘पार्टीभित्र महिलाको अस्तित्व नै स्वीकार्दैनन् र पो । महिलालाई कुनै नेताको श्रीमतीका रुपमा नभई नेताका रुपमा स्वीकार्‍यो भने मैले जसरी डिभोर्सको धम्की कसैले दिनुपर्दैन ।’

सागर चन्द सागर चन्द
२०७९ पुष १२ गते १८:२१

१२ पुस, काठमाडौं । पुस २०५१– मनमोहन अधिकारीको नेतृत्वमा एमाले सरकार चलाइरहेको थियो । सुशीला श्रेष्ठका श्रीमान अशोक राई सांसद थिए । ०२९ देखि नै पार्टीमा सक्रिय सुशीला आफूले पनि जिम्मेवारी पाउनुपर्ने मागसहित एमाले मुख्यालय बल्खु पुगिन् ।

पुसको जाडोमा नेताहरु घाम तापिरहेका थिए । घाम ताप्दै गफिरहेका नेतालाई उनले भनिन्, ‘मलाई पार्टीमा जिम्मेवारी चाहियो, भूमिका दिनुपर्‍यो ।’

‘अशोकजीलाई सोध्नुहोस्, उहाँलाई नै भन्नुहोस्’, घाम तापिरहेको वरिष्ठ नेताले जवाफ फर्काए । सुशीला साथमा थिइन् एमालेकी महिला नेतृ सुजिता शाक्य । ती वरिष्ठ नेताको जवाफ सुनेर सुशीला र सुजाता दुवैजना छक्क परे ।

‘म अशोकलाई सोधेर राजनीतिमा आएको होइन । मेरोबारे त तपाईं जान्नु नै हुन्छ । अशोकसँग होइन, मैले पार्टीसँग जिम्मेवारी मागेकी हुँ,’ सुशीलाले आक्रोश मिश्रित भावमा बोलिन् ।

नेताहरु बोलेनन् । बरु सुशीला बोलिन्, ‘मलाई पार्टीमा जिम्मेवारी दिन अशोक नै बाधक भएका हुन् भने अहिले नै पत्रकार सम्मेलन गरेर अशोकसँग सम्बन्धविच्छेद गरेको घोषणा गर्छु ।’

नेताहरुले मुखामुख गरे । तर केही जवाफ फर्काएनन्, बरु उठेर हिंडे । नेताहरुको व्यवहार देखेर विरक्त मान्दै उनी फकिईन् ।

सुशीलाले ती नेताको नाम खोल्न चाहिनन् । ‘सबै अहिले पनि राजनीतिमै छन्, वरिष्ठ छन्, ठूला छन्’, उनले यति मात्र भनिन् ।

सुशीलाले सुनाएअनुसार उनी बल्खु गएको भोलिपल्ट बिहान खाना खाँदै गर्दा अशोकले सोधेका थिए, ‘हिजो के भयो ?’

‘कसले के भन्यो र ?’ श्रेष्ठले उल्टै सोधिन् ।

‘बाहुनी बहुलाई भन्दै थिए’, अशोकले सुशीलाप्रति नेताहरुले गरेको टिप्पणी सुनाए ।

‘मलाई बाहुनी भनेर बात लगाउने ?’ श्रेष्ठ झोक्किइन्, ‘म नेवार्नी हुँ, होइन भने राईनी हुँ ।’

अशोक केही बोलेनन् ।

यो घटनापछि सुशीला विस्तारै एमालेको राजनीतिक पर्दाबाट हराइन् । ०५४ मा एमाले विभाजन भएर माले नहुँदासम्म राजनीति उनका लागि भैपरी आउने घटना भयो, तपशीलको विषय बन्यो ।

यो तीतोपीरो संवाद भएको करिब ३० वर्षपछि ७ पुसमा श्रेष्ठको बसोबास रहेको काठमाडौं, बुद्धनगरस्थित स्वप्न बाटिका स्कुल पुग्दा उनी प्रतिनिधिसभा सदस्य (सांसद) को शपथ लिन जाने हतारोमा थिइन् । राजनीतिमा लागेको पाँच दशकपछि सांसद भएकी श्रेष्ठलाई बधाई थाप्न भ्याई–नभ्याई थियो । राजनीतिक जीवनका तीता–मिठा घटनाको स्मृति उनको मानसपटलमा छताछुल्ल थिए ।

अहिले ६५ वर्ष पुगेकी सुशीला राजनीतिमा लाग्दा किशोरअवस्थामा थिइन् । पञ्चायतको जगजगी रहेका बेला रामेश, मञ्जुलका गीत सुनेर ताप्लेजुङमा ९ कक्षा पढ्दै गरेकी श्रेष्ठ राजनीतिमा जोडिएकी थिइन् । ‘१ महिने स्कुल टुरका बेला भोजपुरमा मञ्जुल, रामेशसंग भेट भयो’, श्रेष्ठले थाहा पाइन् समाजमा विभेद छ, विभेद समाप्त पार्न सकिन्छ, ‘रातभरि उहाँका गीत कापीमा सार्‍यौ र गाउन थाल्यौं ।’

रामेश, मञ्जुलको गीत र हेडमास्टर नन्दकुमार प्रसाईको संगतले उनलाई पञ्चायत विरोधी बनायो । सरदार रुद्रराज पाण्डे नेतृत्वको ‘राष्ट्रिय शिक्षा पद्धतिको योजना–२०२८’ अनुसार देशभर नयाँ शिक्षा लागू भयो । कम्युनिष्टहरु यसको विरोधमा लागे । ‘नयाँ शिक्षाको विरोध गर्दै हामीले जिल्लाका पाँच हाइस्कुल बन्द गर्‍यौं’, सुशीला पहिलो पटक राजनीतिक घटनामा सामेल भइन् । यतिखेर सुशीला ९ कक्षा पढ्थिन् ।

त्यसपछि स्कुल तहका राजनीतिक संगठनमा जोडिइन् । यही समयमा झापामा ‘झापा विद्रोह’ भयो । श्रेष्ठ झापा आन्दोलनमा सामेल भएकाहरुसँग भेट्न खोजिरहेकी थिइन् । गाउँमै उनले ‘झापा विद्रोह’को समर्थन गर्ने व्यक्ति भेटिन् । तर, आन्दोलनका अधिकांश मान्छे भूमिगत थिए । उनले भेटेका मान्छेहरु पनि विस्तारै भूमिगत भए ।

आईए पढ्न धनकुटा आएकी सुशीला ०३३ मा सरकारी छात्रवृत्ति पाएर बीएड पढ्न काठमाडौं आइन् । ताहाचाल क्याम्पसमा भर्ना भइन् । तर झापा विद्रोहमा संलग्न भएकाहरु र वामपन्थीको संगत गर्ने उनको हुटहुटी कम भएन ।

काठमाडौंमा उनले कम्युनिस्ट पार्टीको सम्पर्क खोज्ने प्रयास जारी राखिन् । हरेक शनिबार साथीहरु एकै ठाउँमा जम्मा भएर कुराकानी गर्थ । २०३४ सालको एक शनिबार उनीहरु टंक कार्कीको कोठमा भेला भए ।

सबै साथीहरु गफिइरहँदा कसैले टंक कार्कीको कोठामा ‘वर्ग संघर्ष’ पत्रिका ल्यायो र सुटुक्क बेडमुनि लुकायो । तत्कालिन ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी लेनिनवादी) मालेको मुखपत्र थियो ‘वर्ग संघर्ष’ । ‘वर्ग संघर्ष’ देखेपछि सुशीलालाई लाग्यो, मैले खोजिरहेको कम्युनिष्ट भेटिए ।

‘अनि मैले त्यो पत्रिका सुटुक्क आफ्नो झोलामा हालेँ’, सुशीलाको अनुहार चम्कियो, ‘पत्रिका कहाँ गयो भनेर कसैले सोधिखोजी गरेनन् । अर्कोचोटि जाँदा त्यही बेडमुनि राखिदिएँ ।’

भूमिगत र रत्न वान्तवाको हत्या

त्यही वर्ष (०३४ सालमा) सुशीला, नारायणी मगर र रवि चित्रकारहरु क्रान्तिकारी महिला संगठनमा जोडिए । सुशीलाले अमृत बोहराको हातबाट पार्टी सदस्यता लिइन् । झापा विद्रोहपछि कम्युनिष्ट पार्टीको सदस्यता लिएपछि भूमिगत हुनु अनिवार्य थियो ।

‘सरकारी स्कलरसीपमा पढिरहेकी म बुर्जुवा शिक्षा बहिस्कार गर्दै भूमिगत भएँ,’ सुशीला क्रान्तिका ती जोशिला दिन सम्झिन्छन्, ‘बसन्तपुरमा भाइहरु बस्थे, उनीहरुको कोठाको चामलको भाँडामा चिठी राखेँ ।’

‘के लेख्नुभएको थियो चिठीमा ?’

‘मेरो खोजी नगर्नू, म जनताको विश्वविद्यालयमा पढ्न जाँदैछु । कसैले सोध्यो भने मावल गएकी छु भन्दिनू’, सुशीला हाँसिन् ।

सुशीलालाई पार्टीले ताप्लेजुङको जिम्मेवारी दियो । जुन ठाउँ उनी छाडेर आएकी थिइन्, क्रान्तिका लागि त्यहीँ फर्किनुपर्ने भयो । मोरङ, झापा, इलाम हुँदै उनी ताप्लेजुङतर्फ लागिन् ।

पार्टीले उनका लागि इलाममा रत्नकुमार वान्तवालाई सम्पर्क व्यक्ति तोकेको थियो । वान्तवाको भूमिगत नाम थियो ‘महेश’ । १७ चैत ०३५ मा इलामको इभाङमा सुशीला र वान्तवाको भेट भयो । २७ चैतमा वान्तवा, श्रेष्ठ ताप्लेजुङतर्फ सोझिए ।

बाटैमा सादा पोसाकमा रहेका प्रहरीले वान्तवा र सुशीलालाई घेराबन्दीमा पारे । वान्तवालाई प्रहरीले पक्राउ गरेपछि सुशीलाले प्रतिवाद गर्दै प्रहरीमाथि लौरो बजारिन् ।

‘लगत्तै मलाई पनि लौरोले हाने, मेरो टाउकोमा चोट लाग्यो । रगत आउन थाल्यो’, सुशीला सम्झिन्छन्, ‘रत्न भागिरहनुभएको थियो । पुलिसले गोली चलायो, उहाँ उछिट्टएर मेरै अगाडि लड्नुभयो ।’

त्यसपछि सुशीला बेहोस भइन् । होसमा आउँदा सुशीलाका हात बाँधिएका थिए । रत्नकुमार छटपटाइरहेका थिए । प्रहरीले उनीहरुको साथमा रहेको झोला नियन्त्रणमा लिइरहेको थियो । ‘त्यो झोलामा पार्टीका कागजात थिए, मेरो फोटो पनि थियो’, सुशीलाले त्यतिबेलाको घटना सुनाइन्, ‘मेरो अगाडि रत्नकुमार छटपटाइरहनु भएको थियो । उहाँको मुख चलिरहेको थियो, तर बोली आइरहेको थिएन ।’

हाँत बाँधिएकी सुशीलासँग आफ्ना कमरेडको पीडा टुलुटुल हेरिरहनुको विकल्प थिएन । केहीबेरमा रत्नकुमारको शरीर छटपटाउन छाड्यो ।

रत्नकुमारको मृत्यु भएको पक्का भएपछि प्रहरीले नजिकै खोल्सामा लगेर पात पतिङ्गरले शव छोपेर राखे । पछि फेरि निकालेर गाउँ डुलाए । शवसँगै सुशीलालाई पनि डुलाए । अनि प्रहरीले सुशीलालाई यातना दिन सुरु गर्‍यो । ‘उनीहरुले जे सोधेपनि मैले केही भनिन’, सुशीला पक्का क्रान्तिकारी दरिइन् । बरु प्रहरीबाट भाग्ने योजना बनाइन्, साँझ खाना खाइसकेपछि शौचालय जाने बहानामा भाग्ने । शौच गर्न जाँदा प्रहरी पनि साथमा आएपछि सुशीलाले हकारिन्, ‘शौच गरेको पनि हेर्ने हो ?’

पुलिस वरै रोकिए । सुशीला खोल्सै–खोल्सा भागिन् । ‘म भागेको थाहा पाएपछि भटट गोली चल्यो । घाइते हुनाले म धेरै दौडिन सकिन । रुखको पोथ्राको आड लागेर बसेँ’, उनको जीवनको सबैभन्दा भयानक समय थियो त्यो । ‘भेटेको भए मलाई कुटेरै मार्थे होला,’ सुशीला अनुमान लगाउँछिन्, ‘मलाई कसैगरी फेला नपरेपछि चैतको सुकेको सल्लाको जंगलमा उनीहरुले आगो लगाएछन् ।’

आगोबाट जोगिन उनी खोल्सामा गएर ढुंगाको चेपमा लुकिन् । रात परेपछि उनले यात्रा सुरु गरिन् । ‘जुन घरबाट बिहान निस्किएका थियौं त्यहीं पुग्ने योजना थियो’, नभन्दै उनी पुगिन् पनि । त्यहाँ उनलाई गाउँलेले सहयोग गरे । नयाँ फेर्ने लुगा दिए, टाउकोमा लागेको चोटमा जडिबुटीको ओखती लगाइदिए । अनि सुरक्षा खतराका कारण राति फेरि जंगलमै लगेर राखे । बिहान उज्यालो हुनु अगावै उनलाई अर्को ठाउँमा पुर्‍याइयो । अर्को ठाउँमा पनि प्रहरीले पच्छ्यायो । लुकेको घरमै प्रहरी आइपुगेपछि सुशीला र साथमा रहेकाहरुले गोली चलाए, ‘त्यही मौकामा हामी घरको पछाडिको झ्यालबाट भाग्यौं ।’

झण्डै एक महिना उनको बास जंगलमा भयो । जंगलमा धेरै दिन बस्न सुरक्षित नदेखेपछि उनी पार्टीको सम्पर्कमा आउन भनेर खोलाको तिरैतिर झापा झरिन् । ‘त्यसपछि मलाई झापा, मोरङ र भोजपुरमा खटाइयो’ सुशीलाले सुनाइन् ।

अशोकसँग प्रेम

मान्छे आफू भूमिगत हुनसक्छ तर, भावना भूमिगत राख्न सक्दैन । यस्तै भयो सुशीला–अशोकको हकमा पनि । उनीहरुले अफ्नो प्रेम भूमिगत राख्न सकेनन् वा चाहेनन् ।

अशोकसँग पहिलो भेट कहिले भयो ठ्याक्कै सम्झना छैन सुशीलालाई । ०३३ मा टंक कार्कीको कोठाबाट सुटुक्क ‘वर्ग संघर्ष’ पत्रिका ल्याउने अशोक नै थिए भन्ने उनले पछि मात्र पाइन् । यो रहस्योद्घाटन हुँदा अशोक र सुशीला एक अर्कालाई प्रेम गर्न थालिसकेका थिए । काठमाडौंमा केही छिटपुट भेट भए । तर ती भेटमा सुशीला अशोकसंग धेरै आकर्षित भने भइसकेकी थिइनन् । अशोक भने सुशीलालाई एकतर्फी प्रेम गर्न थालिसकेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अशोक राई र सुशीला श्रेष्ठ ।

सुशीला काठमाडौंबाट ताप्लेजुङको जिम्मेवारी लिएर पूर्व हान्निएपछि उनलाई पच्छ्याउँदै अशोकको प्रेम पत्र आयो । पहिलोपटक प्रेम पत्र पाएपछि एकछिन के गर्ने ? कसो गर्ने ? भन्दै अताल्लिएकी सुशीलाले अन्तमा जवाफी प्रेमपत्र लेखिन् । जवाफी प्रेमपत्रमा उनले कूटनीतिक भाषा प्रयोग गरिन्, ‘मैले नाई पनि भनिन् हुन्छ पनि भनिन् । पत्र सकारात्मक तरिकामै लेखेकी थिएँ ।’

‘प्रेम अदृश्य हुँदो रहेछ’, सुशीलाले आफू अशोकको प्रेममा परेको चाल नै पाइनन् । इलाम घटनापछि भाग्दै लुक्दै मोरङ आइपुगेकी सुशीलाले मदन भण्डारीको बसेरालाई आश्रय बनाइन् ।

वान्तवाको हत्या भएको र सुशीला प्रहरी घेराबाट उम्केर मदन भण्डारीकहाँ आइपुगेको थाहा पाएपछि काठमाडौंबाट अशोक र अमृत बोहरा मोरङ आइपुगे । यो भेटघाटमा अशोक र सुशीलाबीच राजनीतिक बाहेक अरु विषयले प्रवेश पाएन । ‘कहिलेकाहीं भेट हुन्थ्यो । धेर बोलचाल हुन्थेन,’ सुशीला र अशोक इसारामा कुरा गर्थे ।

यो संकेत पाएर एकदिन मदन भण्डारीले सुशीलालाई सोधे ‘तपाईंहरु विवाह गर्ने हो ?’

पार्टी नेताले नै विवाहका लागि सोधेपछि सुशीला र अशोकले पार्टीमा निवेदन दिए । विवाह पनि गर्नू र पार्टीको काम पनि गर्नू भनेर ०३८ मा सुशीला र अशोकलाई पार्टीले भोजपुर पठायो । ०३८ मा अशोक र सुशीलाले विवाह गर्ने निर्णय गरे ।

सुशीलाकी आमाले भने मानिरहेकी थिइनन् । ‘जंगलको बास छ, कतिखेर पुलिसले मार्छ । यस्तोमा विवाह गरेर घरजम हुँदैन भनेर अमा मानिरहनुभएको थिएन,’ सुशीलाले आमालाई सम्झाउन प्रदीप नेपाललाई बोलाइन्, ‘उहाँले आमालाई सम्झाउनुभयो ।’ अनि सुशीला र अशोकले विवाह गरे । ‘हाम्रो विवाहमा मदन भने आउन सक्नुभएन, उहाँले चिठी पठाउनुभयो । विद्या भण्डारी भने हुनुहुन्थ्यो’, सुशीला सम्झिन्छन् ।

विवाहको एक वर्षपछि सुशीला गर्भवती भइन् । भूमिगत जीवनमा बच्चा हुर्काउन उनले साह्रै सकस झेल्नुपर्‍यो । जस्तोसुकै अवस्थामा पनि बच्चा हुर्काउने जिम्मा आमाको बढ्ता हुँदोरहेछ, दुई सन्तानकी आमा सुशीलाको अनुभवले यसै भन्छ ।

एक वर्षकी छोरी उदयपुरस्थित घरमा छाडेर उनी फेरि भूमिगत भइन् । तर ६ महिनाभन्दा धेरै बस्न सकिनन् । ‘भूमिगत भएर पार्टीको काममा छु, मन भने बच्चासंगै हुने, याद आइरहने’, त्यसपछि सुशीलाले अशोकलाई भनिन्, ‘तपाईलाई के हुन्छ थाहा छैन, म त बच्चासंगै जान्छु ।’ उनी उदयपुर आइन् । त्यतिबेलासम्म बच्चाले सुशीलालाई चिन्न छाडिसकेको थियो, अरुलाई नै आमा भन्न थालेको थियो । ‘मलाई त उसले पछिसम्म आन्टी भन्यो’, सुशीला सम्झिन्छन्, ‘मेरो त नजिक पनि आएन ।’

४१ सालमा सुशीलाले दोस्रो बच्चा पाइन् । यसपटक उनी बच्चा छाडेर पार्टीको काममा गइनन् । दोस्रो बच्चा हुर्काउन भनेर नाम परिवर्तन गरेर सुशीला विराटनगर बसिन् । विराटनगरमा हुँदा उनको भूमिगत नाम थियो सरला ।

दुई सन्तान हुर्काउनुपर्ने भएपछि विस्तारै सुशीला पार्टीको प्रत्यक्ष कामबाट टाढिन थालिन् । ०४६ सालको जनआन्दोलनले पञ्चायत ढल्यो, अशोक पनि खुला राजनीतिमा आए । ०४८ को आम चुनावमा अशोक खोटाङबाट सांसद निर्वाचित भए ।

सुशीला पनि अशोकसंगै काठमाडौं आइन् । ०५१ मा मध्यावधि चुनाव भयो, अशोक फेरि खोटाङबाट निर्वाचित भए । मनमोहन सरकारको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनाउँदा अशोक राई निर्माण भौतिक योजना तथा यातायात राज्यमन्त्री भए । सुशीला भने पार्टी राजनीतिबाट टाढिँदै गइन् । ‘पार्टीमा जिम्मेवारी देऊ भन्दा अशोकलाइ सोध भन्न थाले’, सुशीला त्यो घटना सम्झेर अहिले पनि आक्रोशित हुन्छिन् ।

त्यसपछि पनि उनले पार्टीमा भूमिका पाइनन् । कतिसम्म भने महिला संघमा उपाध्यक्ष भएपनि उनलाई निर्णय प्रक्रियामा सहभागी गराइएन । ‘पार्टी कार्यालय गयो भने नेतााहरु मलाई अनेमसंघ आयो भन्दै छेड हान्न थाले,’ सुशीला सम्झिन्छिन् ।

त्यही बेला मनमोहन अधिकारी नेतृत्वको सरकारले पञ्चायत विरुद्धको संघर्षमा भूमिगत भएका, संघर्ष गरेका, शहीद भएका नेतालाई ५३ हजार रुपैयाँ दियो । सुशीला र अशोकले गरी १ लाख ६ हजार रुपैयाँ पाए । त्यही पैसाले सुशीलाले स्वप्न वाटिका स्कुल खोलिन् । ‘बुर्जुवा शिक्षाको विरोधमा लागेकी म आफैँ पनि पढ्न थालँ र पढाउन थाले,’ सुशीला राजनीतिबाट टाढिइन्, ‘यतिञ्जेलसम्म राजनीति मेरा लागि भैपरी आउने चिज जस्तो भइसक्याथ्यो ।’

एमालेबाट टाढिएपनि एमालेले उनलाई हरेक महाधिवेशन प्रतिनिधि भने बनाइरह्यो । महाकाली सन्धिको पक्ष विपक्षमा एमाले फुटेर ०५४ मा माले बन्यो । सुशीला वामदेव गौतम नेतृत्वको मालेमा अवद्ध भइन् । चुनाव हारेपछि माले, एमालेमै विलय भयो । सुशीलाले एमालेमा विलय हुने प्रस्तावको विरोध गरिन् । ‘एमालेमा हुँदा पार्टीले मलाई गरेको अपमान र विभेद देखेरै म फेरि एमालेमा जान्न भनँे’, राजनीतिक प्राणीलाई राजनीति बाहिर धेरै बस्न मन लाग्दैन, ‘पछि फेरि मैले एमालेमा आफ्नो सदस्यता रिन्यू गराएँ ।’

सदस्यता नवीकरण गराएपछि एकदिन बामदेवँग भेट भयो । ‘सदस्यता रिन्यू गराएँ अब जिम्मेवारी दिनुहोस्,’ सुशीलाले बामदेवलाई भनिन् ।

‘म त सी ग्रेडको नेता के, जिम्मेवारी दिउँला र ?,’ बामदेवले जवाफ फर्काए ।

सुशीलाले उल्टो सोधिन्, ‘हामीले ए ग्रेडको नेता बनाएर राखेका थियौं, कसले भन्याथ्यो सी ग्रेडको नेता हुन जान ?,’

बामदेव चुप बसे ।

सुशीला एमालेको शिक्षा विभागको सदस्य भइन् । तर पार्टी राजनीतिमा यतिविघ्न सक्रिय हुन सकिनन् । बरु ०६९ मा अशोकले पहिचानको राजनीति गर्न एमाले छाड्दा सुशीलाले पनि सँगै छाडिन् ।

एमाले फुटेर माले हुँदा पनि अशोकसंगै मालेमा गएकी सुशीला किन फेरि अशोकसंगै एमाले छाडिन् ?

‘म अशोककी श्रीमती मात्र होइन । मेरो पनि राजनीतिक पृष्ठभूमि छ । अशोकभन्दा सिनियर नै हुँ म’, भूमिकासहित सुशीला भन्छिन्, ‘एजेण्डा मिलेका हुन् । महाकाली सन्धिमा एमालेले राष्ट्रघात गर्‍यो भन्ने लाग्यो । पछि एमालेले पहिचान, संघीयता जस्ता मुद्धा कमजोर बनायो भन्ने लागेर छाडेका हौं ।’

एमालेसँग दुई पटक नाता तोडेपनि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष रहेका अशोकले यो पटक एमालेकै सहयोगमा सुनसरी १ बाट सांसद जितेका छन् । जनता समाजवादी पार्टीले समानुपातिक पद्धतिबाट सुशीलालाई सांसद बनायो । यो प्रतिनिधिसभामा अशोक–सुशीला दुवै सांसद छन् ।

उकाली– ओराली

राजनीतिमा एक पटक गुमेको अवसर फेरि पाउन मुश्किल हुन्छ । ०३९ देखि पार्टीको केन्द्रमा रहेकी सुशीला ०४६ मा आफूले गरेको एक त्यागका कारण पछाडि परेको ठान्छिन् ।

०४६ मा महिला संघको राष्ट्रिय सम्मेलन भयो । माधव नेपालले दिएको सुझाव अहिले पनि सुशीलालाई सम्झना छ, ‘उहाँले मलाई तपाईँ अध्यक्ष हुनुहोस्, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र पूर्णशोभालाई महासचिव बनाउँला भन्नुभएको थियो ।’

सम्मेलन हलको माहोल पनि सुशीलाकै पक्षमा थियो । ‘अध्यक्ष जो भएपनि काम मैले नै गर्ने हो भनेर उहाँ (अष्टलक्ष्मी) लाई अध्यक्ष छाडेर उपाध्यक्षमा बसेँ’, सुशीला सम्झिन्छिन्, ‘तर पार्टीको निर्देशन नमानेको भन्दै माधव कमरेड मसँग रिसाउनुभयो ।’

त्यही बिन्दुबाट आफ्नो राजनीतिक जीवन ओरालो लागेको उनको बुझाइ छ । राजनीतिक जीवनको ३३ वर्षे ओरालो यात्रापछि सांसद बनेर उकालो यात्रामा लागेकी छिन् । यो उकालो यात्रालाई उनी महिला, संघीयता, समावेशिता र जातीय पहिचानको पैरवी गरेर सदुपयोग गर्ने योजनामा छिन् ।

शपथका लागि निस्किनै लागेकी सुशीलाले जाँदाजाँदै भनिन्, ‘पार्टीभित्र महिलाको अस्तित्व नै स्वीकार्दैनन् र पो । महिलालाई कुनै नेताको श्रीमतीका रुपमा नभई नेताका रुपमा स्वीकार्‍यो भने मैले जसरी डिभोर्सको धम्की कसैले दिनुपर्दैन ।’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?