+
+

नदीले धार परिवर्तन गर्दा गुमेको जग्गा किसानले पाए फिर्ता

रासस रासस
२०७९ पुष १७ गते १८:३८
फाइल तस्वीर ।

१७ पुस, धनुषा । नदीको बहाव परिवर्तन हुँदा खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाएका छन् ।

मधेश प्रदेशको धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका भएर बग्ने जमुनी नदीले आफ्नो बहाव परिवर्तन गर्दा १० भन्दा बढी किसानले खेतीयोग्य जग्गा गुमाउनु परेको थियो ।

अहिले ती किसान गुमाएको जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा निकै खुसी भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं २८८ देखि २८९/८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसान पुनः आफ्नो जग्गा उपभोग गर्न पाउँदा निकै खुसी भएका हुन् ।

नेपाल तथा भारत दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा दुवैतर्फका किसानले आफ्नो लालपुर्जा अनुसारको जग्गा उपभोग गर्न पाउने भनि यही पुस १२ गते निर्णय भएपछि किसानले गुमाएको जग्गा फिर्ता पाएका हुन् ।

मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा भएको निर्णयबाट किसानले जग्गा फिर्ता पाएको बताए । ‘आफूले कर तिरेको जमिन पूर्ण रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने फियान नेपालको प्रयास सफल भएको छ, यसमा नेपाल तथा भारतका सीमा सुरक्षाकर्मीको पनि साथ सहयोग रह्यो’ उनले भने ।

फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवले विगत एक वर्षदेखि उक्त समस्यामा परेका किसानको पक्षमा अभियान चलाइएको बताए । ‘विगत एक वर्षको पहलमा वडास्तरीय बैठकदेखि सीमा प्रभावित खाद्य अधिकार समूह पनि गठन गरेर त्यस्तो समूहलाई एकजुट बनाइ वडादेखि पालिका हुँदै जिल्लास्तरसम्म भूमि फिर्ता गर्ने प्रयास सफल भएको छ’, उनले भने ।

मुखियापट्टी मुसहरनिया–२ स्थित नेपाल–भारत सिमानामा पर्ने उक्त नदीले बहाव परिवर्तन गर्दा १५ किसानले आफ्नो जग्गा गुमाउने अवस्था सिर्जना भएको थियो ।

आफूले कर तिर्दै र उपभोग गर्दै आएको खेतीयोग्य जमिन भारततर्फ पर्दा लामो समयसम्म हातमा लालपुर्जा हुँदा पनि भूमिहीन जस्तो भएर जीवनयापन गर्नुपरेको किसान भिखारी यादव बताउँछन् ।

उनले भने, ‘आस थिएन, यस जन्ममा यो जग्गा फिर्ता पाउँछौँ भनेर, किनकि विगतमा धेरै प्रयास गरियो, तर पनि कुनै उपाय लागेन । खोलाबारिबाट आफ्नो जमिन टुलुटुलु हेर्दै बस्नुपर्थ्यो सबैको साथ र सहयोगमा आफ्नो जमिन पुनः उपभोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’

यादवले तीन कट्ठा जग्गाको कर १० वर्षदेखि नेपाल सरकारलाई तिर्दै आए पनि उपभोग गर्न पाउनुभएको थिएन । विगतका दिनमा पनि सो जग्गामा खेती गर्न नपाउँदा निराशा भोग्नु परेको थियो तर लामो समयपछि आफूले कर तिरेको जमिन भोगचलन गर्न पाउँदा निकै नै खुसी भएको उनले बताए ।

अर्का किसान जिवछ यादव पनि आफ्नो जग्गामा परिश्रम गर्न पाउने भएपछि अत्यन्तै खुसी लागेको बताउँछन् । खेती किसानीबाट घर गुजारा गर्दै परिवार पाल्ने उहाँले आफूले तिर्दै आएको करको जग्गा भारततर्फ पर्दा बीस वर्षसम्म परिवार धान्न धौधौ भएको बताए । करिब २० वर्षदेखि सीमाको जग्गासम्बन्धी समस्या खेपिरहेका मुखियापट्टीका किसानले आफ्नो जग्गा उपभोग गर्न पाउँ भनि गरेको प्रयास सफल भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?