+
+

अंग्रेजी नयाँ वर्ष : पर्यटन बजारमा रौनक

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष १३ गते १८:४३
फाइल तस्वीर

१३ पुस, काठमाडौं । हरेक नयाँ वर्षले पर्यटन बजारमा छुट्टै रौनक ल्याउने गर्छ । यसरी आउने रौनकलाई पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा उपयोग गर्छन् । सोही अनुसार देशका मुख्य पर्यटकीय क्षेत्रमा मेला–महोत्सव हुँदैछन् ।

काठमाडौंको ठमेललाई न्यू इयर इभको अवसर पारी सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । पोखरामा रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान)ले सडक महोत्सव थालेको छ । चितवनको सौराहामा व्यवसायीले आफ्नै प्रकारले पाहुना आकर्षित गरिरहेका छन् । लुम्बिनीमा फूड महोत्सव आयोजना भएको छ । पूर्वको लोकप्रिय गन्तव्य भेडेटारमा समेत फूड महोत्सव आयोजना भएको छ । यस वर्ष नयाँ वर्षकै अवसर पारी राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुँदैछ ।

पोखरामा सडक महोत्सव

पोखरामा रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान)ले २४ औंं सडक महोत्सव आयोजना गरेको छ । महोत्सव बुधबारदेखि सुरु भएको छ । पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो क्षेत्रमा महोत्सव हुँदैछ । महोत्सव फिस्टेल गेटदेखि खहरे चोकसम्म हुनेछ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय–अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेसलगायत कार्यक्रम आयोजना हुँदैछन् । महोत्सव १ जनवरी २०२३ सम्म चल्नेछ । सोही दिन पोखरामा नयाँ विमानस्थलको उद्घाटन समेत हुँदैछ ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीका अनुसार यो नेपालकै ठूलो सडक महोत्सव हो । यस अवसरमा पोखराका होटलहरुमा २० प्रतिशत छुट दिइएको छ ।

फाइल तस्वीर

सौराहाले दिनेछ ७ हजार पाहुनालाई सेवा

नेपालको अर्को चर्चित पर्यटकीय गन्तव्य चितवनको सौराहमा समेत व्यवसायीहरुले नयाँ वर्षलाई विशेष रुपमा मनाउने तयारी गरेका छन् । सौराहामा छुट्टाछुट्टै रिसोर्ट र होटलहरुले यस दिनलाई लक्षित गरी सांस्कृतिक प्रस्तुति तथा छुटको अफर ल्याएका छन् । तर, सामूहिक रुपमा भने कुनै कार्यक्रम गर्ने योजना भने नरहेको होटल संघ नेपाल सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

 

फाइल तस्वीर ।

१५० भन्दा बढी होटल तथा रिसाेर्ट रहेको सौराहामा एक रातमा ७ हजार भन्दा बढी पाहुना अट्ने सुविधा रहेको छ । नयाँ वर्ष इभ र नयाँ वर्षमा ८० प्रतिशत भन्दा बढी आन्तरिक पर्यटक सौराहा पुग्छन् ।

उनका अनुसार यस अवसरमा शतप्रतिशत अक्कुपेन्सी हुने अपेक्षा गरिएको छ । धेरै चिसो अनुभव नभइसकेका कारण सौराहा भ्रमणका लागि यो उपयुक्त बेला रहेको उनको भनाइ छ ।

भेडेटारमा फुड फेस्टिभल

नयाँ वर्षलाई लक्षित गर्दै भेडेटारमा फुड फेस्टिभल आयोजना हुँदैछ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसाेसिएसन भेडेटारले महोत्सव आयोजना गर्न लागेको हो ।

३१ डिसेम्बरदेखि २ जनवरीसम्म महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, स्थानीय तथा जातीय खानेकुराका परिकार, भेडेटार हेलिटुर, जिपलाइन तथा पाराग्लाइडिङ समेत मुख्य आकर्षण रहने भएका छन् । महोत्सवका दौरान कृषि प्रदर्शनी समेत हुने भएको छ । यो १० औं भेडेटार फुड फेस्टिभल हो ।

लुम्बिनीमा फुड फेस्टिभल

लुम्बिनी होटल एसोसिएसन नेपालको आयोजनामा ३१ डिसेम्बरका दिन लुम्बिनी फुड फेस्टिभल आयोजना गरेको छ । ‘लुम्बिनी जाऔं लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने नारासहित न्यू इयर इभका दिन ९औं लुम्बिनी फुड फेस्टिभल आयोजना गरिएको संघले जनाएको छ । यस अवसरमा सांस्कृतिक कार्यक्रम समेत हुनेछ । लुम्बिनीमा यस दिन संघमा आवद्ध होटलले पाहुनालाई ३० प्रतिशतसम्म छुट दिइने भएको छ ।

ठमेलको सञ्चयकोष अगाडि न्यू इयर विशेष प्रस्तुति

त्यसो त काठमाडौंको दरबारमार्ग वा ठमेलका अधिकांश लज तथा बारहरुले यस दिनलाई विशेष रुपमा मनाउने गर्छन् । जहाँ लाइभ म्यूजिकदेखि खानपिनमा विशेष आकर्षणको व्यवस्था गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा हरेक वर्ष ठमेलमा न्यू इयर इभका दिन सांस्कृतिक कार्यक्रम आयोजना हुने गर्छ । यस वर्ष समेत परिषद्ले सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

पर्यटन व्यवसायी राजेन्द्र सापकोटाका अनुसार परिषद्‍बाहेक धेरै रेष्टुरेन्ट र बारले स्वस्फूर्त रुपमा यस दिनलाई पर्यटकबीच मनाउने गर्छन् ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?