+
+

गण्डकीमा शेखर समूहको पराजय : जसले उक्साए, उनैले मत हालेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते २१:१५
संसदीय दलको नेतामा जितेका सुरेन्द्र पाण्डे (बाँया) र उनीसँग प्रतिस्पर्धा गरेका भोजराज अर्याल ।

१३ पुस, पोखरा । नेपाली कांग्रेसका नेताहरु भन्थे, प्रदेशसभा सदस्य सुरेन्द्र पाण्डेको मुख्यमन्त्री पक्का छ, तर संसदीय दलको नेताको चुनाव चाहिँ कुन्नि ! सत्ता समीकरणको फेरबदलसँगै पक्का भनिएको मुख्यमन्त्री पद गुमेको छ । अनि गाह्रो भनिएको संसदीय दलको चुनाव चाहिँ पाण्डेले सहजै जितेका छन् ।

हुन त सभापति शेरबहादुर देउवा समूहमा १४ र देउवाइतर शेखर कोइराला–गगन थापा समूहमा १३ जना रहेको हिसाबकिताब धेरैले गरेका थिए । तर, पछिल्लो समयमा जसरी केन्द्रीय तहकै नेतादेखि जिल्लातहका नेतासम्मले शेखर समूहका भोजराज अर्याललाई हौस्याएका थिए, परिणाम यसै भन्न सकिने अवस्था थिएन ।

दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा पाण्डेले शेखर कोइराला समूहका भोजराज अर्याललाई १० मतान्तरले पराजित गरे । पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत मात्र पाए भने १ मत बदर हुन पुग्यो ।

२१ सिटमा प्रत्यक्ष चुनाव लडेको कांग्रेसले ३ सिट गुमायो । त्यसमध्ये २ सिट इतर समूहका र एक सिट देउवा पक्षको उम्मेदवार थियो । अर्थात प्रत्यक्षतर्फ चुनाव जितेका सांसदमा दुबै समूह बराबरी अवस्थामा थियो । समानुपातिकतर्फ ९ सांसद छनोट गर्दा संस्थापन समूहका १४ र इतर समूहका १३ जना हुन पुगेका थिए । तर भोजराजले इतर समूहकै मत प्राप्त गर्न सकेनन् ।

आफ्नै विचार समूहका सांसदको मत नपाउनुका पछाडि मुख्य ३ कारण रहेको संस्थापनइतर समूहको निश्कर्ष छ । पहिलो, कांग्रेस उपसभापति धनराज गुरुङको जिद्दीपन, दोस्रो भोजराजलाई उठाए भोट दिन्छु भनेर हौस्याउनेबाटै धोका र तेस्रो हो, अर्याल आफ्नै पनि कम तयारी ।

शेखर समूहबाट नवलपुरका महेन्द्रध्वज जिसी र स्याङ्जाका अर्याल आकांक्षी थिए । स्याङ्जाका अर्याल कांग्रेसमा पुराना र निष्ठावान कार्यकर्ता मानिन्छन् । तर संसदीय दलको नेता लड्न न उनले राम्रो तयारी गरेका थिए, न त्यसअनुसार व्यक्तिगत प्रभाव विस्तार गरेका थिए । उनको तुलनामा नवलपुरका जिसीले दल नेताको चुनाव लड्न राम्रो तयारी गरेका थिए ।

‘आफ्नो प्रदेशको उम्मेदवार छनोट गर्न पाउनुपर्छ भनेर उपसभापति धनराज गुरुङले जिद्दी नै गर्नुभयो । त्यतिमात्र होइन केही सांसद आफूले भनेरै थप गरिदिने भन्दै उक्साएका थिए’ शेखर समूहका एक प्रदेश सभा सदस्य भन्छन्, ‘तर, अपेक्षा गरेजस्तो सहयोग कसैबाट भएन ।’

संस्थापन इतरबाट दल नेताको उम्मेदवार छान्न गण्डकीमा ३ सदस्यीय समिति बनाइएको थियो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेता दिलबहादुर घर्ती र कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा समितिमा थिए । बुधबार बिहान समितिले केन्द्रीय उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसँगको छलफलबाट उम्मेदवार टुंगो लगाउने जिम्मा पायो ।

गुरुङ र परियारसँगको छलफलमा बलियो देखिए, स्याङ्जाका भोजराज । यसमा धनराज स्वयं जिसीलाई रोकेर विश्वास पात्र अर्याललाई उम्मेदवार बनाउन चाहन्थे भने अर्को कांग्रेस नेता रोमी गौचन मुख्य भूमिका बनेर आए । नवलपुरमा भएको टसलका कारण डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि जिसीलाई रोक्ने कसरतमा थिए । अनि प्रदेश संसदीय दलको नेतामा अर्याल उम्मेदवार बने ।

अर्याल पराजित हुनुमा विकसित रोचक घटनाक्रम

केन्द्रीय उपसभापति धनराज र सहमहामन्त्री जीवनसँग उम्मेदवार छान्न बनेको गण्डकीको समितिले छलफल गरिरहँदा कांग्रेस मुस्ताङका सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचन निर्णायक बन्न आइपुगे । गौचन आफैंले प्रस्ताव राखे, ‘भोजराज अर्याल हुने हो भने आफ्नो समूहले भोट हाल्ने तर अर्को हुँदा हाल्दैनौं ।’

गौचनको पक्षमा आफैंले टिकट बाँडेका मुस्ताङका २ सांसद र पर्वतकी सांसद रेखा गुरुङ थिइन् । बुधबार मतदान कार्यक्रममा जानुअघि पोखरा तेर्सापट्टीस्थित पोखरा रेसिडेन्सीमा रहेको रोमीकै निवासमा शेखर समूहले निर्णय गर्‍यो, भोजराजलाई नै दल नेताको उम्मेदवार बनाउने ।

३ बजेबाट मतदान प्रक्रिया सुरु भयो तर ती तिनै जना सांसद मत हाल्नै आएनन् । करिब साढे ३ बजेतिर उम्मेदवार पाण्डे मतदानस्थलबाट निस्के । एक घण्टाको मतदान प्रक्रिया सकिनुभन्दा केही मिनेट अगाडिमात्र ३ जनालाई एउटै गाडीमा लिएर गौचनका छोरासमेत रहेका प्रतिनिधि सभा सदस्य योगेश गौचन आइपुगे । उनीहरुको पछिपछि सुरेन्द्र पनि मतदानस्थल पुगे ।

‘पाण्डे आफैं उनीहरु लिन पुगेका थिए’, एक सांसदले भने ‘संघीय कांग्रेस संसदीय दलको चुनावमा पनि योगेशले मत गगन थापालाई दिने बताएका थिए तर मत देउवालाई हालेका थिए । यहाँ पनि त्यस्तै भयो, जसले उम्मेदवार बनाउन उचाले उनैले हालेनन् ।’

शेखर समूहले गनेको टेकबहादुर गुरुङनजिकका मनाङका एक सांसदले पनि पाण्डेलाई नै मत हालेको नेताहरुको दाबी छ । नेता रामचन्द्र पौडेलले नै टिकट दिलाएका तनहुँका एक सांसदले पनि पाण्डेलाई मत हालेको नेताहरु बताउँछन्, जसलाई शेखर समूहले आफ्नो भनेको थियो ।

उपसभापति धनराज गुरुङले एक÷दुई जना सांसदलाई आफूले अर्यालको पक्षमा मत हाल्न राजी बनाउने बताए पनि सकेनन् । जसका कारण संस्थापन समूहका पाण्डेको सजिलै जित हुन पुगेको हो ।

अर्यालले पनि प्रदेशका सांसदहरुलाई समेत नचिन्ने, फोन–वार्ता वा आग्रह नगर्नेजस्ता कमजोरी देखाएको एक सांसदको भनाइ छ । कांग्रेस संसदीय दलको आन्तरिक प्रतिस्पर्धाको नतिजा पनि आँकलन गरिएअनुसार नआएको सांसद डिल्लीराम सुवेदीले बताए ।

उम्मेदवार अर्यालले विश्वास गरिएकाहरुबाटै आफूले पाठ सिकेको बताउँछन् । ‘संघमा दलका नेता छान्दा भएको गल्तीले कांग्रेसले ठूलो क्षति ब्यहोरेपछि प्रदेशमा सांसदहरुले पक्कै चेते होलान् भन्ने लागेको थियो तर चेतेका रहेनछन्’, उम्मेदवार अर्यालले भने, ‘विश्वास गरेकै पात्रहरुबाट चेपुवामा परें तर आन्तरिक लोकतन्त्रलाई स्वीकार्छु, सम्मान गर्छु ।’

कांग्रेस संसदीय दलमा विजयी पाण्डेले आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिएको र अधिकांश साथीहरुले विश्वास गरेकोले आफूले जितेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?