+
+

यस्तो बन्दैछ टेकुमा ३०० बेडको सरुवा रोग अस्पताल

डिजाइन अनुसार तीन सय शय्याको टेकु अस्पतालको नयाँ भवन ६ तलाको हुनेछ । सबैभन्दा तल बेसमेन्टमा ५० वटा चार पाङग्रे र २ सयभन्दा बढी मोटरसाइकल अट्ने पार्किङ रहनेछ । भुइँतलामा आकस्मिक, बहिरंग कक्ष र रेडियोलोजी विभाग रहनेछन् । पहिलो तलामा प्रयोगशाला, बहिरंग कक्ष, फिभर वार्ड रहनेछ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ पुष १८ गते १७:१३

१८ पुस, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ भवन बन्ने भएको छ । तीन सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि गत बिहीबार बोलपत्र आह्वान गरिएको छ । हाल अस्पताल रहेकै ठाउँमा करिब तीन महिनापछि नयाँ भवन निर्माण सुरु हुने अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

‘भवनको डिजाइन पूरा भएसँगै टेण्डर प्रक्रियामा गएको छ । निर्माण प्रक्रियामा जान तीन महिना लाग्छ होला’, गौतमले अनलाइनखबरसँग भने । भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन, अप्रेसन थियटर, बेड लगायतका कामका लागि तीन अर्ब ८६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

नयाँ भवन निर्माणअघि हालका केही भवन भत्काउनुपर्ने उनले बताए । करिब १७ रोपनी जग्गामा ६ तले भवन निर्माण सुरु भएको साढे तीन वर्षमा तयार हुने लक्ष्य राखिएको छ ।

नेपालको एक मात्र सरुवा रोग अस्पतालले कोरोना महामारीका बेला संक्रमितको उपचारमा राम्रो सेवा दिएको थियो । तर भवनलगायतका संरचना अभावका कारण धेरै बिरामीलाई सेवा दिन सकेको थिएन । महामारी फैलिएका बेला सरकारले छुट्टै अत्याधुनिक सरुवा रोग अस्पताल चाहिन्छ भनेर आर्थिक वर्ष २०७७/०७८ को बजेटमा तीन सय शय्याको अस्पताल बनाउने कार्यक्रम अगाडि सारेको थियो । तर, जग्गा प्राप्तिमा विवाद भएका कारण अस्पताल निर्माण हुन ढिलाइ भएको हो ।

पाँच दशकअघि बनेको टेकु अस्पतालको भवन २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपनि त्यसैबाट सेवा सञ्चालन हुँदै आएको छ ।

भवनमा के के रहन्छ ? 

डिजाइन अनुसार तीन सय शय्याको टेकु अस्पतालको नयाँ भवन ६ तलाको हुनेछ । सबैभन्दा तल बेसमेन्टमा ५० वटा चार पाङग्रे र २ सयभन्दा बढी मोटरसाइकल अट्ने पार्किङ रहनेछ । भुइँतलामा आकस्मिक, बहिरंग कक्ष र रेडियोलोजी विभाग रहनेछन् । पहिलो तलामा प्रयोगशाला, बहिरंग कक्ष, फिभर वार्ड रहनेछ ।

दोस्रो तलामा अनुसन्धानमूलक विशेष प्रयोगशाला, जनरल वार्ड, इमर्जिङ आइसोलेसन वार्ड रहनेछन् । तेस्रो तलामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, मेलिगेन्सी वार्ड, नवजीवन वार्ड रहनेछन् । चौथोमा रेबिज÷टिटानस, छालारोग विभाग र टीबी वार्ड रहेनछन् ।

त्यसैगरी पाँचौ तलामा ३० बेडको आईसीयू बेड, शल्यक्रिया, भीभीआईपी क्याबिन र सेमिनार हल रहनेछ । छैठौं तलामा लन्ड्री तथा क्यान्टिन रहने अस्पतालले जनाएको छ । यसैगरी, बिरामी र कर्मचारीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछ ।

आठ वर्षअघि अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले शुक्रराज अस्पताललाई एक सय शय्याको बनाउने योजना अघि सारेका थिए । यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न भने सकेको थिएन । पूर्वनिर्देशक डा. सागर राजभण्डारीको पालामा तीन सय बेडको अस्पताल बनाउने गुरु योजना बनेको थियो । उक्त गुरुयोजनालाई पूर्वनिर्देशक डा. अनुप बास्तोलाले अघि बढाएका थिए ।

अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने

टेकु अस्पताललाई हरेक सरुवा तथा उष्ण रोगको केन्द्रीय अस्पतालका रूपमा विकसित गर्ने परिकल्पना गरिएको पूर्वनिर्देशक डा. बास्तोला बताउँछन् । ‘सरुवा रोग उपचारमा महत्वपूर्ण पाटो प्रयोगशालाको हुन्छ । त्यसका साथसाथै अध्ययन अनुसन्धान पनि हुनुपर्छ’, डा. बास्तोलाले भने, ‘अन्य प्रदेशमा पनि सरुवा रोगका अस्पताल बन्दै गरेका छन् । भोलिका दिनमा रिफरल सेन्टर तथा विशिष्टिकृत सेवाको रूपमा विकास हुन्छ ।’

रक्त क्यान्सरजस्ता नसर्ने रोग लागेका, अंग फेरिएका बिरामीहरुलाई पनि विभिन्न सरुवा रोग लाग्छ । यस्ता बिरामीले अन्य अस्पतालमा राम्रो सेवा नपाएको भन्दै उनले टेकु अस्पताल त्यस्ता बिरामीको उपचारका लागि राम्रो ठाउँ बन्न सक्ने बताउँछन् । ‘तीन सय बेड निर्माण भएपछि गुणस्तरीय सेवाको साथ–साथै सरुवा रोगका दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास हुन्छ’ बास्तोलाले भने ।

जनमासमा टेकु अस्पताललाई एचआईभी, सर्पदंश, डेंगु, पखाला लागेका बिरामी आउने रुपमा मात्रै हेर्ने गरिएको छ । ‘कालाजार लगायत अन्य सरुवा रोगको बारेमा हामीले देखाउन वा पढाउन सक्छौं, कोरोना वा डेंगु जस्ता प्रकोप हुँदा सर्वधारणलाई सेवा दिँदै अस्पताललाई स्वदेशी, विदेशीका लागि अध्ययन अनुसन्धानको केन्द्र बनाउन सक्छौं’, डा. बास्तोला भन्छन्, ‘कुनै पनि संक्रामक रोग देखिए त्यसलाई व्यवस्थापन गर्न ठूलो भूमिका खेल्छ ।’

केही सेवा प्रभावित हुन सक्छ

नयाँ भवन निर्माण गर्न अस्पतालले हालको प्रयोगशाला र ओपीडी भवनबाहेक अन्य भवनहरु भत्काउनुपर्नेछ । नयाँ भवन बनाउँदै गर्दा अस्पतालको सेवा भने केही प्रभावित हुन सक्ने सूचना अधिकारी नवराज गौतम बताउँछन् । बिरामीको उपचारलाई ध्यानमा राख्दै अस्पतालका भवनहरु पालैपालो भत्काउने तयारी छ ।

सुरुमा अस्पतालको ओपीडी छेउको क्वार्टर भवन, टिकट काउन्टर रहेको पहेँलो भवन र एआरटी सेन्टरको भवन भत्काइने उनले जानकारी दिए । उपचारका लागि अस्थायी संरचना निर्माण भइसकेपछि मात्र भवनहरु भत्काइने उनको भनाइ छ ।

‘भवन निर्माण सुरु भएपछि उपचार सेवा केही खुम्चिन्छ । तर, पुरै सेवा बन्द हुँदैन । अस्थायी संरचना बनेपछि मात्र मुख्य भवनहरु भत्किन्छन्’, गौतमले भने, ‘नयाँ भवन नबन्दासम्म ३० बेडबाट सेवा दिनसक्छौं ।’

आईसीयू भने २४ बेडबाट ४ बेडमा झर्ने गौतमले बताए । ‘ओपीडी बिरामीलाई खासै असर पर्दैन होला, एचडीयू, आइसीयू र क्याबिनको सुविधा दिन सक्दैनौ होला’ उनले भने ।

हैजाले जन्माएको अस्पताल

१९९० सालको भूकम्पपछि हैजाका बिरामीले मुलुक आक्रान्त बनेको थियो । त्यसबेला बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म धेरै मानिसहरु हैजाको शिकार भएका थिए । हैजा रोक्न १९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेजअन्तर्गत रोप–वे टर्मिनल रहेको टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’ स्थापना भएको अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।

२००७ सालमा भने रोप–वे टर्मिनलको प्रांगणबाट टेकु अस्पताल अहिलेको ठाउँमा सरेको थियो । त्यसबेला टेकु अस्पताललाई वीर अस्पतालको एउटा शाखाको रूपमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भवनमा राखिएको थियो । २०३४ सालमा भने टेकु अस्पताल स्वायत्त हुन पुगेको डा. राजभण्डारी बताउँछन । टेकु क्षेत्रमा रहेकाले २०४२ सालमा यसलाई टेकु अस्पताल नामकरण गरियो ।

१९९० मा कलेरा अस्पतालको नामबाट खुलेको अस्पताल २०५३ माघ ११ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण भयो । राणा शासनविरुद्ध बोलेको भन्दै शुक्रराज शास्त्रीलाई टेकुमा फाँसी दिइएकाले सम्मानस्वरुप तत्कालीन सरकारले उनको नाममा अस्पतालको नाम नै परिवर्तन गरिदिएको डा. भण्डारी बताउँछन् ।

यो अस्पतालमा २०६० सालदेखि एचआईभी एड्सका बिरामीका लागि एआरभी औषधि वितरण पनि सुरु भएको थियो । पहिला २५ जनाबाट एआरभी वितरण सुरु गरेको यस अस्पतालबाट लिएर अहिले हजारौं बिरामीले औषधि खाइरहेका छन् ।

अस्पतालले डट्स क्लिनिक र एचआईभी परामर्श क्लिनिक पनि सञ्चालन गरिरहेको छ । सरुवा रोगहरु टाइफाइड, ज्वरो, कालाजार, मलेरिया, टिटानस, जनावारका टोकाइ जस्तैः सर्पदंश, कुुकरले टोकेको, बाँदरले टोकेको, चितुवा, भालु, मुसा आदिले टोकेका, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस आदिको सेवा पनि यस अस्पतालले दिइरहेको छ ।

‘प्रत्येक वर्ष सरुवा रोगका बिरामी बढ्दै जाने मात्रै होइन । नयाँ संक्रामक रोगसमेत देखा पर्न थालेका छन्,’ डा. राजभण्डारी भन्छन्, ‘हाल महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस, सार्सजस्ता भाइरसबाट सुरक्षित रहन टेकु अस्पतालको क्षमता विस्तार अति आवश्यक छ ।’

अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ । तर नयाँ भवन बनाउन करिब १७ रोपनी मात्र प्रयोग हुन्छ । बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?