+
+

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

१७ गते प्रदेश प्रमुखले खुवाउने छन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ८:२३

१४ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने छन् ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनी प्रदेश प्रमुखले भने सबै प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउँछन् ।

संविधानमा प्रदेश कानुन बमोजिम शपथ ग्रहण बनाउने भन्ने व्यवस्था रहेको र लुम्बिनी प्रदेश सभा नियमावलीको नियम ४ मा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने भन्ने उल्लेख भएकाले सिधै प्रदेश प्रमुखले शपथ खुवाउने गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । अधिवेशनको अधिकांश तयारी अन्तिम चरणमा पुगेको पुनले बताए ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?