+
+

मन्त्री बन्न माओवादी सांसदहरुको दौडधुप

‘वर्षमान र जनार्दन सरकार बाहिर’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ पुष १२ गते १८:४९
माओवादीबाट सरकारमा जाने सम्भावित नेता ।

१२ पुस, काठमाडौं । गठबन्धन फेरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तर सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँट भएको छैन । त्यही कारण प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन सोमबार शपथ लिएका चार मन्त्रीले समेत मन्त्रालय पाएका छैनन् ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने सातवटै दल सरकारमा सहभागी भएको अवस्थामा माओवादीले बढीमा ७ वटा मन्त्रालय पाउनेछ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् ।

अरु मन्त्रीका लागि माओवादी सांसदहरुले दौडधुप थालेका छन् । नेताहरुका अनुसार अघिल्लो सरकारमा मन्त्री भएकाहरुलाई यसपटक नदोहोर्‍याउने माओवादीको तयारी छ ।

‘यो नेकपा सरकारको निरन्तरता हो । त्यसकारण अघिल्लो नेकपा सरकारमा सहभागी भएका मन्त्रीहरु यसपटक मापदण्ड अनुसार नै दोहोरिने छैनन्’, प्रचण्ड निकट एक नेताले अनलाइनखबरसित भने ।

यस्तो नियम बनाएमा निवर्तमान अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा पुनः मन्त्री हुने छैनन् ।

अर्का उपमहासचिव वर्षमान पुन मन्त्री हुन चाहन्थे । नेता पुन, एमालेसँग सत्ता गठबन्धन बनाउन पनि सक्रिय थिए । नयाँ समीकरणका सूत्रधार समेत हुन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएका कारण उनी भन्दा पछिल्लो वरियतामा रहेर सरकारमा नजाने मनस्थितिमा छन् ।

मन्त्रीका अर्का दावेदार हुन् उपमहासचिव शक्ति बस्नेत । यसअघि गृहमन्त्री भइसकेका बस्नेत २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वन बन्त्री बनेका थिए । तर पुरानालाई भन्दा नयाँलाई अवसर दिने सम्भावना रहेको प्रचण्डको सचिवालयका अधिकारीहरु बताउँछन् ।

सांसदहरु रेखा शर्मा, अमनलाल मोदी, सुदन किराती र महिन्द्रराय यादवलाई मन्त्रीको सम्भावित अनुहार मानिएको छ ।

शर्मा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनी माओवादी केन्द्रमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्ली महिला सांसद हुन् ।

मोरङ–४ बाट निर्वाचित अमनलाल मोदी र भोजपुरबाट निर्वाचित सुदन किराती लगातार तीन/तीन पटक प्रतिनिधिसभा सदस्य भइसकेका नेता हुन् । लगातार चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर नपाएका कारण यो पटक दुवैको सम्भावना बलियो मानिएको छ ।

काभ्रे १ बाट निर्वाचित सूर्यमान दोङ र नुवाकोट १ बाट चुनिएका हितबहादुर तामाङ पनि मन्त्री बन्ने दौडमा छन् । कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेका महेन्द्रबहादुर शाही, दोलखामा चुनाव जितेका गंगा कार्की, समानुपातिक सांसद रणेन्द्र बराली सम्भावित नाम हुन् ।

महिन्द्र राय यादवलाई पनि सम्भावित मन्त्रीका रुपमा हेरिएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनी माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका थिए । डा. बाबुराम भट्टराई पक्षबाट टिकट पाएका उनी मात्र चुनाव जितेकाले मन्त्री बन्ने सम्भावना छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?