+
+

भाडा समायोजन नहुँदा ठगिदै गोरखाका यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:५६
फाइल तस्वीर

२० पुस, गोरखा । विगत केही बर्षयता जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन नहुँदा दिनहूँ यात्रुहरु ठगिदै आएका छन् ।

गण्डकी प्रदेश सरकारले २०७८ फागुन १ गतेबाट लागू हुने गरी प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा समायोजन गरिसकेको छ । प्रदेशले कायम गरेको नयाँ भाडादर अनुसार पक्की सडकमा चल्ने बसको भाडा प्रति किलोमिटर ३ रुपैया १० पैसा निर्धारण गरिएको छ ।

सोही अनुसार जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडादर कायम गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवत्ता टीकाराम पौडेलले पनि सो कुरा बताए ।

उनका अनुसार अस्थायी रुटको भाडा समायोजनका लागी जिल्लामा सिडिओ संयोजक रहेको भाडा निर्धारण तथा अस्थायी मार्ग निर्धारण समिति हुन्छ, जुन गोरखामा पनि छ । तर भाडा समायोजनमा जिल्लाको समितिले चासो दिएको छैन ।

जिल्लाका कतिपय कच्ची सडक पक्की भइसके । तर भाडा समायोजनमा भएको आलटालले पक्की सडकको यात्रामा पनि कच्ची सरह भाडा तिर्न यात्रुहरु बाध्य छन् । उदाहरणका लागी अस्थायी रुट कायम भएका जिल्लाका केही सडकको अवस्था र भाडादरलाई हेर्न सकिन्छ ।

गोरखा सदरमुकामदेखि नाम्जुङ्गसम्मको दुरी १७ किलोमिटर छ । यसअघि कच्चि रहेको उक्त सडक अहिले कालोपत्रे भइसक्यो । गण्डकी प्रदेशले निर्धारण गरेको नयाँ भाडादर कायम भएमा गोरखादेखि नाम्जुङ्ग जाने यात्रुले करिव ५३ रुपैया मात्र तिरे पुग्छ । तर भाडा समायोजन नहुँदा यात्रुहरु १ सय ५० रुपैया तिर्न बाध्य छन् ।

गोरखा सदरमुकामदेखि घ्याम्पेशालको दुरी २१ किलोमिटर छ । कालोपत्रे भइसकेको उक्त सडकमा बसको यात्रा गर्नेले १ सय ७० रुपैयाका दरले भाडा तिर्नुपर्छ ।

नयाँ निर्धारण भएको भाडादर लागू गर्ने हो भने ६५ रुपैया तिरे पुग्छ । तर भाडा समायोजन नहुँदा दोब्वरभन्दा बढी भाडा तिर्न यात्रु बाध्य छन् ।

गोरखा सदरमुकामदेखि भच्चेकसम्मको सडक कालोपत्रे भइसक्यो । ५२ किलोमिटर दुरीको उक्त सडकको बसभाडा ४ सय ४० रुपैया छ ।

प्रदेशले निर्धारण गरेको भाडादर कायम भएमा यात्रुले सो रुटमा १ सय ६१ रुपैया मात्र तिरे पुग्छ । तर समायोजनमा जिल्लाको समितिले चासो नदिदा महँगो रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ ।

भाडा समायोजन नहुँदा गोरखा सदरमुकामदेखि आरुघाट, बारपाक लगायतका सडकमा यात्रा गर्नेहरु पनि मारमा परेका छन् । समितिले संक्रियता नदेखाउँदा यातायात व्यवसायीले पक्की सडकमा पनि कच्ची सरह भाडा असुल्दै यात्रु ठगिरहेका छन् ।

केही समयअघि भाडा समायोजनका लागी भन्दै यातायात व्यवसायी सहितको बैठक बसेर नयाँ भाडादरको स्टमेट तयार गरिएको थियो । तर त्यसले पूर्णता पाउन सकेन ।

समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य भाडा समायोजनको तयारी भइरहेकोबताउछन् । ‘हामी पटक पटक बैठक त बसिरहेका छौ, तर समितिमा रहनुभएको केही कर्मचारीको सरुवा भएपछि समायोजनमा केही ढिलाइ भएको हो,’ उनले भने । केही दिनमै बैठक बसेर भाडा समायोजन गर्ने उनले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?