+
+

कीर्तिपुरमा स्थापित मूर्तिमाथि ललितपुरको आपत्ति

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष १९ गते २१:०८

१९ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि मच्छिन्द्रनाथका पुजारीहरुले निरन्तर विरोध गरिरहेका छन् । ललितपुरको रातो मच्छिन्द्रनाथको नित्य पूजा गर्ने पुजारीहरुले राष्ट्रपति, पुरातत्व विभाग, ललितपुर महानगरपालिका, गुठी संस्थानमा मंगलबार ज्ञापन पत्र बुझाउँदै कीर्तिपुर नगरपालिकाको कदमको विरोध जनाएका हुन् ।

मूर्ति स्थापना गरेलगत्तै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु (पुजारी) संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेको थियो । संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र दिएको थियो । विरोधका बाबजुद कीर्तिपुर नगरपालिकाले बेवास्ता गरेपछि ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने घोषणा गर्‍यो ।

त्यसपछि गुठी संस्थानको पहलमा रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित सरोकारवाला ज्योतिष, पुजारी, बाराही, ञवाल, घकु, मलिनी, भैरब पुजारीहरुले विरोध गरेका थिए ।

विवादकै बीच पानेजुहरुले मंगलबार ललितपुर महानगरपालिकासँग छलफल गरेका छन् । छलफलमा मेयर चिरिबाबु महर्जनले औपचारिक रुपमा विरोधको जानकारी भर्खरै आएकाले अब समस्या समाधानमा पहल गर्ने बताए ।

‘रातो मच्छिन्द्रनाथको सन्दर्भ धार्मिक र मार्मिक विषय हो, मच्छिन्द्रनाथको जात्रा महत्वपूर्ण जात्रा हो, यो अहिलेसम्म रोकिएको छैन, कीर्तिपुरमा प्रसाद लैजाने आफैंमा परम्पराको विषय हो’, उनले भने ‘त्यहाँ नै मूर्ति लगेपछि ललितपुरबाट प्रसाद लैजानुको अर्थ नै नहुने भयो, यो विषयमा अब महानगरले तत्काल नै आवश्यक समन्वय गर्छ ।’

पानेजुहरूकाअनुसार यसले अमूर्त सम्पदा र संस्कृतिमाथिको अतिक्रमण हुन पुगेको छ । सदयौंदेखि चल्दै आएको सांस्कृतिक विधिविधान र मान्यतालाई पनि नकार्दै गरिएको यस्तो कामले जात्राको तोकिएका शास्त्रीय र धार्मिक विधिमा पनि असर गरेको उनीहरूको भनाइ छ ।

पानेजु संघ भन्छ : प्रतिमूर्ति स्थापना नहोस्

पानेजु संघले कीर्तिपुरमा निर्माण भएको प्रतिमूर्ति कतैपनि राख्न नहुने बताएको छ । ३२ पानेजु संघको अध्यक्ष यज्ञरत्न शाक्यले भने ‘मच्छिन्द्रनाथ मूर्ति ललितपुरमाबाहेक अन्य स्थानमा स्थापना हुनै सक्दैन, मच्छिन्द्रनाथको मूर्ति दुईवटा बनाउनै मिल्दैन भने याकःमिसाको मूर्ति नै हुदैन, यो माग सम्बोधन नभएसम्म हामी कीर्तिपुरमा प्रसाद नै लैजाँदैनौं ।’

महानगरसँग अनुरोध गर्दै शाक्यले भने ‘करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना नै धार्मिक आस्थामा विचलन आउने भएकोले प्रतिमूर्ति र मूर्ति हटाई साविक अवस्था कायम गर्न सहयोग गरिदिनस् ।’

रातो मच्छिन्द्रनाथको नित्य पूजा कर्म गर्न गुठी संस्थानले वंशजको आधारमा २४ जना शाक्य थरका र ७ जना बज्राचार्य थरका पुजारीहरू नियुक्त गर्ने धार्मिक तथा ऐतिहासिक परम्परा रहेको छ । शाक्यका अनुसार कीर्तिपुरमा मूर्ति स्थापनाको विरोधमा सबै पुजारी एकमत छन् ।

मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्परा छ । रातो मच्छिन्द्रनाथको प्रत्येक बर्ष पाटनमा गरिने जात्रा र १२ बर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ ।

काठमाडौं महानगरको संग्लनता

कीर्तिपुरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति निर्माण गर्न काठमाडौैं महानगरपालिका पनि संग्लन भएको छ । मूर्ति स्थापना गर्न काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर १७ लाख रुपैयाँ दिएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले मूर्तिर्र् बनाउन कीर्तिपुर नगरपालिकालाई सहयोग गरेको बताए । ‘कीर्तिपुरले प्रदेशसँग पैसा मागेको रहेछ, प्रदेशले नदिएपछि मूर्तिर्र् बनाउन हामीले पैसा दिने निर्णय गरेका हौं । मूर्तिर्कारलाई हामीले पैसा दिएर कीर्तिपुरलाई हस्तान्तरण गर्ने हो,’ मानन्धरले भने । उनले प्रतिमूर्ति र मूर्ति विवादबारे आफूलाई थाहा नभएको समेत दाबी गरे ।

३२ पानेजु संघले भने निर्माण भएको मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसा मूर्ति गुठी संस्थानमा कसैले नदेख्ने गरी बम्बे (संस्थानको कोष जुन निश्चित मान्छेले मात्रै खोल्न पाउँछन्) मा राख्नुपर्ने बताउँदै आएका छन् ।

तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?