+
+

यस्तो छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १३:४०

२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते मंगलबार विश्वासको मत लिंदैछन् ।

नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभएको एकीकृत समाजवादीले २६ गतेमात्रै निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने निश्चित प्रकि्रया छ । विश्वासको मतका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ ।

सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पुगिसकेको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि कार्य थालनी गरेको छ ।

विश्वासको मत लिनेबारे सूचना पढेर सुनाउने

प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको बैठक -२५ गते बस्दै)मा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट) बाट पढेर सुनाइने छ ।

विश्वासको मत लिने दिन प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् ।

सभाुखले दिएको समयमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठक (२६ गते)मा आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरुसँग प्रस्ताव राख्नेछन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रस्ताव पेस गर्नेछन् ।

प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीले पुस २६ गते मंगलबार विश्वासको मत लिंदैछन् । प्रतिनिधि सभाको बैठक सोही दिन दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरुको छलफल

प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन् ।

सभामुखले दिएको समयसीमाभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

संसदमा यदि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखले बोल्न चाहेको खण्डमा भने समयको सीमा रहँदैन । उनीहरुले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन् ।

सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ । तर, संसदमा रहेका ७ भन्दा बढी दलहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिंदैन ।

छलफल सकिसकेपछि प्रतिनिधि सभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन् ।

प्रधानमन्त्रीको जवाफ

प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् ।

प्रधानमन्त्रीले सांसदहरुले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।

प्रस्ताव निर्णयार्थ प्रस्तुत

संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ ।

सदस्यहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ । तर प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि भने ध्वनीमतको व्यवस्था हुँदैन ।

मत दिइसकेपछि सच्याउने अवसर

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनेछन् ।

सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरुले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन् । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउँछन् ।

विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष संसद सचिवालयले लेखेर पठाउँछ । प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ ।

३० दिनभित्र विश्वासको मत लिने व्यवस्था

संविधानको धारा ७६ को उपधारा (२) वा -३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिध्ाित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन् । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री दाहालले यही पुस २६ गते मंगलवार विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसमक्ष प्रस्ताव राख्न सक्नेछ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।

एकीकृत समाजवादीका सांसदलाई हृवीप लाग्छ ?

राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय हृवीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ ।

संविधानको कुन उपधारामा हृवीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन ।

यतिबेला नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो । जसकारण आम मानिसमा माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई हृवीप लाग्छ कि लाग्दैन भन्ने जिज्ञासा छ ।

संसद सचिवालयले भने (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको हृवीप लाग्ने बताउँछ । तर राष्ट्रिय दल नबनेका कारण पार्टीको हृवीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिँदैन ।

न्युज एजेन्सी नेपालको सहयोगमा तयार गरिएको सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?