
२० पुस, काठमाडौं । विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सञ्चालन अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय सुरुदेखि नै विवादित थियो । २०७७ माघमा भएको पहिलो सम्झौता गत वर्ष केही संशोधनसहित पारित गरिएको थियो ।
प्रतियोगिताको व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा टी–२० लिग भइरहेका बेला एक्कासी भारत गएका छन् । सोमबार भारत पुगेका उनी सुरक्षाको कारण देखाएर नेपाल फर्किन आनाकानी गरेकामा क्यान रुष्ट छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूहरु सेभेन थ्रीसँगको सम्झौता तोड्ने क्षणमा पुगेको बताएका छन् । सम्झौताअनुसारको रकम नदिने उद्देश्यले जतिन भारत भागेको क्यानको बुझाइ छ ।
क्यानले जतिनले सञ्चालन गरेको सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार कुल ३३ करोड रुपैयाँ क्यानले पाउनेछ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिनुपर्नेमा सेभेन थ्री ले दुईपटक गरी १ करोड २० लाख रुपैयाँ दिएको छ ।
क्यान अध्यक्ष चन्दले बुधबार अनलाइनखबरसँगको कुराकानीमा सेभेन थ्री सम्पर्कमा नआए सम्झौता रद्ध गरी संघले पाउनुपर्ने रकमका लागि कानूनी उपचारमा जाने बताएका छन् ।
‘हामीलाई बैंकको कामका लागि जान्छु भनेको हो । भागेर भएपछि अनेक बहानाबाजी र आरोप लगाइरहेका छन्’, चन्दले भनेका छन्, ‘हामी प्रतियोगिता सम्पन्न गर्न लागिरहेका छौं । एउटा पक्ष भागेपछि सम्झौता त स्वतः रद्ध भइहाल्छ ।’
चन्दका अनुसार जतिनले गेट मनी र नेपाली प्रायोजकबाट उठेको रकम क्यानलाई भुक्तानी गरी बाँकी आम्दानी आफूले राख्ने रणनीतिमा नेपाल टी–२० मा लगानी गरेका थिए । सेभेन थ्रीले गेट मनीबाट ३ करोड र स्थानीय प्रायोजकबाट १ देखि २ करोड रुपैयाँसम्म संकलन गर्ने लक्ष्य राखेको थियो । प्रतियोगिता हेर्न टिकट मूल्य ३०० रुपैयाँ तोकिँदा रंगशाला भित्रभन्दा बाहिरबाट हेर्ने दर्शक धेरै छन् । पछि रंगशाला प्रवेश निशुल्क गरिएको छ । स्थानीय प्रायोजक त सेभेन थ्रीले एउटा पनि पाउन सकेन ।
नेपालमा आफू अनुकुल वातावरण नदेखेपछि १५ दिनका लागि प्रतियोगिता सारेर दुबईमा आयोजना गर्ने प्रस्ताव पनि सेभेन थ्रीले क्यानसमक्ष राखेका थियो । फिक्सिङ लगायत बाहिरबाट आक्रमण हुन थालेको, खेलकुदको नियामक निकाय राखेप र मिडियाले सहयोग नगरेको भन्दै सेभेन थ्रीका मालिक जतिनले गरेको प्रस्ताव आफूहरुले अस्वीकार गरिदिएको अध्यक्ष चन्दले बताए ।
‘सरकारले अनुमति दियो भने अर्को संस्करणमा त्यसबारे सोचौंला अहिले पूर्वनिर्धारित मितिमै त्रिवि मैदानमा प्रतियोगिता सम्पन्न हुन्छ भनेर हामीले झपारेका थियौं’, चन्दले भने, ‘उसको नियतमै खोट रहेछ ।’
उनले सेभेन थ्रीलाई सम्पर्कमा आउन अन्तिम सूचना जारी गरी सम्झौता रद्ध गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् । ‘सम्झौता रद्ध भए पनि प्रतियोगिता नियमित र भव्य तरिकाले भविष्यमा पनि आयोजना हुन्छ’, चन्दले भनेका छन्, ‘क्यानले पाउने रकमका लागि कानूनी बाटो लिनेछौं । उसका विरुद्धमा मुद्दा चल्छ । एम्बेसीमा यसअघि नै उजुरी परेको छ । हामीले उसलाई आईसीसी, एसीसीमा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्नेछौं ।’
जतिन भारत गएको भोलिपल्ट त्रिवि मैदानमा पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न अस्वीकार गरे । क्यानले सहजीकरण गरेर फ्रेन्चाइज टिमबाट पारिश्रमिक दिलाउने प्रतिवद्धता जनाएपछि ९ ओभरमा घटाएर खेल सञ्चालन भएको थियो ।
क्यान अध्यक्ष चन्दले सबै फ्रेञ्चाइज टिम मालिकहरु आफ्नो सम्पर्कमा रहेको र उनीहरु खेलाडीलाई पारिश्रमिक दिन प्रतिवद्ध रहेको दावी गरेका छन् । ‘एउटा भागे पनि सबै भाग्छन् भन्ने हुँदैन । यहाँ भएका विदेशी टिममालिकहरु खेलाडीलाई पारिश्रमिक दिन राजी छन् । खेलाडीले पैसा पाउन थालिसकेका छन्’, उनले थपे, ‘अन्तिम समयमा फ्रेन्चाइज टिमहरु दर्ता भएका कारण बैंक खाता खोल्न ढिला भएकाले समयमा पारिश्रमिक भुक्तानी हुन नसकेको हो ।’
२०७७ माघमा क्यानले सेभेन थ्रीसँग नेपाल टी–२० लिग सञ्चालनबारे सम्झौता गरे पनि कोरोना महामारीका कारण लामो समयसम्म खेल हुन सकेको थिएन । सेभेन थ्रीको विवादित छविका कारण क्यानको निर्णय विवादमा प¥यो । त्यसपछि गत वर्ष धनगढीमा भएको क्यानको साधारण सभाले केही संशोधनसहित सेभेन थ्रीसँगको सम्झौतालाई सर्वसम्मत अनुमोदन ग¥यो ।
क्यान आफैंले नेपाल टी–२० लिग आयोजना गर्ने भएपछि यसअघि सञ्चालनमा रहेका फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । त्यसको विरोधमा तीनमध्ये एउटा एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । रिटमा विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई प्रतियोगिता सञ्चालनको अधिकार दिइएको आरोप लगाइएको छ ।
क्यानको यो निर्णयको भने अध्यक्ष चन्दले बचाउ गरेका छन् । ‘संसारभर नै यस्तो सम्झौताका लागि प्रतिस्पर्धा गरिन्छ जस्तो लाग्दैन । हामीले आयोजना अधिकार दिएका होइनौं । सर्वोच्चले पनि तत्कालै नरोकेको हुनाले यसबारे धेरै कोट्याउनु जरुरी हुन्छ जस्तो लाग्दैन,’ चन्दले भने ।
उनले क्यानको साधारणसभाले सर्वसम्मत पारित गरेर भएको सम्झौतामा दोस्रो पक्षले बेइमानी गर्दा समस्या भएको दावी गरे । साधारणसभाको निर्णय कार्यान्वयन गर्ने बोर्डको दायित्व हुने उनको तर्क छ । उनी भन्छन्, ‘हामी मानिसको अनुहार हेरेर नियत थाहा पाउन सक्दैनौं । कम्पनीको कागजात र आईसीसीसँगको बरोबर समन्वयपछि यो निर्णय भएको हो । यहाँबाट भागेर गएपछि स्वभाविक रुपमा यो त फटाहा रहेछ, यसको नियत अर्कै रहेछ भन्ने थाहा भयो ।’
नेपालको लिगमा फिक्सिङ भएको हल्लाहरुको भने उनले खण्डन गरे । अहिलेसम्म आईसीसीको एन्टी करप्सन युनिटमा एउटा पनि लिखित उजुरी नपरेको उनको भनाइ छ । ‘मौखिक उजुरी आएका छन्, त्यसलाई तत्कालै सल्टाइएको छ,’ उनले भने ।
राखेपले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेल्न दिएकोबारे छानबिन समिति गठन गरेको छ । समितिले छानबिन प्रतिवेदन दिन पाँच दिनको समय पाएको छ । क्यान अध्यक्षले भने सम्बन्धित निकायले स्वीकृति दिन ढिला गरिदिएका कारण समस्या देखिएको बताए । उनले यसलाई व्यवहारिक रुपमा लिइदिन अनुरोधसमेत गरेका छन् ।
क्यान अध्यक्ष चन्दसँगको अन्तर्वार्ता पढ्नुहोस्
सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया भारत जानुअधि तपाईंहरुसँग कुरा भएको थियो ?
हामीसँग त यहाँ पैसा निकाल्न मिलेन, पैसा हाल्न जान्छु भनेका थिए । धेरै हल्ला भयो भने क्यानका मान्छेहरु सशंकित हुनसक्छन् भनेर सुटुक्क गएका हुन् ।
भारतमा बसेर क्यानमाथि आरोप लगाइरहेका छन् । तपाईंहरुको सम्झौता के हुन्छ ?
सम्झौता त एउटा पक्ष भागिसकेपछि रद्ध भइहाल्यो, यो सम्झौतामै भएको व्यवस्था हो । अब नेपाल टी–२० लिग क्यानले नै सम्पन्न गर्ने हो । फ्रेन्चाइजका सबै टिमहरु हाम्रो सम्पर्कमा छन् । उनीहरु खेलाडीलाई पारिश्रमिक दिन तयार छन् । कतिपयले दिन थालिसकेका छन् । भाग्ने कुरा आउँदैन ।
उसले (सेभेन थ्री स्पोर्टसले) तिर्नुपर्ने पैसा धेरै बाँकी छैन । सम्झौता अनुसार क्यानले यो वर्ष पाउनुपर्ने ३ करोड ९० लाख रुपैयाँ हो । त्यसमध्ये १ करोड २० लाख क्याले पाइसकेको छ । बाँकी पैसा उठाउन पनि समस्या हुन्छ जस्तो लाग्दैन । भागेपछि हामी उसका विरुद्ध मुद्दामा जान्छौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) मा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्नेछौं ।
सेभेन थ्री स्पोर्टसले प्रतियोगिता रोक्ने प्रस्ताव गरेको थियो ?
उनले (जतिन अहुवालिया) भाग्नका लागि प्रतियोगितालाई बाहिरबाट आक्रमण हुन थालेको छ, १५ दिनका लागि पोष्टपोन्ड गरेर दुबईमा लगेर खेलाऔं भनेका थिए । यहाँ स्पोर्टस काउन्सिल र मिडियाले पनि साथ दिएनन् भनिरहेका थिए ।
तर, मैले हुँदैन भनेँ । सरकारले अनुमति दियो भने दोस्रो संस्करण दुबई लगौंला । अहिले प्रतियोगिताको बीचमै लैजान सकिँदैन । कुरा राख्नेवित्तिकै हामीले झपारेका हौं । उनको नियत त्यस्तो रहेछ । यो सबै बहानाबाजी हो । त्यो क्यानलाई दोष लगाउने कुरामात्र हो । यदि फिक्सिङको प्रमाण उनले पाएको हो भने एन्टी करप्सन युनिटलाई भन्नुपर्यो नि ।
अहिले जतिन सम्पर्कमा छैनन् ?
हिजो साँझसम्म सम्पर्कमै थिए । उनले सुरक्षा जोखिम भनेर एम्बेसीमा कम्प्लेन गरेका रहेछन् । हामीलाई एम्बेसीबाट फोन आएको थियो । हामीले के भन्यौं भने नेपालमै बसेर मलाई जोखिम भयो भनेको भए क्यानले पनि प्रहरी वा अरु निकायलाई जानकारी गराउने थियौं । भारत पुगेर मलाई सुरक्षा जोखिम भयो भन्नु बहानाबाजी मात्रै हो । कुनै जोखिम थिएन, उनको नियतमै खोट थियो ।
नियतमा खोट भन्नाले ?
क्यानलाई तिर्नुपर्ने पैसा नतिर्ने योजना हुन सक्छ । उनीहरुले यहाँ के अनुमान गरेका थिए भने, दैनिक खेल हेर्न ५ हजार दर्शक आउँछन् । दर्शकबाट प्रतिव्यक्ति ३ सयका दरले उठाउँदा दिनको १५ लाख हुन्छ, फाइनलमा १० हजार आउँछन् ।
दर्शकबाट उठेको रकमबाट क्यानलाई यो वर्ष तिर्नुपर्ने ३ करोड ९० लाख रुपैयाँ उठ्छ । तर गेटमनि एक पैसा पनि उठेन । नेपालबाट प्रायोजक आउने पनि आशा थियो, १/२ करोड रुपैयाँ त्यहाँबाट पनि उठ्ने सोचेका थिए होलान् । ब्रोडकास्टिङ र मुख्य प्रायोजकबाट पाएको रकम खुद नाफा गर्ने सोच भएको देखिन्छ ।
यो प्रतियोगितामा सेभेन थ्री स्पोर्टसको मुख्य भूमिका के हो ? सम्झौतामा के छ ?
नेपाल टी–२० लिगको मुख्य आयोजक क्यान हो । मैदानभित्रको म्याच अफिसियल, ग्राउण्ड स्टाफ, एन्टी करप्सन र टेक्निकल कमिटीका साथै प्रतियोगिताको अधिकार हाम्रो हो ।
मैदान भन्दा बाहिरको काम सेभेन थ्री स्पोर्टसको हो । फ्रेन्चाइज खोज्ने, फ्रेन्चाइजसँग सम्झौता गर्ने, क्यानलाई शुल्क तिर्ने, फ्रेन्चाइजलाई खेलाडीको पारिश्रमिक दिन लगाउनेलगायतका कामहरु उसको हो ।
सेभेन थ्री सम्पर्कमा आएन भने तपाईंहरुले के गर्नुहुन्छ ?
सेभेन थ्रीसँग हाम्रो ८ वर्षको सम्झौता हो । एउटा पक्ष इमानदार नभएपछि सम्झौता रद्ध गर्न हामीलाई कुनै अप्ठेरो छैन । तर, प्रतियोगिता भब्य रुपमा आयोजना भइरहन्छ । त्यसमा कुनै समस्या हुँदैन ।
सम्झौतामा खेलाडीले पाउनुपर्ने पारिश्रमिकको विषय कसरी उल्लेख गरिएको छ ?
खेलाडीलाई सम्झौताअनुसारको रकम प्रतियोगिताका दौरान दिनुपर्ने भन्ने सम्झौतामा छ । त्यसबाहेक व्यवहारिकतालाई हेरेर प्रतियोगिताअघि १५ प्रतिशत पारिश्रमिक दिने भन्ने थियो । फ्रेन्चाइज टिम र सबै खेलाडीको बैंक खाता खुल्न ढिला भएका कारण पनि पारिश्रमिक भुक्तानीमा समस्या आएको हो । अन्तिम समयमा दर्ता भएका फ्रेन्चाइज टिमले बैंक खाता खोल्न भ्याएका थिएनन् ।
स्पट फिक्सिङजस्ता कुराहरु आएका छन्, खेलाडीहरुको प्रदर्शनमाथि प्रश्न उठेको छ, गृहमन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन पनि दिएको छ । यसबारे एसीयू ( एन्टिकरप्सन युनिट) मा अहिलेसम्म कति उजुरी परेको छ ?
अहिलेसम्म लिखित रुपमा कुनै उजुरी परेको जानकारी मलाई छैन । मौखिक रुपमा आएका उजुरीबारे सम्बन्धितलाई बोलाएर चेतावनी वा सचेत गराइएको छ । तत्कालै त्यसलाई किनारा लगाइएको छ । कतिपय फिक्सिङको प्रस्तावका कुराहरु आएका छन् । फिक्सिङको प्रस्ताव आउँदा पनि जानकारी गराउनुपर्छ । गराएन भने ऊ दोषी मानिन्छ । मौखिक उजुरीहरुलाई पनि एसीयूले दिनदिनै आईसीसीमा प्रतिवेदन पठाइरहेको छ ।
तपाईंहरुले सेभेन थ्रीलाई विना प्रतिस्पर्धा आयोजनाको जिम्मा दिनुभयो । क्यान कार्यसमिति भित्रैबाट विवाद पनि भए । अहिले आएर हेर्दा सेभेन थ्रीलाई दिएर गलत गरिएछ जस्तो लाग्दैन ?
संसारभर नै यस्तो सम्झौताका लागि प्रतिस्पर्धा हुन्छ जस्तो लाग्दैन । यसअघि भएका प्रतियोगितामा पनि प्रतिस्पर्धामार्फत छनोट भएको थिएन । अहिले सर्वोच्चमै मुद्दा पर्दा पनि अदलालतले तत्कालै नरोकेको हुनाले यसबारे धेरै कुरा कोट्याउन जरुरी छ जस्तो लाग्दैन ।
हामीले मानिसको अनुहार हेरेर उसको नियत थाहा पाउन सक्दैनौंं । पात्रको बारेमा धेरै जानकारी हुँदैन । कम्पनीको कागजपत्र हेरेर आईसीसीसँगको बरोबर समन्वय तथा क्यानको साधारणसभाबाट सर्वसम्मत पास भएर आएको कुरा थियो । साधारणसभाको निर्णयलाई कार्यान्वयन गर्नु बोर्डको कर्तव्य हुन्छ ।
अध्यक्षको हैसियतमा चाहिँ तपाईलाई यो कम्पनी छनोटमा कमजोरी भयोजस्तो लागेको छैन ?
अहिलेसम्म त लागेको थिएन, तर भागेर गएपछि त स्वभाविक रुपमा यो त फटाहा रहेछ, यसको भित्री नियत अर्कै रहेछ भन्ने बुझियो । नियत जतिसुकै गलत रहेछ भने पनि एउटा कुरा के ढुक्क हुनुस् भने उसले अब तिर्नुपर्ने क्यानको पैसा हो । अरु केही छैन ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4